पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश (स्टे अर्डर) जारी गरेको छ। आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश ऋषिराज भण्डारीले अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।
अदालतले दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ। अर्को आदेश जारी नहुञ्जेलसम्म अल्पकालीन अन्तरिम आदेशअनुसार उनलाई प्रहरीले पक्राउ गर्न नसक्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।
पत्रकार पाठकविरूद्ध गत जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए । सविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।