सुजन सुवेदी, ललितपुर
‘केमसेक्स’ भनेर उपमा लिइने लागूपदार्थहरुको सेवन गर्दै यौनसम्पर्क गर्ने युवायुवतीको संख्या बढ्दो छ । पछिल्लो समयमा देशमा लागूपदार्थ र मध्यपान गर्ने युवायुवतिमध्ये ९ दशमलव ३ प्रतिशत यस्तो आदतमा फसेको अध्ययनले देखाएको छ । योदर अधिक हो । विश्व माध्यतामा यो दर २ प्रतिशतमध्दा माथि गएमा यसलाई भयावह रुपमा लिने गरिएको केमसेक्स हार्म रिडक्सन इन्टरभेन्सन (एसएचआरपी) कार्यक्रमका डिआईसी इन्चार्ज अस्विनराज खनालको भनाइ छ ।
बेलायतको भिआईआईभी हेल्थकेयर फाउण्डेसनको आर्थिक सहयोगमा यो कार्यक्रम नेपालमा यसै वर्षको जनवरीबाट सुरु भएको हो । रिकभरी नेपाल र ब्लु डाइमण्ड नेपालले यो कार्यक्रम तीन वर्षसम्म देशमा सञ्चालन गर्ने भएका छन् । जसमा माया नेपाल (डिआइसी) साझेदार संस्थाको रुपमा कार्यक्रम सञ्चालन गर्दैछ ।
केमसेक्समा किटामाइन, एलएसडी, एसीपेपरजस्ता लागूऔषध र पदार्थ प्रयोग गरेर यौन उत्तेजना सिर्जना गर्दै चरम आनन्द लिने बहानामा युवायुवतिहरु थप गलत बाटोमा लागिरहेको कार्यक्रम इन्चार्ज खनालले कल्पवृक्षलाई बताउनु भयो । कमसेक्स सुरुमा सुनेको भरमा ड्रगको सेवन गर्न थाल्ने र त्यो बानीमा रुपान्तरण हुँदै गएको पाइन्छ । लागूऔषध सेवन तथा इन्जेक्सनको माध्यमबाट प्रयोगमा ल्याउने गरिएको छ ।
देशमा पाइलट प्रोग्रामको रुपमा सुरु भएको यो कार्यक्रमले देशमा केमसेक्स गर्ने युवायुवतिको खोजी गर्दै उनीहरुलाई यस प्रकृयाबाट पुग्ने क्षतिको जानकारी गराएर यस्ता बेथितिको न्यूनिकरण तथा रोकथाममा प्रयास गरिने इन्चार्ज खनालको भनाइ छ ।
ललितपुरमा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत युवायुवतिलाई सहभागी गराएर यस अभियानमा उनीहरुको योगदानको खोजी गरिएको छ । अस्पताल वा स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये केमसेक्स गर्ने भएमा उनीहरुलाई सहजीकरण गर्न आफूहरु तयार रहेको स्वास्थ्यकर्मीहरुले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा माया नेपालमा आवद्ध सुजन सुवेदीले केमसेक्सलाई कम गर्न समुदाय समुदायसम्म पुगेर जनचेतना फैलाउँदै नागरिकलाई सचेत बनाउनु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो, ‘केमोसेक्सलाई न्यूनिकरण गर्न विश्व समुदाय नै लागिपरेकोले नेपालले पनि यसमा उल्लेख्य योगदान दिन सक्नु पर्दछ ।’
देशमा अहिले केमसेक्स गर्नेको संख्या ५ जना पत्ता लागेको छ । अब विद्यालय शिक्षा, जनप्रतिनिधि, अभिभावकसम्म पुगेर यो गलत प्रयोगलाई निरुत्साहित गर्ने सबै पक्षले ध्यान दिनुपर्ने सहभागीहरुको भनाइ छ । जनचेतनाको कमी र नेपाल भारत खुला सीमाका कारण नेपालमा खुलेआम रुपमा लागूऔषध भित्रने गरेकोले लागूऔषध नियन्त्रणमा भने चुनौति नै रहेको देखिन्छ । नेपाल लागूऔषध कारोबारमा ट्रान्जिट पैण्ट नै बन्दै गएको छ । ९० प्रतिशत लागूऔषध र पदार्थ भूमिगत मार्गहुँदै अर्काे देशसम्म पुग्ने गरेको छ भने १० प्रतिशतमात्र प्रहरी, सशस्त्र र सरोकारवाला निकायले नियन्त्रणमा लिने गरेको एक अध्ययनले देखाएको छ ।