-कल्पवृक्ष/काठमाडौं
बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करीब ५ सय जना सशस्त्र प्रहरी परिचालित भएको छ ।
यही मंसिर १ गतेदेखि सुरु भएको मेला ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवं भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि १२ नम्बर गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमाण्डमा टोली परिचालन भएको हो । मेला सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमाण्डमा मेला अवधिभरको लागि मेलास्थलमा कमाण्ड पोष्ट स्थापना गरिएको छ । मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ । मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना दुर्घटना भएमा तत्कालै उद्धारको लागि विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ ।
उक्त मेलामा ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति हुने भएकोले मेला सुरक्षा योजनाअनुसार सशस्त्रले उच्च सर्तकता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने छ ।