त्यो बेला एसएलसी परीक्षा दिएपछि पाँच छ महिना फुर्सद पाइन्थ्यो । के गर्ने ? पुस्तक पढ्ने सोच पलाएछ । नवराज भट्टराई ,म र दिपक अधिकारी भएर पुस्तक खोज्दै, साटासाट गर्दै खुब पढ्ने भयौँ । दुई डोका जति पुस्तक पढेपछि कथा लेख्न सकिन्छ भन्ने आँट आयो । हप्तामा एउटा एउटा कथा लेख्ने र साथीसँग साटासाट गरेर समीक्षा लेख्ने लहरै चल्यो । यसले भाषा र कथानक दुवैलाई सुधार्ने मौका मिल्यो । आफूले लेखेको आफैलाई चित्त नबुझ्ने भएपछि यात्राले भिन्न रुप लियो । पन्ध्र बीसवटा कथा लेखेपछि बल्ल कथा भयो कि जस्तो लाग्यो ।

दुर्गाराज भट्टराई पेशाले शिक्षणमा आवद्ध हुनुहुन्छ । तीन दशक शिक्षण पेशामा रहनु भएका उहाँले हालै नयाँ च्याम्पियन कथा संग्रह सार्वजनिक गर्नु भएको छ । पाँचथर स्थायी बसोवास गर्ने उहाँ हाल राजधानी काठमाडौंमा बसेर शिक्षणसँगै साहित्यमा कलम चलाउँदै आउनु भएका दुर्गाराजसित कल्पवृक्षका लागि पाँचथर संवाददाता चेतन घिमिरेले गरेको कुराकानीको संम्पादित अंश ।

गणित जस्तो प्राविधिक विषयको शिक्षणमा आबद्ध तपाईं कसरी साहित्यप्रति आकर्षित हुनुभयो ?
जीवन बाँच्नु र जीवन अनुभूत गर्नु फरक विषय हुन् । म पढाएर जीवन चलाउछु, साहित्यसँग जोडिएर जीवनभित्रको सौन्दर्य खोज्छु ।

नवप्रकाशित नयाँ च्याम्पियन कथा सङ्ग्रहको जन्मकथा के हो ?
साहित्य यात्राको सम्झना गर्दा प्राथमिक स्कुलमा हुदै बेलुका आमाले एउटा एउटा कथा नसुनाइ म नसुत्ने भइसकेको थिएँ । राजकुमार दिक्पाल र लाटो बुङ्गोको कथा सुनेपछि कथाप्रति मेरो रुचि बढिहाल्यो । मैले चाख राखेको देखेर बुवालाई पनि कथा सुनाउने रहर लागेछ ।

सेक्सपियरका एज यु लाइक इट , मर्चेन्ट अफ भेनिस जस्ता अंग्रेजी कथा नेपालीमा अनुवाद गर्दै सुनाएपछि मलाई जीवनपछाडि हामीले नदेखेका रोचक सम्योग, वियोगहरु त्यसै खेर गएका हुँदा रहेछन् भन्ने लाग्न थाल्यो । कक्षा नौ दशमा पुगेपछि ताना शर्मा सम्पादित महेन्द्र माला पढ्ने मौका पाइहालियो । शर्माको परिस्कृत नेपालीले मभित्र अङ्कुरित साहित्यलाई बिरुवा नबनाउने कुरै भएन । बाकी थियो सर्ने र फल्ने कुरा ।
त्यो बेला एसएलसी परीक्षा दिएपछि पाँच छ महिना फुर्सद पाइन्थ्यो । के गर्ने ? पुस्तक पढ्ने सोच पलाएछ । नवराज भट्टराई ,म र दिपक अधिकारी भएर पुस्तक खोज्दै, साटासाट गर्दै खुब पढ्ने भयौँ । दुई डोका जति पुस्तक पढेपछि कथा लेख्न सकिन्छ भन्ने आँट आयो । हप्तामा एउटा एउटा कथा लेख्ने र साथीसँग साटासाट गरेर समीक्षा लेख्ने लहरै चल्यो । यसले भाषा र कथानक दुवैलाई सुधार्ने मौका मिल्यो । आफूले लेखेको आफैलाई चित्त नबुझ्ने भएपछि यात्राले भिन्न रुप लियो । पन्ध्र बीसवटा कथा लेखेपछि बल्ल कथा भयो कि जस्तो लाग्यो ।

मैले सन्ध्या यात्रा शिर्षकको कथा लेखेर हुलाकबाट गरिमामा पठाइदिएँ । छ महिनामा छापिएर आयो । त्यो बेला गरिमा, मधुमर्कमा रचना छापिनु लर्तरो कुरा हुदैनथ्यो । त्यो एक प्रकारको परीक्षा थियो, पास भइयो । अनि फुटकर रचाना नियमित छापिन थाल्यो । अनि कलेज जान थालेपछि नौलो साहित्यिक बिहानसँगसँगै भइयो । पाँचथरेली अग्रज स्रष्टाहरुको छायाँ र नव प्रतिभाहरुको मायामा कछुवाकै गतिमा भए पनि मेरो कलम हुर्किदै गएछ । कलम अलिक खारिएपछि तयार भएका पन्ध्र कथाहरुको सङ्ग्रह शिखा बुक्सले बाहिर ल्याएको हो ।

नयाँ च्याम्पियनका कुनै उल्लेख गर्न मिल्ने विशेषता छन् ?
कथाहरु नयाँ बान्कीमा लेख्ने जमर्को हो नयाँ च्याम्पियन । यसले विज्ञ पाठकहरुलाई कति फकाउन सक्छ, यो म बाहिरको विषय भयो तर एउटा अघोषित दाबी के छ भने संसारको सबैभन्दा लामो कथा जसको शिर्षक शब्दमा छैन, एउटा चित्र  ।

एक जना साहित्यप्रेमी पात्र एउटा पुस्तकालयमा उद्घाटनको दिनबाहेक फेरि पुग्न भ्याउदैन । उसको साथीले लेखेको एउटा कथा पढ्ने प्रसङ्ग पटकपटक उठेपनि ऊ पढ्दैन किनभने यहाँ पाठकको खडेरी व्याप्त छ ।

तपाईं सोध्नुहोला यहाँ जीवन बाँच्न कति गाह्रो छ, साहित्यको के काम ? यसको जवाफको विद्वान् लेखकहरुसँग ठूलो भण्डार ह‍ोला । मैले आँफैभित्र पाएको जवाफ के हो भने आज मानिसहरु जिवनलाई बरदान होइन, बोझ सम्झन्छन् । उत्साह , प्रेम र उत्सवविना जेनतेन जीवन घिसार्दा छन् । अर्काको आलोचनामा समय र ज्ञान लगाउँदा छन् । तर हाम्रो जीवनपछाडि कैयौं रोचक, उत्सवपुर्ण, सुन्दर पक्षहरु छन् । साहित्य समाजको ऐना भनिन्छ नि , ऐना त हो तर घरमा राखिएको ऐना होइन, सैलुनमा राखिएको ऐना चाहिँ हो जहाँ बिम्बहरु पत्रैपत्र परसम्म देखिन्छन् । साहित्यले यी छोपिएका पक्षसँग सात्क्षाकार गराउँछ । जीवनको मूल्य अङ्कित गर्दछ ।

अनि लेखको लम्बाइले पुस्तकको स्तर निर्धारण गर्ने हो र भन्या ?
किन हुन्थ्यो त्यस्तो, यो त रोचक सुनिने एउटा संयोग हो । लेखकले प्रत्येक शब्द तौलिएर राख्नु पर्छ । शब्दको ठुलो भण्डार खन्याएर पाठकको समय र बौद्धिकता खाइदिनु हुदैन । कृतिको लम्बाइ शब्द सङ्कलनमा होइन, विषयको गहिराइमा हुन्छ । यही चेतलाई आख्यानिकरण गर्दा लघु कथाको लम्बाइ जन्मिएको हो । यो कथामा एकजना लेखकले लघुकथा प्रकाशित गर्छन् । भोलिपल्ट एकजना पाठकले त्यो लघुकथा पढ्न रातभरि लाग्यो भनेर टेलिफोन गर्छन् ।

हाम्रोमा साहित्यिक गतिविधिको दृश्य कस्तो देख्नु हुन्छ ?
ूशहरको एउटा कुनामा , सानो बजेटको परिधिमा, थोरै मानिसको उपस्थितमा साहित्यिक गतिविधि भएकै छन् । साहित्य केही निश्चित मानिसहरुको सिमित मामिला भन्ने आम बुझाइ छ । मैले यो प्रश्नको जवाफ खडेरी शीर्षकको कथाबाटै दिने ।

अर्को कृतिको तयारी के छ ?

मैले तीस वर्ष गणित पढाएँ र तीस वर्ष साहित्य पढेँ । म साठी वर्ष नपुग्दै साठी वर्षको ज्ञान अनुभव स्टोर भएर मेरो दिमाग झ्याऊँझ्याऊँ भएको छ । त्यसलाई साहित्यिक कृतिको रुपमा बाहिर ल्याउने जमर्को गर्दैछु । कक्षाभित्रको साहित्य बाहिर ल्याउदा कस्तो हुन्छ ? म आफै उत्साहित छु त्यो गणित र साहित्यको फ्युजन तयार भएको हेर्न ।