Advertisement GIF
कल्पवृक्ष
असार २ सोमबार, ६:२२ अपराह्न
रिमालको उदाहरणीय कृषि पेशा

ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा,रोजगारी तथा अवसरको खोजीमा गाउँ छोेडेर सहर पस्ने र पसिरहेको पाइन्छ । कसैको लहैलहैमा सहर पसेका कतिले राम्रो रोजगारी पाएका छन् भने कतिले खालि हात बस्नुपरेको छ ।यस्तै लहैलहैमा काठमाडौ छिरेको एउटा नाम हो दिपक रिमाल । स्थयी बसोबास नुवाकोटको तारकेश्वर गाउपालीका– ४, भन्ज्याङखर्क भएका दिपक पनि सपना बोकेर २०७८ सालतिर काठमाडौं खाल्डोमा प्रवेश गर्छन् । उनका दाजु हरि रिमाल काठमाडौंमै भएकाले उनलाई बस्न खान अनि कुनै काममा लाग्न त्यति गार्‍हो थिएन । त्यसै बेला दाजु हरिको जुक्ति र आर्थिक सहयोगमा उनले सुरु गरे ‘कोशेली अनलाइन सप’ ।

रिमालको अनलाइन पसल राम्रै चलिरहेको हुन्छ । मासिक ३० देखि ४० हजार रुपैयाँ कमाइरहेका थिए । यसैबीचमा उनलाई गाउँ फर्कन मन लाग्यो र त्यही ईच्छाले गाउँ फर्किए ।‘मलाई राजधानी बस्नुभन्दा गाउँमै केही गर्न सकिन्छ भनेर गाउँ फर्किएँ र सुरु गरें रिमाल कृषि तथा पशुपन्छि फर्म ।’ – दिमकले भने ।

उनले कृषि फर्म २०८० सालमा स्थानीय तारकेश्वर गाउपालिकामा दर्ता गरेर सुरु भएको यो व्यवसायले सुरुवातको एक वर्षमै लय लिएको छ । उनले अहिले घरमै ५ वटा गाई दुईवटा भैंसी पालेका छन् । जसबाट घरमै ४० देखि ४५ लिटर दूध उत्पादन हुने गरेको छ । साथै गाउँमा अन्य घरहरुले पनि उनको मेहनतमा होष्टेमा हैंसे गरिदिएका छन् । गाउँका अन्य परिवारबाट दैनिक १ सय ५० लिटरदेखि २ सय लिटरसम्म दूध संकलन हुन्छ ।जसलाई उनले पनिर बनाएर काठमाडौंको बजारसम्म पुर्याउने ब्यवस्था मिलाएका छन् । उनको यो कदमले अहिले गाउँको दूधले गाउँमै बजार पाएको छ भने स्थानीयलाई पनि घर खर्च चलाउन छोराछोरी गुहार्न नपर्ने भएको छ। मेहनत र परिश्रम गर्ने हो भने ६० देखि ७० हजार रुपैयाँ कमाउन बिदेशिनु नपर्ने दिपकको बुझाइ प्रमाणित भएको छ ।

 

गाउँका अन्य युवालाई दिपक बिदेश जानुभन्दा गाउँमै कृषि कर्म वा अन्य कुनै पेशा अपनाउन सुझाव दिन्छन् । बिदेशमा गएर मरुभूमिमा पसिना बगाउनुको बदलामा घर÷गाउँमै मिहिनेत गर्न सकेमा परिवारको साथमै रहने र गाउँको विकासमा पनि सहयोग पुग्ने दिपकले बताए । उनले भने, ‘म भोलिका दिनमा यो पेशालाई बिस्तार गर्दै गाउँमा होमस्टे र कृषि पर्यटनको अवधारणा भित्र्याउने लक्ष्यमा रहेको छु ।’