Advertisement GIF
कल्पवृक्ष
मंसिर ३०, आइतबार || २:५९ अपराह्न
पाँचथर र तेह्रथुमको संगम : माझी बने कर्मबिहीन माझीटारमा

-सुजन सुवेदी, पाँचथर

तत्कालीन फिदिम गाउँ पञ्चायत वडा नम्बर ९ को माझीटारका नरे माझीको दैनिकी भनेकै बल्छी र ढडिया थाप्दै माछा मार्ने काम थियो । यो कर्म उनी र उनको अर्काे पुस्तासम्मले गर्न भ्याए । मेची र कोशी अञ्चलको सीमा तमोर नदी कीनारमा बसोबास गर्ने करिव १० परिवार माझीको दैनिकी नै माछा मार्ने र तमोर नदीमा तेह्रथुमतर्फका मानिसलाई पाँचथरतर्फ र पाँचथरतर्फका मानिसलाई तेह्रथुमतर्फ तार्नु थियो ।

‘सखुवाको ठूलो रुखलाई डुँडको आकार दिएर उनीहरु नाउ बनाउँथे । एक जना मानिस खोलो तारेवापत २५ पैसा लिन्थे ।’ हालको फिदिम नगरपालिका वडा नम्बर ४ अर्थात पहिलोको फिदिम गाउँपञ्चायत वडा नम्बर ९ का ७५ वर्र्षीय नारायणप्रसाद सुवेदी स्मरण गर्छन् । सुवेदीका अनुसार नरे माझीहरु बल्छी र ढडिया थापेर माछा मार्दै ती माछा बेच्न फिदिम, जोरसाल, थाक्ले, छेरुवा, गडीडाँडासम्म आउँथे ।

ती माझी परिवारले तमोरमा मानिस तार्न भने पालो बाँध्थे । एक दिन २ जनाले र अर्काे दिन अरु नै २ जनाले मानिसहरु तार्ने र त्यसवापतको पैसाले घर खर्च चलाउँथे । तेह्रथुमको आठराई क्षेत्र (१२ गाउँ पञ्चायत) र पाँचथरको फिदिम जोड्ने तमोर नदीमा माझीटारदेखि करिव २ घण्टामाथि सिटौला झोलुङे पुल थियो । त्यहाँसम्म हिडेर गए पनि आठराई क्षेत्रको चुहानडाँडातर्फ पुनः घुम्नु पर्ने भएकोले अधिकांश माझीको भरमा तमोर नदीको डुंगा नै तर्थे ।

 

पछिल्लो पुस्ता पढाइ र साक्षर बन्दै गएपछि माछा मार्ने काम प्रायः बन्दजस्तै छ । ‘यदाकता कसैले जाल थापेर माछा मार्छन् तर त्यो काम सधंै हुन्न ।’ माझीटारमै होटल व्यवसाय गर्दै आएका रमेश तामाङले भने । उनका अनुसार माझी युवाहरु तमोर करिडोर, स्थानीय योजनाहरुमा श्रम गर्नतर्फ लागेका छन् । ‘अब माछा मार्ने र त्यसैबाट गुजारा गर्ने भन्ने त इतिहास भयो ।’–खड्गबहादुर माझीले भने ।
माझीटारको बस्तीदेखि करिव ३ सय मिटर दक्षिणबाट पक्की पुलहुँदै गाडीहरु आठराई क्षेत्र गुड्न थाले । अब पहिला पाँचथर र तेह्रथुम पैदल हिड्ने बटुवाहरु गाडीकै बाटो यात्रा गर्न थालिसकेका छन् । जसकै कारण बिगतमा भिडभाड हुने माझीटार अहिले सुनासान छ । यसको ऐतिहासिकताको संरक्षण गर्न कसैले चासो दिएको पाइन्न ।

फिदिम– ४ का वडा अध्यक्ष उपेन्द्र लावती माझीटारको पहिचान र माझीहरुको संरक्षणमा वडाले योजनाहरु ल्याएमा सहयोग गर्ने बताउँछन् । माझीटारमै भेटिएका वडाअध्क्ष लावतीले भने, ‘अब रिसोर्टहरु खोल्ने पर्यटक भित्र्याने योजना बनाउन सकेमात्र माझीटारको संरक्षण गर्न सम्भव छ ।’ इतिहास संरक्षण गर्न कस्तो योजना बनाउने र के गर्ने भन्नेमा माझीहरु जानकार छैनन् । केही नगन्य संख्यामा एसएलसी उतीर्ण गरेका माझी युवाहरु गुजाराका लागि सडक मजदूरदेखि बैदेशिक रोजगारीमा गएका छन् । जसका कारण चर्चा र पहिचान बोकेको माझी बस्ती अहिले गुमनाम प्राय छ ।सुनसान माझीटारमा केही घरमा होटल र किराना पसल देख्न पाइन्छ । तर, ब्यापार भने शुन्य प्रायः छ ।