–अरुणा मानन्धर, काठमाडौं
स्व– सिकाइबाट आत्मनिर्भर बन्दै आएका सल्यानको शारदा– ६ का सन्दिप विष्ट देशकै अग्रणी मेकानिक हुन् । चीनमा निर्मित विद्युतीय साइकल, स्कुटर र मोटरसाइकल मर्मतमा पारंगत उनी आफ्नै सिकाइबाट बिग्रिएका विद्युतीय दुई पाङ्ग्रे गाडी बनाउन राजधानी उपत्यका खाल्टोका सबै स्थान पुग्ने गरेका छन् ।
२०६७ देखि राजधानीमा स्वरोजगार बन्न मेकानिकको सीप सिक्दै अहिले आफ्नै मर्मत सेन्टर सञ्चालन गर्न सफल भएका छन् । शुन्य लगानीमा थालेको उनको मर्मत सेन्टरमा अहिले करिव १० लाख रुपैयाँबराबरका सामानको जोहो गरिसकेका छन् ।
२०५२ मा अमरबहादुर र नेफा विष्टका दोस्रो सन्तानको रुपमा जन्मिएका सन्दिपले डिल्लीबजारको विजय स्मारकबाट प्लस टु पूरा गरेपछि चाबहिलको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत छन् । अनामनगरमा रहेको क्लिन ईनर्जीमा साइकल स्कुटर सिक्दै मर्मत गर्न थालेका उनीको अनामनगरमै रहेको मर्मत केन्द्रमा दैनिक २० वटासम्म मर्मतका लागि साइकल, स्कुटर र मोटरसाइकल आउने गरेका छन् ।
घरमा वा बाटोमा बिग्रिएका त्यस्ता साधनलाई त्यहीँ पुगेर मर्मत पनि गर्छन् । मासिक सरदर ६० हजार रुपैयाँको कमाउने गरेको उनले कल्पवृक्षलाई बताए ।
उपत्यकामा अहिले यस्ता मर्मत केन्द्र ९÷१० वटामात्र छन् । ती मर्मत केन्द्रका मेकानिकमध्ये विष्ट नै पहिलो भएको बताउँछन् । उपत्यकामा विद्युतीय दुई चक्के सवारी साधन करिव २० हजार रहेको अनुमान छ ।
सुरुका दिनमा उनीसँगै रहेर काम सिकेका उमेश धिमाल भने झापाको दमकमा रहेर इलेक्ट्रिक रिक्सा मर्मत गर्दै आएका छन् । उनीहरु दुई जना भएर साइकल, स्कुटर र मोटरसाइकल चीनबाट नेपाल आयात हुन थालेपछि विद्युतीय मेकानिक बन्न आफैँले सीप सिकेको विष्टको भनाइ छ ।