Advertisement GIF
सुजन सुवेदी
असार ६ शुक्रबार, ९:४७ अपराह्न
प्रहरीका एआइजी टेक तामाङको साहित्य सिर्जना यात्रा

–सुजन सुवेदी / काठमाडौं

 

टेकबहादुर तामाङ अर्थात बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) । उहाँको पहिचान योमात्र होइन । उहाँ वर्तमानमा चिनिएका गीतकार, भजनकार र कवि पनि हुनुहुन्छ । उहाँका गीत र भजन सय बढीको संख्यामा बजारमा आइसकेका छन् अर्थात संग्रहित छन् ।

भोजपुरको भोजपुुर नगरपालिका– २, हेलौछामा जन्मिनु भएका तामाङले स्थानीय कालिका निम्नमाध्यमिक विद्यालयबाट अध्ययन सुरु गर्नु भयो । पुलचोकको इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पूरा गर्नु भयो । निजीबाट एमविए  उतीर्णपछि २०५२ भदौंमा नेपाल प्रहरीको निरीक्षक पदमा भर्ना हुनु भएका तामाङ प्रहरीमा रहेर पनि निरन्तर लेखनमा व्यस्त रहिरहनु भएको छ । उहाँले लेखेको र गीत शिव परियारले गाएको ‘सानो ठूलो जातै छैन’ बोलको गीतले इमेज एवार्ड पाउन सफल भयो ।

भिम विराग आफूले लेखेका गीतमा मात्र संगीत भर्छन् । तर, तामाङले उनलाई आग्रह गरेपछि २ वटा गीतमा संगीत विरागले भरे । एआईजी तामाङले लेखेका ‘नजिक यति भएर पनि, स्वर्ग सुख मिले पनि’ मेलिना राईले गाएको गीत निक्कै मन पराइन्छ । पुराना गायक प्रदिपराज पाण्डेले ‘अल्झिरह्यो यादहरु’ बोलको गीत गाएका छन् ।

तामाङले २०६७ मा स्वदेश, २०६९ मा जिवन साथी, २०७० मा नेपाल आमा र २०७५ मा नाता एल्बम निकालिसक्नु भएको छ । नाता एल्वम महिलाले मात्र गीत गाएको एल्वम हो अर्थात नारी आवाज भएको । उहाँले सिर्जना गरेका आधुनिक गीत ७ सयबढी छन् । त्यसको पुस्तक निकाल्ने तयारी छ । राष्ट्रिय गीत १ सय ३२ वटाको संगालो नेपाल आमा हो भने १ सय २३ वटा भजनको संगालो भक्ति सागर हो ।

जन्मीखेली हुर्के आमा बोलको गीत दिप श्रेष्ठले गाएका छन् । राजेशपायल राईले मै खुकुरी अघिसरी गीत गाएका हुन् । यी दुवै राष्ट्रिय गीत हुन् । प्रहरी उच्च अधिकारी टेक तामाङको सिर्जना तिमीलाई माया गर्छु, अंगालोमा बेरिरहुँ, अन्जु पन्तले गाएकी छन् । तामाङका सिर्जनामा तयार भएका गीत रामकृष्ण ढकालदेखि देशका चर्चित प्राय सबै गायकले गाइसकेका छन् ।

२०२७ असोजमा बुवा भीमबहादुर र आमा फूलमायाका सन्तान भएर जन्मिनु भएका तामाङले बाल्यकालदेखि नै गीत र कविता लेख्न थालेको बताउनु भयो । पढाइमा अब्बल उहाँ विद्यालयमा हुने अतिरिक्त कृयाकलापमा पहिलो, देश्रोमात्र हुनु हुन्थ्यो । यसरी उत्कृष्ठ हुँदा पाउने पुरस्कारमा साहित्यिक पुस्तकहरु हुन्थे । अनि, ती पुस्तकहरु पढ्दैजाँदा साहित्यतर्फ आकर्षण बढेको स्मरण उहाँले सुनाउनु भयो । प्रहरीमा काम गर्दा एक समय आफूभन्दा सिनियर अधिकृतले ‘लेख्ने पेशा दुखिया हो, लेखेर काम छैन’भनेपछि आफूलाई पनि ‘हो नै’ जस्तो लागेर एक दशक गीत, कविता, भजनहरु नलेखेको उहाँले सुनाउनु भयो ।

उहाँ शान्ति स्थापनार्थ शान्ति सेनामा गएको बेला एक जुनियर प्रहरी अधिकृतले गीत, कविता र भजन लेख्न आग्रह गरेपछि फेरि लेखन सुरु भएको उहाँको भनाइ छ । ‘लेखन मै रस बिझ्यो, अब त नलेखी बस्न सकिन्न ।’– उहाँले भन्नु भयो ।

पछिल्लो समय उहाँको शब्दमा तयार भएको गीतमा भारतीय सुबिख्यात गायिका आशा भोसलेले श्वर दिएकी छन् । ९३ वर्षीया भोसलेले यो गीत युगल गाएकी हुन् । भोस्लेसित नेपाली गायक इलामका मोहन राईले संयुक्त श्वर दिएका हुन् । भोसले र राईले एआईजी तामाङले रचना गरेको ‘यो हाम्रो माया’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतको संगीत भर्ने काम भने रञ्जित गजमेरले गरेका छन् । संगीतकार गजमेर पनि पाका भइसकेका छन् । उनको हालको उमेर ८्५ वर्ष छ । ९३ वर्षकी भोसले गायक र ८४ वर्षका गजमेर संगीतकार भएर पछिल्लो समय यो नेपाली गीत रेकर्ड भएको गीतकार एआईजी तामाङले जानकारी दिनु भयो ।