राजधानी काठमाडौं उपत्यका प्रहरी कार्यालयको आयोजना तथा नेपाल एसोसिएसन ¥याफ्टिङ एजेन्सी (नारा) को सहकार्यमा सञ्चालित सात दिने मनसुनजन्य प्रकोप उद्दार प्रतिकार्यसम्बन्धी शिक्षण तालिम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) टेकवहादुर तामाङसमेतको उपस्थितिमा उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् बाढी तथा डुबानबाट प्रभावित भएर भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा क्षति न्यूनीकरणका लागि मनसुनजन्य विपद् लगायत घटनाको उद्दार एवं विपद् प्रतिकार्य उद्दारमा प्रहरीलाई दक्ष बनाउन अनुशिक्षण समापन गरिएको हो ।
प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न कार्यालय तथा मातहतसमेतका प्रहरी कर्मचारीहरुलाई नाराका प्रशिक्षकहरुले कीर्तिपुर नगरपालिका स्थित टौ दह तथा काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा ‘विपद्सम्बन्धी अनुशिक्षण अभ्यास कार्यक्रम सञ्चालन गरी ४ सय ८७ जना प्रहरी कर्मचारीहलाई अनुशिक्षण प्रदान गरिएको एआइजी तामाङले बताउनु भयो ।
जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्यसम्बन्धी तालिम समापनमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उपत्यकाभित्र आइपर्ने प्रकोपहरुको समयमा उद्धारका लागि विपद्सम्बन्धी पूर्वाभ्यास स्वरुप यस्ता अनुशिक्षण कार्यक्रमले मनसुनजन्य विपद्को समयमा उद्दारकर्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रकोप उद्दार प्रतिकार्यको लागि सहयोग, समन्वय र सहकार्यको लागि सधै तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
अनुशिक्षण तालिम समापनमा एआईजी तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने भन्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय सीमित साधनका बावजुत जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्यका लागि साधान स्रोत जुटाएर विपद्को समयमा नागरिकको उद्धारका लागि प्रहरी जनशक्ति तयारी हालतमा राख्न निरन्तर प्रयास गरिरहेको जानकारी दिनु भयो ।
उहाँले आगामी दिनमा विपद् उद्दारको लागि जनशक्ति तयार गर्न “तालिम पाठयक्रम” नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको बताउनु भयो । जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी बिट तथा प्रहरी चौकी तत्पश्चात स्थानीय निकायलाई सम्झिने हुँदा प्रहरी र स्थानिय सरकारको सहकार्य गरेर अघि बढ्नु वर्तमान आवश्यकता रहेको औल्याउँदै सबै सरोकारबाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।