-विवेक शर्मा / काठमाडौं
श्रमिकहरूको नेता श्रमिक बन्नु पर्छ, ठालुहरूले नेतृत्व लिए, त्यो श्रमजीवीहरूका लागि अभिषाप र दुर्भाग्यपूर्ण हुन्छ । हो, यो नियति नेपाली पत्रकारहरूको साझा संस्था भनिएको नेपाल पत्रकार महासंघभित्र लामो समयदेखि ऐजेरू बनेर जरा गाडिरहेको छ । पवित्र उदेश्य र लक्ष्य भएको संगठन भएपनि मालिक र दलपतिलाई चित्त बुझाउने र विवरण बुझाउने जासुसी फोरम जस्तै बनाइएको छ ।
उता श्रमजीवीहरूले महिनौ तलब नपाएको जबर्जस्ती जागिरबाट निकालिएको समस्या कहिल्यै देखेन र देख्न दिइएन यो संस्थालाई । पत्रकार महासंघ सीमित ठालूहरूको “जाँड क्लब“ जस्तो बन्यो । जसको परिणामतः दुर्भाग्यपूर्ण नियति आज वास्तविक श्रमजीवी पत्रकारहरूले भोगिरहेका छन । यस्ता छद्मभेषी पत्रकार श्रमजीवीको नेता बन्दा मालिकहरूलाई हाइसन्चोमात्रै भएन, उनीहरूको उदेश्य पनि पूरा भएको छ । यस्तो नियतिबाट पत्रकार महासघलाई मुक्त गराउन यीनै छद्मभेषिहरू रोज्ने या मजदुरको न्यायको लागि लड्ने र लड्दै आएको नेतृत्व खोज्ने ?
यो संगीन र पेचिलो प्रश्न हो । यो प्रश्नको बीचमा दलपति र माालिकहरू श्रमजीवी नेतृत्व होइन, छद्मभेषिलाई खोजीखोजी फेरि नेतृत्वमा पुराएर आफ्नो उदेश्य पूरा गर्न चाहान्छन् । त्यसको कसरत घनिभूतरूपले प्रारम्भ भैसकेको छ । खुमलटार, बालकोट र खुमलटार दिनरात धाउँदैछन्, यी मानिसहरू । तर, पृथ्वी गोलो छ, भने जस्तै यतिबेला चक्र घुमेर अब छद्मभेषि रोज्ने कि श्रमजीवी खोज्ने भन्ने संगीन समय र अवसर आएको छ, हजारौं श्रमजीवीहरूका अघि ।
त्यो को हो ? जो सतिसाल झंै उभियो, श्रमिकको पक्षमा दृढताका साथ लड्यो र लडिरहेको छ, अहिले पनि । उ यतिबेलाको वास्तविक नेतृत्व हुन योग्य छ । उ दल र मालिकको खल्ती बाहिरको पात्र हो । त्यो पात्र हो जन्मदेव जैशी (सुवेदी) । जो श्रमजीवीहरूका माझमा स्थापित छ । भुँइ तहमै हुर्किएको र अहिले पनि भुइँमा लडिबुडी गरेर श्रमजीवीको पक्षमा निरन्तर लडिरहेको छ र भोलि पनि लड्ने छ । अढाइ दशकअघि ऊजस्तो थियोे, आज पनि उ, उस्तै छ । न्याय र मुक्तिको पक्षमा सतिसाल बनेको ऊ पत्रकार महासंघको नेतृत्वका लागि काबिल र उपयुुक्त पात्र हो । यो पंक्तिकारको दृष्टिकोण मात्रै होइन, विगतमा तथ्यद्वारा प्रमाणित भैसकेको सवाल र जरुरीको विषय हो । श्रमजीवीको पक्षमा को को लडेको मालिकको दरबार धाए, त्यो जगजाहेर नै छ ।
यो वास्तविकताको आलोकमै उभिएर सोचौं र मनन् गरौ अब । वास्तविक श्रमजीवीको हक हितका लागि महासंघलाइ ठालू क्लबबाट मुक्त गर्ने हो, भने वास्तविक श्रमजीवीहरूले जन्मदेवको विकल्प खोज्नु आफूमाथि घात गर्नु हो । दलस्य फर्मान र मालिकको चिया चमेनाबाट मुक्त भएर आफूमाथि न्याय गर्ने हो भने आजैदेखि जन्मदेवजस्तो काबिल नेतृत्वलाई अघि सारौ । श्रमजीवीहरूको साझा र भरोसायोग्य पत्रकार महासंघ बनाउन जन्मदेव जैशीलाई एकमतले प्रस्ताव गरौ । पत्रकार महासंघलाई मिनी संसद होइन, श्रमजीवीको साझा संगठन बनाऔं । यो स्वर्णिम अवसर पनि हो, श्रमजीवीहरूले गहिरो गरि मनन् गरौ, दलीय आस्था र विचार हुन्छ लोकतनत्रमा । तर, महासंघलाई दलीय ठालु क्लबाट साझा संस्था बनाउन अब सबैले श्रमजीवीका नेता जन्मदेवलाई एकमतका अघिसार्न ढिला नगरौं ।