पुस ४ बिहीबार, ३:२० पूर्वाह्न

“नेपालका प्रमुख खाद्य बालीहरू धान, मकै, गहुँ आदि मानिन्छन्। खाद्य तथा पोषण सुरक्षामा यसका अलावा अन्य बालीहरू—कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे, मार्सी आदिको पनि विशेष भूमिका र महत्व रहेको पाइन्छ। सामान्यतया कृषकहरूले सदियौँदेखि लगाउँदै र संरक्षण गरी आएका बालीहरूलाई रैथाने वा स्थानीय बाली भनिन्छ। यी बालीहरू स्थानीय हावापानीअनुकूल, जस्तै सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि, रोग र किरा सहन सक्ने खालका हुन्छन्। रैथाने बालीमा जलवायु परिवर्तनको असर अन्य उन्नत बाली तथा जातको तुलनामा स्थिर रहेको अध्ययनबाट पाइएको छ। नेपालमा कूल खेतीयोग्य जमिनमध्ये करिब ३ लाख ५० हजार हेक्टर भूमिमा रैथाने जातका बालीहरू उत्पादन हुने गरेको तथ्याङ्कले देखाउँछ।”

कृषि विकास र व्यवसायीकरणको प्राथमिकतामा रैथाने बालीहरू नपर्दा नेपालको आनुवंशिक स्रोत नै हराएर जाने तथा देशका विकट क्षेत्रमा खाद्य र पोषण सुरक्षा झन् जटिल बन्ने खतरा पैदा भएको छ। विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले २०औं शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिनेगरी करिब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख गरेको छ। नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको हुनसक्ने नेपाल कृषि अनुसन्धान परिषद्को आँकलन छ। तथापि, विभिन्न बालीका केही रैथाने जात अझै नेपाली माटोमा बाँकी रहेको पाइन्छ।

नेपालमा कृषि विकासको चौधौँ योजनादेखि रैथाने बालीहरूको प्रवर्द्धन गरी तत्स्थानमा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउने लक्ष्य लिएको छ। त्यस्तैगरी, स्वास्थ्य र पोषणसम्बन्धी सचेतनासँगै शहरी क्षेत्रमा रैथाने परिकारहरूको उपभोग गर्ने क्रम बढ्दो रहेको छ। विभिन्न स्थानीय तहबाट सो क्षेत्रको पहिचान झल्काउने किसिमको रैथाने बालीलाई ब्राण्डिङसहित बजारमा पुर्‍याउने, विभिन्न होटेल र रेष्टुराँहरूमा रैथाने बालीको परिकार थप गरी ग्राहकलाई आकर्षण गर्ने गरिएको छ। यसबाट आगामी दिनमा रैथाने बालीको महत्व अझ बढ्ने आँकलन गर्न सकिन्छ। पछिल्लो समयमा रैथाने बालीहरूको बजार माग बढ्दो रहेको छ।

रैथाने बालीहरू लामो समयसम्म भण्डारण गर्न सकिने, चाँडै नबिग्रने, र स्वादिला हुन्छन्। यस्ता बालीहरूमा रोग र किरा कम लाग्ने भएकाले प्राङ्गारिक पद्धतिअनुसार उत्पादन गर्न सकिन्छ। यी बालीहरू अन्य बालीहरूको तुलनामा धेरै पटक उत्पादन लिन सकिने र लामो समयसम्म उत्पादन दिइरहने खालका हुन्छन्। यसमा समुदायमा धार्मिक र साँस्कृतिक महत्व पनि रहेको हुन्छ। अन्य बालीहरूको तुलनामा रैथाने बालीहरू बहुउपयोगी हुन्छन्। यस्ता बालीहरूमा मानव शरीरमा चाहिने पौष्टिक तत्वको मात्रा बढी हुन्छ।

सन् १९६० को दशकमा शुरू भएको हरित क्रान्तिले अधिक उत्पादनकेन्द्रित एकल बालीलाई प्रश्रय दिँदा उन्नत जातको बीउ भित्रिएको पाइन्छ। नेपालमा भने वर्णशंकर (ज्थदचष्म) बीउ १९९० देखि मात्र देखिन थालेको हो। यी बीउहरू भित्रिएसँगै स्थानीय र रैथाने बीउहरू प्रतिस्थापन हुँदै गएका हुन्। रैथाने बालीको उत्पादकत्व कम भएकाले कृषकहरू खेती गर्न अनिच्छुक देखिन्छन्। उत्पादन लागत बढी, थोरै फल्ने, पाक्नलाई बढी समय लाग्ने, बजारीकरणको ज्ञान, क्षमता र पहुँचको कमी, बीउ पाउन मुस्किल हुने आदिले गर्दा यसको अस्तित्वमाथि नै संकट देखापरेको हो। पौष्टिक तत्वका सम्बन्धमा चेतनाको कमी र बदलिँदो आहार व्यवहारले गर्दा रैथानेका परिकारको उपभोगमा कम प्रयोग हुने गरेको हो।

मुख्य बालीहरू कम उत्पादन हुने वा नहुने देशका उच्च र मध्यपहाडी जिल्लामा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याइरहेका रैथाने बालीको संरक्षण र प्रवर्द्धन मात्र होइन, विकास र व्यवसायीकरण पनि गरिनुपर्छ। यसका लागि रैथाने बालीमा पाइने पौष्टिक तत्व र औषधिजन्य महत्वबारे उपभोक्तामा सचेतना अभिवृद्धि गरिनु आवश्यक छ।

रैथाने बालीको व्यवसायीकरण गर्दा वातावरण, खाद्य र पोषण सुरक्षा, मानव स्वास्थ्य र माटोमा पर्न सक्ने सकारात्मक प्रभावका बारेमा चेतना अभिवृद्धि गरिनुपर्छ। साथै, उक्त बालीको विकास र व्यवसायीकरणका लागि क्षेत्रसुहाउँदो बाली छनौट गर्ने र बाली श्रृङ्खलाका हरेक तहमा आवश्यक प्राविधिक, आर्थिक र पहुँच सुनिश्चितताको लागि सहयोगको व्यवस्था मिलाउनु पर्छ। जस्तै, उत्पादन सामग्री आपूर्ति र प्रविधि अवलम्बनका लागि सहयोग, उत्पादनको दिगो र नाफामूलक बजारीकरणमा सहयोग, दिगो बजारीकरणका लागि उपयोगसम्बन्धी सचेतना अभिवृद्धि आदि।

रैथाने बालीको महत्त्व खाद्य सुरक्षा, बाली जैविक विविधता, पोषणदेखि स्वस्थ जीवनयापनसम्म रहेको हुन्छ। रैथाने बालीमा पाइने पौष्टिक र औषधिजन्य महत्त्वबारे प्रचारप्रसार गरी उपभोक्तामा जागरूकता ल्याउनु आवश्यक छ। खाद्य र पोषण सुरक्षा, कृषि वातावरणको विविधीकरण गरी दुर्गम क्षेत्रका समुदायमा कुपोषण र गरिबी उन्मूलन गर्नका लागि रैथाने बालीहरूको उपयोगको राम्रो विकल्प हुन सक्छ।