-कल्पवृक्ष / काठमाडौं
भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति अशोकराज सिग्देल देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको छ ।
सो अवसरमा उहाँले अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नु भयो । कार्यक्रममा उहाँले नवनियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरुसँग अन्तरक्रियासमेत गर्नु भएको छ ।
नेपाली सेनाले २०१० सालदेखि भारतीय मिलिटरी एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरुलाई तालिममा सहभागी गराउँदै आएको छ । हालसम्म उक्त एकेडेमीबाट दुईसय भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरु दीक्षित भइसकेका छन् । १२ देशका अधिकृत क्याडेटहरु तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेट तालिमरत रहेका छन् ।