पुस ४ बिहीबार, ३:१४ पूर्वाह्न

“तपाईंलाई थाहा छ, सरकारले गाँजा किन प्रतिबन्ध गरेको तपाईंले कहिले कतै सुन्नुभएको छ फलानो गाँजा खाएर मरेछ भनेर पक्कैपनि सुन्नुभएको छैन । किनकि, गाँजा खाएर मान्छे मरेकै छैन । हो, कसैलाई अरु रोग पनि छ र अत्यधिक गाँजाको सेवन गरेको छ भने मर्न पनि सक्ला । तर, गाँजा नै अधिक खाएर लठ्ठ होला, एकसुरिया होला, तथापि मर्न चैँ मर्दैन ! मान्छे मर्ने भनेको त रक्सी चुरोट अत्यधिक खाएर पो हो !”

डाक्टरकोमा तपाईंं जँचाउन जाँदा, तपाईंलाई डाक्टरले कहिल्यै ‘गाँजा खानुहुन्छ ?’ भनेर सोधेको छ ? अहँ, पक्कै सोधेको छैन होला । डाक्टरले तपाईंलाई रक्सी, चुरोट पिउनुहुन्छ भनेर पो सोध्छ । किनकि यी चिजले तपाईंको मुटु, कलेजो, फोक्सो, मृगौला, रगत, मस्तिष्कलगायत विभिन्न अङ्गमा असर पार्दछ । अनि सरकारले चैँ किन यो ‘हरियो सुन’लाई प्रतिबन्ध गरेर रक्सी, चुरोट चैँ खुल्ला गरेको होला? खाद्यको दोकानमा पनि रक्सी चैँ बेच्न पाउने ! दुर्गम क्षेत्रतिर बिरामी हुँदा सिटामोल पाईंदैन, तर रक्सी भने फालाफाल जताततै पाइने । विदेशबाट रक्सी, चुरोट आयात गर्न पनि छुट । देशमा डिस्टिलरी र कारखाना सर्वत्र बढेको बढ्यै छ । रक्सी चुरोट खाएर मान्छेहरूको कलेजो, फोक्सो लगायत शरीरका अङ्गहरूले काम गर्न छोडेको छ, मृत्युदर प्रत्येक वर्ष बढिरहेको छ । प्रतिबन्धित नै गर्ने हो भने रक्सी चुरोट गर न सरकार, किन गाँजा ?

तर अहँ ! सर्वत्र जाहेर छ, सरकार जनता धनी भएको हेर्न चाहन्न । सरकारलाई पश्चिमेलीको आदेश पनि छ, गाँजा फुकुवा नगर्नु भनेर । किनकि, नेपालको गाँजा विश्वमै एक नम्बर मानिएको थाइल्याण्डकै सरह छ । नेपालमा गाँजा सन् १९७२ सम्म खुल्ला थियो । काठमाडौंको झोसे, ज्याठाटोल, वसन्तपुरको भित्रीभाग लगायत ठाउँमा गाँजाबाट बनेका परिकार पनि पाइन्थ्यो । कफी, ब्रेड र मिठाइहरूमा पनि मात्रा मिलाएर गाँजा मिसाएर बेचिन्थ्यो गाँजाका क्याफेहरूमा ।

गाँजा नै मात्रको सेवन गर्नेहरू पनि प्रशस्त भेटिन्थे । संसारभरीबाट पर्यटकहरू गाँजा खान र, यसको स्वादमा मस्त हुन नेपाल आउँथे । त्यो बेला काठमाडौंलगायत देशका विभिन्न भागमा पर्यटकको चाप थामीनसक्नु नै थियो । पर्यटकहरूको बसाई अवधि पनि गाँजाले गर्दा लम्बिन्थ्यो । नेपालमा गाँजा र गाँजाबाट बनेका परिकारहरू पाइन्छ भन्ने सन्देश विश्वभरि फैलिएको थियो । झोँसे एरियामा त पर्यटकको थामी नसक्नुको घुइँचो नै हुन्थ्यो । होटेल व्यवशायी र अन्य व्यवशायमा लाग्नेहरूको आर्थिक लाभ मनग्य हुन्थ्यो । हिन्दी सिनेमा जगतका सुपरस्टार देवानन्दले हिन्दी फिल्म ‘हरेराम हरेकृष्ण’को छायाङ्कन काठमाडौंमै गराएका थिए । मस्त गाँजा खाएको दृश्य उक्त फिल्मभरि देख्न सकिन्छ ।

शहरी क्षेत्रमात्र नभइ देशका करिव २५ जिल्लाहरूले गाँजाबाट राम्रो आम्दानी गर्दथे । रुकुम, रोल्पा, सल्यान, जाजरकोट, डोटी, वागलुड., सिन्धुली, धादिङ, मकवानपुर र तराईका सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा, तौलिहवा लगायतका जिल्लाहरू त गाँजाको लागि प्रख्यात नै थियो । सरकारले नै गाँजा खेती गर्न दिन्थ्यो । पहाडी जिल्ला जहाँ कोदो, फापर मात्र हुन्थ्यो, त्यस्ता ठाउँमा पनि गाँजा आफै उम्रिन्थ्यो । खेती पनि गर्न नपर्ने, जताततै गाँजा नै गाँजा हुन्थ्यो ।

बिना परिश्रम आम्दानीको स्रोत थियो यो ‘सुनको बोट’ गाँजा ! त्यस क्षेत्रका महिलाहरू गाँजा नै बेचेर गरगहना लगाउने, सालभरिलाई अन्नपात किन्ने गर्दथे । बालबच्चाहरू स्कुल पठाउँथे, अनि वर्षभरि खानलाई प्रशस्तै पुग्दथ्यो । युवाहरू अहिलेको जस्तो कमाउन विदेश होमिनु पर्दैनथ्यो । अहिले त नेपालमा गाँजा प्रतिबन्ध गर्ने अनि विदेशबाट आयात गर्ने, यो कस्तो प्रणाली होला ?

जब सरकारले २०३३ सालमा गाँजालाई पूर्णरूपमा प्रतिबन्ध गरÞयो, त्यसपछि बिस्तारै यी गाउँहरू वर्षदिन खान पनि नपुग्ने हुँदै भोकमरीको शिकार भएर गए । नेपाली र नेपाल धनी भएको हेर्न नचाहने पश्चिमेलीहरू र दक्षिणी नै थिए । तब त यसको प्रतिबन्ध गर्न मरिहत्ते गरि सबै लागिपरे । सन् १९६० देखि काठमाडौंमा पर्यटकको ओइरो लाग्न थाल्यो । अमेरिकालगायत युरोपका देशहरूबाट पर्यटक आउन थाले । उनीहरू गाँजामा मस्त हुन्थे, गाँजाबाट बनेका विभिन्न परिकारहरू पनि खान्थे । ती पर्यटकलाई त्यसबेला हामी ‘हिप्पी’ भन्थ्यौँ । यसरी ती हिप्पीहरूको बसाइ लम्बिँदै गयो । गाउँ, शहरको आर्थिक विकाश हुन थाल्यो । नेपाल धनी भएको न अमेरिका देख्न चाहन्थ्यो न त पश्चिमेलीहरू नै । भारत पनि नेपाल आत्मनिर्भर भएको देख्न चाहन्नथ्यो । उनीहरू जसरी भएपनि गाँजालाई नेपालमा प्रतिबन्ध गराउनुपर्छ भनेर लागिपरे । उनीहरूको सोचाइ हुन्थ्यो, यदि यही क्रमले नेपाल अगाडि बढ्यो भने त नेपाल पनि धनी राष्ट्र बन्दछ ! जो उनीहरू चाहँदैनथे । उनीहरू त बस्, नेपाललाई केही करोड बर्षेनी सहयोग गरेर उनीहरूप्रति नै निर्भर (परनिर्भर) भएको हेर्न चाहन्थे ।

पश्चिमेलीले नेपालमा गाँजा प्रतिबन्ध लगाउनु भन्दा राजा महेन्द्र टसमस भएनन् । राजा महेन्द्रको कूटनीतिक दृष्टिकोण विकसित राष्ट्रका नेताले पनि बुझ्न सक्दैन थिए । उनी प्रायः कालो चस्मा लगाएर हिँड्ने र भेटघाटमा पनि चस्मा कमैमात्र खोल्दथे । उनी निडर थिए, सबै देशले उच्च सम्मान पनि गर्दथे । अहिले त नेताहरू आदेशको पर्खाइमा हुन्छन् । त्यस्तै, अहिले काठमाडौंका मेयर बालेन शाह पनि राजा महेन्द्रकै पारामा कालो चस्मा लगाएर अगाडि बढिरहेका छन् ।

राजा महेन्द्रले विभिन्न उद्योगहरू (छालाजुत्ता, सिमेन्ट, धागो, कपडा, जुटमिल, चिनी, कागज उद्योग, रवर, कृषि औजार, घरेलु आदि खोल्दै गए । पाँचै विकाश क्षेत्रका शहरी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको अवधारणा ल्याए । धान चामल निर्यात कम्पनी खोलेर देशबाट चामल, गहुँ, मकै, दाल लगायत खाद्य सामाग्री निर्यात गर्न थाले । नेपाल धान बेच्ने पाँचौं ठूलो देश थियो । त्यो बेला थोरैमात्र कृषिजन्य सामाग्री आयात हुन्थ्यो । आज सबै यी उद्योगहरू धरासयी बने, अनि धेरै त बन्द भएका छन् । नेपाल पूर्णरूपमा परनिर्भर हुन पुग्यो । यो सबै सोच नभएका हाम्रा नेताहरूको कारणले नै हो ।

पश्चिमेलीले भन्दा राजा महेन्द्र टसमस भएनन् । त्यसपछि सबै पश्चिमेलीहरू मिलेर तत्कालिन अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनलाई गुहारे । रिचर्ड निक्सनले राजा महेन्द्रलाई फोन गरेर भने, तिम्रो देशमा गाँजा प्रतिबन्ध लगाउनु परÞ्यो । हाम्रा नागरिकहरू देश फर्केनन्, अनि उनीहरू यहाँ आएपछि फेरि यहाँ पनि उनीहरू त्यही कुरा माग गर्न सक्छन् । त्यसैले तिम्रो देशमा खुल्लमखुल्ला यसरी गाँजा खान दिनुभएन, प्रतिबन्ध लगाउ ! राजा महेन्द्र मानेका थिएनन् । त्यसपछि निक्सनले प्रतिबन्ध नगरे हामी सबै अमेरिकन सहयोग बन्द गर्छौं भने । त्यसपछि राजा महेन्द्रले सन् १९७१ मा हुन्छ म पहल गर्छु भने । त्यसपछि राजा महेन्द्रले गाँजाबारे बिस्तृत प्रतिवेदन दिन मन्त्रिमण्डललाई भने ।

तर सन् १९७२ को जनवरी महिनामा (माघ १७, २०२८) मा चितवनको भरतपुरस्थित दियालो बंगलामा राजा महेन्द्रको रहस्यमयी मृत्यु भयो । त्यसबेला देशभर प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षा चलिरहेको थियो । त्यसपछि यही कुरा निक्सनले १९७३ मा राजा वीरेन्द्रलाई आर्थिक लोभ देखाउँदै भने । राजा वीरेन्द्रले तुरुन्त पहल गर्ने कुरा गरे ।

सबैलाई थाहा भएको कुरा हो– गाँजा वास्तवमा यस धर्तीमा पाइने बहुगुणी वनस्पतिहरूमध्ये एक हो । यो रक्सी, चुरोट र सुर्तीजन्य बस्तुभन्दा कम हानीकारक र सबैले चुरोट, सुर्ती खाएजस्तै सजिलै अम्मलकारी पनि हुँदैनन् । ठीक्क मात्रा मिलाएर औषधिको रुपमा खाने हो भने यो त देवताहरूले समुन्द्र मन्थन गरेर निकालेको ‘अमृत’ सरह हो । यसैमा लठ्ठ भएर खाँदामात्र मान्छे एकोहोरो भएर जाने हो ।

सिंहदरबार बैद्यखानाले पहिला बनाउने गरेको ‘विजया’ लगायत ४८ वटा औषधि गाँजाबाट नै बनाइन्थ्यो । पछि प्रतिबन्धित भएपछि सन् १९८५ बाट चैँ पूर्णरूपमा सबै औषधिहरू उत्पादन रोकियो । गाँजा खुल्ला गरी भलै छ, यसको कानूनी प्रक्रिया जस्तै गर्नु पर्ने हो भने नि, आजको दिनका युवाहरूलाई त्यही मूलधारमा ल्याइ पुर्याइ समाज र राष्ट्रको सेवा गर्न पाउँछ । यद्यपि, समग्रसँग जोडेर यसलाई सार्वजनिक चर्चा गर्न बाध्य छ । नेपाल सरकार अविलम्ब गाँजा खेतीको प्रतिबन्ध हटाउनु आवश्यक छ । आर्थिक दृष्टिले पनि यो देशका लागि महत्त्वपूर्ण हुनेछ । “गाँजा खेती खुला गरौँ, देशलाई समृद्धि बनाऔँ” भन्ने नारासँगै हामी अघि बढौँ ।