सैनिक जङ्गी अड्डामा प्रधान सेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी २०८२ सञ्चालन भएको छ । सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको परिप्रेक्ष्यमा साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभवहरू आदान प्रदान गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।
दुई चरणमा सञ्चालित गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइवर सुरक्षासँग सम्बन्धित गैर सरकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीहरू बिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो ।