Advertisement GIF
कल्पवृक्ष
पुस २ मंगलबार, १:०७ अपराह्न
दिपेन्द्र थापा : वरिष्ठ गायकदेखि कुशल प्रशासक

-कल्पवृक्ष/काठमाडौं

तपाईँ कल्पना गर्न सक्नु हुन्छ, एक जना व्यक्तिले हाम्रोजस्तो प्रतीभा नचिन्ने संस्कार भएको देशमा चार–चारवटा कीर्तिमान बनाएको छ, भनेर ? पत्याउन कठिन होला, किनकि ती प्रतीभा कसैको नजरमा छैनन् र चिनिन पनि चाहन्नन् । हो, आज हामी ती अग्रज र क्षमताका प्रतिमूर्ति व्यक्तिको विषयमा केही शव्द खर्चने कोशिमा छौं ।

उनीहुन् गायक, प्रशासकदेखि अध्यापकसम्म दीपेन्द्रवीक्रम थापा । एसएलसीमा बोर्डमा नाम निकाल्ने, सरकारले दिएको सेवा नलिने, बाहिरी क्षेत्रबाट सरकारको निजामति सेवामा पहिलो पटक प्रवेश गर्ने, नेपाल सरकारको सचिब भएर ५ वर्ष सेवा गर्दा पनि पेन्सन नपाउनेदेखि लगातार तीनपटक उत्कृष्ठ गायकको उपाधि पाएका जस्ता रेकर्ड बनाएका उनै चर्चित गीत गायक थापाको विषयमा अब केही लेख्ने कोशिस गर्दैछु ।

२०१६ सालमा राजधानीको कालिमाटीमा जन्मिएका दीपेन्द,्र वीर भिमसेन थापाका सन्तति हुन् । वेदविक्रम र विष्णुकुमारीका तीनमध्ये कान्छा उनी २०३२ मा एसएलसीमा बोर्ड १० भए । अमृत साइन्स, त्रिचन्द्र, त्रिभूवन विश्वविद्यालयहुँदै स्नाकोत्तर गरे । जनप्रशासन क्याम्पसबाट एमपीए गरे । बेलायतबाट उच्च स्नाकोत्तर गर्न भ्याए । अहिलेसम्म निरन्तर अध्यापनमा सक्रिय उनी दैनिक बिहान ४ घण्टा र साँझ २ देखि ३ घण्टा रिवार्ज गर्छन् । अर्थात उनमा गायनप्रतिको मोह त्यो बेलादेखि नै थियो ।

२०३४ मा १८ वर्ष अर्थात बीएससी पढ्दा नै उनले रेडियो नेपालबाट श्वर परीक्षा पास गरे । त्यो बेला श्वर परीक्षा पास गर्नु भनेको ‘हाइहाइ’ नै हुने गरेको थियो । २०३५ मा आफ्नो नाम लामो भएजस्तो लागेर बीचको विक्रम हटाए र दीपेन्द्र थापाका नामबाट ‘धेरैधेरै प्रयास गरें, धेरैधेरै चेष्टा गरें’ राजेन्द्र रिजालको रचना र शंभुजीत बाँस्कोटाको संगीतमा गीत गाए । त्यो वेला गीतले चर्चा नै पायो ।

‘तिम्रा मीठा कुराहरु बैशाखी दिनहरु झैं लाग्यो’ र राजकुमार थापाको श्वद र प्रकाश गुरुङको संगीतमा यो गीतले चर्चा राम्रै बटुल्यो । अहिलेको देशको अवस्था सुहाउँदो ‘देश कसैको भएपनि सजायँ किन मलाई’ रजनी रिमालको गीतमा शंभुजीतले नै संगीत यो गीतले माहोल नै बदलिदियो, राष्ट्रियताको । शास्त्रिय संगीत ३ वर्ष सिकेर गायनमा आएका उनले ‘हरे लम्ब आए कहाँबाट आज, म सम्झन्न प्रभू केही राख लाज’ अति चर्चित भजनसम्म गाउन भ्याए । यो भजन भारती खरेलको श्वदमा शंभुजीतले नै संगत भरेका हुन् ।

२०३९ सालदेखि २०४४ सालसम्म उनी ३ वर्ष रेडियो नेपालले गर्ने प्रतियोगितामा निरन्तर पुरस्कृत भइरहे । २०३९ मा ‘नेपालको अस्तित्वलाई जोगाउन हामी बिभाजित छैनौंं, बोलको गीत प्रतियोगितामा दोश्रो भयो । त्यसपछि यहाँ पीरैपीरको उपहार लिएर बोलको गीत दोश्रो भयो र तेश्रो भयो ‘आजभोलि किन तिम्रो याद आउन थाल्यो’ ।

२०४५ ताका उनी ‘गीत गाएर नहुने रहेछ’ भन्ने निष्कर्शमा पुगे । र, पढाइमा अब्बल नै भएकोले सरकारी सेवातर्पm आकर्षित भए । पहिलो पटक नै उनी नेपाल प्रशासनिक प्रक्षिण प्रतिष्ठानको तालिम तथा अनुसन्धान अधिकृतमा उतीर्ण भए । उनी त्यहाँ सक्रिय रहेको समयमा संगीतमा भने केही बिराम लाग्यो । गीत भने गाइरहे तर उनी त्यो बेला सार्वजनिक हुन पनि चाहेनन् । बेलायतमा पढ्ने अवसर मिल्यो, उता हानिए । एक वर्ष बेलायत बसेर उच्च स्नाकोत्तर गरेर फर्किए । फर्किएपछि उनको बढुवा भयो । उनी उप– निर्देशकमा पु्गे । बढुवा भएपछि बाहिरी क्षेत्रबाट सह–सचिवमा खुला प्रतिस्पर्धा गरे । २०५४ मा निजामति सेवाभन्दा बाहिरको क्षेत्रबाट सह–सचिवमा नाम निकाल्ने पहिलो व्यक्ति बने थापा ।

२०६२ मा उनलाई नेपाल सरकारले सचिवमा बढुवा ग¥यो । उनी सचिव भएर श्रम तथा यातायात, मन्त्री परिषद् तथा प्रधानमन्त्रीको कार्यालय, सामान्य प्रशासन र शिक्षा सचिव रहेर ५ वर्ष विताए । निजामति सेवाको उपल्लो पद सचिव भएर १३ वर्ष २ महिनामात्र काम गरेर अवकास पाउने उनी अहिलेसम्मकै एक्ला सचिव हुन् । जसकै कारण उनले पेन्सन पाएनन् । पाउने भनेको उपदान हो, तर त्यो पनि लिएनन् । त्यो उपदानको रकम नेपाल सरकारकै खातामा गयो । यो अर्काे रेकर्ड नेपाल सरकारसित छैन ।

५० वर्षमै निजामति सेवाबाट अवकास पाउने उनीभन्दा अर्काे मानिस पाउन सकिन्न । अर्थात ५० वर्षको उमेर क्षमता भएको व्यक्तिलाई सरकारले नचिनेर अवकास दियो । उनीजस्ता बहुप्रतीभाशाली व्यक्तिलाई सरकारले नचिन्नु नै अहिले देश अधोगतिमा गएको बुझ्नेहरु धेरैछन् । तर, थापा भने आफ्नो दैनिकीमा मस्त छन् । ‘सरकारले चाहेको भए यस्ता व्यक्तिलाई प्रशासनदेखि बेथिति सुधारका काममा अझै परिचालन गर्नु प¥र्यो ।’– पुराना गायक प्रदीपराज पाण्डे सुनाउँछन् ।

दैनिक अध्यापनमा सक्रिय थापा पुनः गायनमै सक्रिय छन् । रेर्किर्डको क्रममा ८ वटा आधुनिक, भजन ६ वटा र भजन नै नेवारी भाषामा ७ वटा रेकर्ड भइरहेको थापा बताउँछन् ।

नेपालको इतिहास रच्ने भीमसेन थापाका कान्छा भाइ रणवीरसिंह थापा हाल स्वामी अभयानन्द नामले चिनिन्छन् । उनकै रचनाका ७ वटा नेवारी भजन थापाले रेकर्ड गरिरहेका छन् । दीपेन्द्रवीक्रम थापा नेपालका पहिलो प्रधानमन्त्री माथवरसिंह थापाका ७ पुस्ताका सन्तति हुन् ।