मेची राजमार्गको फिदिम– ताप्लेजुङ खण्डमा पर्ने फिदिम– ४ र हिलिहाङ– ७ बीचको हेंवाखोलामा जडान भइरहेको बेलिब्रिज शनिवार (आज) भाँचिएको छ । बेलिब्रिज भाँचिनुको कारण खुल्न सकेको छैन ।
७० मिटर लामो सिङ्गल स्पानको बेलिब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिदा ६ जना मजदुर घाइते भएका छन् । नेपालमा नयाँ भएकाले भारतीय प्राविधिकको सहयोगमा जडान कार्य भइरहेको थियो । पुललाई बीचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । बेलिब्रिज भाँचिदा रूपलाल चौधरी, राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको प्रहरीले जनाएको छ ।