Advertisement GIF
पूर्ण व्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक दिपक थापा

प्रहरी महानिरीक्षक दिपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सम्पादित कार्यले संगठनको साख बढ्ने चर्चा गर्दै पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको बिहीवार निरीक्षण गर्दै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकनसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराधहरू चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै भरपर्दो सूचना संकलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनहरूको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।

प्रहरी महानिरीक्षक थापाले ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धानहरू प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताहरूको सामना गर्न प्रहरी कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । साथै ब्यूरोमा कार्यरतप्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन संगठनसदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले ब्यूरोको पृष्ठभूमि, स्थापनाको उद्देश्य, कार्यनीति, व्यवस्थापनरप्रशासन, नीति निर्देशन कार्यान्वयन, महत्वपूर्ण मुद्दाहरूको अनुसन्धान विवरण, अनुसन्धानको क्रममा देखिएका कानूनी समस्याहरू, जटिल एवम् प्रविधिजन्य अपराधहरू, समस्या तथा चुनौतिहरू, भावी योजना, तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।