नेपाल बैंक लिमिटेडका अध्यक्ष डा चन्द्रवहादुर अधिकारीले सर्वसिाधारणलाई ऋण दिँदा घुस लिएको खुल्न आएको छ । देशकै पुरानो बैंकको अध्यक्ष रहेका डा अधिकारीको खातामा ७४ लाख रुपैयाँ घुस रकम फेला परेको हो ।
बैंकबाट पदावधि सकिएर पदमुक्क भइसकेका उनलाई ऋणीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेको छ । तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले उनीमाथि तीनवटा घटनामा ७४ लाख रुपैयाँ घुस खाएको अभियोग लगाएको छ ।
तनहुँमा पेट्रोल पम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । त्यसको सुइँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले ऋणका लागि निवेदन दिने आवेदकहरूलाई भेटेर घुस मागेको अख्तियारको आरोप छ ।
कूल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोड ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक पर्ने भनी उनले सेवाग्राहीसँग घुस मागेका थिए । उनकी पत्नी मधुमाया अधिकारीको खातामा सुरुमा ५ लाख, त्यसपछि चेकमार्फत १५ लाख र ३० लाख रुपैयाँ जम्मा गराउन लगाएका थिए ।