काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलेले सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान सुरु गरेको छ । आज (शुक्रवार) काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकवहादुर तामाङले अभियानको शुभारम्भ गर्नु भयो ।
राजधानकिो गङ्गबु नयाँबसपार्कमा आयोजित यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा गोबिन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य बिपद्बोट सजग हुनुपर्ने विषयमा धारणा राख्नु भएको थियो ।
एआईजी तामाङले मनसुनसम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने बताउँदै सवारी चालक र यात्रु सबैले सचेत हुन आग्रह गर्नु् भयो । उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दूरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोपसाथै सडकको अवस्था बारे जानकारी दिइने छ । सवारी चालक, परिचालकसाथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा नागरिक सहायता कक्षमा कार्यरत ट्राफिक प्रहरीले जानकारी दिने उदेश्यका साथ १२ स्थानमा नागरिक सहायता कक्षको स्थापनासँगै कक्षहरु सञ्चालनमा आएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भएर अप्रिय घटना घट्नुका साथै जन धनको क्षतिसमेत हुने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताउनुभयो ।