” देशको प्रमुख कार्यकारी पदमा रहेका केही व्यक्ति पुनः राजनीतिमा फर्केका छन् भने केही राजनीतिक माहोल बनाउन अग्रसर छन्दे, शको दोस्रो उपराष्ट्रपति बनेका नन्दकिशोर पुन (पासाङ) माओवादी केन्द्रको तर्फबाट त्यस पदमा पुगेका थिए । अहिले उनी माओवादीको उपाध्यक्ष बनिसकेका छन् , सबैलाई आश्चर्यमा पार्दै पार्टी कमिटी बैठकमा उपस्थित भएका उनलाई उपाध्यक्षमा मनोनीत गरियो “

देशकै दोस्रो राष्ट्रपति बनेकी एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवि भण्डारीले दुई कार्यकाल राष्ट्रपति बनेर बिताइन् । आफ्नो कार्यकाल सकिएपछि उनी पनि पुनः पार्टी राजनीतिमा आउने चर्चा चलिरहेको छ । विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै आशीर्वादले राष्ट्रपति बनेकी उनी अहिले हालका प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध भाषण गर्न थालिसकेकी छन् । यसको अर्थ आगामी पार्टीको महाधिवेशनमा उनी अध्यक्ष पदमा उठ्ने संकेतका रुपमा लिइएको छ ।

एमाले अध्यक्ष ओलीसित राम्रो सम्बन्ध बनाउन नसकेका र ओलीले राजनीतिमा अवसर नदिएर पाखा पार्न खोजिएका धेरै एमाले नेता तथा कार्यकता अहिले विद्यादेविसित निकट भइरहेको बुझिन्छ । स्रोतहरुका अनुसार पार्टीका काममा वा व्यक्तिगत काम लिएर राजधानी आउने एमालेजन पार्टी कार्यालय ललितपुरको च्यासल पुगेर एमाले नेताहरुसित भेट गरेपछि पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बुढानिलकण्ठ पुग्ने गरेका छन् ।

भण्डारीलाई महासचिव शंकर पोख्रेल, केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, डा राजन भट्टराईदेखि केही व्यक्तिवाहेक धेरैले आगामी अध्यक्ष बन्न हौस्याउने गरेको जानकारहरुको बुझाइ छ ।

जे होस्, देशको प्रमुख कार्यकारी पदमा पुगेका व्यक्ति पुनः राजनीतिमा फकँदा यसको कस्तो संदेश जान्छ ? यो विषय अहिले सतहमा आएको छ । हुनत रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपति बनेपछि प्रधानमन्त्री पनि बनेको र त्यसपछि फेरि राष्ट्रपति बनेको इतिहास जगजाहेरै छ । पद र शक्तिका लागि जे पनि गर्न चाहने राजनीतिक प्राणीहरुले अवसर नपाएको अवस्थामा आफ्नो हैसियत बिर्सिएर तलसम्म झरेका धेरै उदाहरण छन् । नेपालमा पनि त्यसको सुरुवात नन्दकिशोर पुनले गरिसकेकोले विद्यादेवि भण्डारी पनि एमाले अध्यक्ष हुँदै प्रधानमन्त्री नबन्लिन भन्न सकिन्न ।