यहाँ आउने ग्राहकहरुले वाचिपा (कुखुराको भुत्ला र मासु मिलाएर पोलेर बनाएको परिकार), याङ्गवेन (सुंगुरको मासुमा सुंगुरकै रक्ती र झ्याउ मिलाएर बनाएको परिकार), किनिमा (भटमासलाई उसिनेर एक सातासम्म खाँदेर बनाएको परिकार) र यहाँ किराँती थाली अर्थात स्थानीय रैथाने परिकारका सबै खाना बनाउने गरेकी छु ।

मोरङको केराबारी पूख्र्यौली घर भएकी बिना थेगिम (लिम्बू) को जन्म भने राजधानीको नारायणथानमा भएको हो । पाँच सन्तानमध्ये जेठी उहाँ देविबहादुर र मोति लिम्बूकी छोरी हुनुहुन्छ । २०४५ मा जन्मनु भएकी उहाँ अहिले राजधानीकै अनामनगर युनियन हाउसमा कुक भएर कार्यरत हुनुहुन्छ । राजधानी पानीपोखरीको एस डब्लु नेपालबाट कुकको काम थाल्नु भएकी उहाँ रोजगारीको सिलसिलामा लाओससम्म पुग्नु भएकी थियो । उहाँसित कल्पवृक्षका लागि सम्वाददाता प्रमोद राईले गरेको कुराकानीको सम्पादित अंश ।

–किन कुक पेशा नै रोज्नु भयो ?
मलाई खाना बनाउन, पकाउन, खाना पस्कन अधिकै मन पर्छ । त्यसैले यो पेशा रोजें ।

–यो पेशामा लाग्दा के पाउनु भयो ?
म यो पेशामा लागेपछि सन्तुष्टि, सम्मान र अरुले गरेको सम्मानका कारण धेरै खुसी लाग्छ । जस्तो, कति मीठो पकाउनु भएछ भन्छन्, त्यो बेला आफ्नो सीपमा गर्व लाग्ने गर्छ ।

–कुक भएर काम गर्दा असन्तुष्टि के के हुन्छन् ?
सबै ग्राहक एकरुप हुन्नन् । कसैलाई धेरै नून मनपर्छ, कसैलाई कम । त्यसैले सबैको चित्त बुझाउन कठिन हुन्छ । कुनै कुनै ग्राहकले गुनासो पोख्छन्, त्यो बेला भने केही कमजोरी भयो कि जस्तो लाग्छ ।

–यो पेशालाई थप राम्रो बनाउन के गर्नु पर्छ ?
हामीलाई अझै दक्ष बनाउन तालिम, सीप सिक्ने अवसर चाहिन्छ । त्यसका लागि होटल, पार्टी प्यालेस, रेष्टुरेण्टहरुले समयसमयमा तालिम दिनु पर्छ । जसका कारण हामी हाम्रो सीमा थप खारिएर आउँछौं । त्यसका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

–यहाँ (युनियन हाउस) आउने ग्राहकको रोजाइ के र कस्तो छ ?

यहाँ आउने ग्राहकहरुले वाचिपा (कुखुराको भुत्ला र मासु मिलाएर पोलेर बनाएको परिकार), याङ्गवेन (सुंगुरको मासुमा सुंगुरकै रक्ती र झ्याउ मिलाएर बनाएको परिकार), किनिमा (भटमासलाई उसिनेर एक सातासम्म खाँदेर बनाएको परिकार) र यहाँ किराँती थाली अर्थात स्थानीय रैथाने परिकारका सबै खाना बनाउने गरेकी छु ।

– यो अनामनगर युनियन हाउसलाई खानाका थप परिकारमा आकर्षित बनाउन अरु के के गरिनु पर्छ ?
अब सेकुवाका परिकार खसी, कुखुरा, सुंगुरको माग छ । हामी छिट्टै यी परिकार पनि हाम्रा ग्राहकलाई उपलब्ध गराउने तयारीमा छौं ।