Advertisement GIF
कल्पवृक्ष
असार ८ आइतबार, ७:४६ अपराह्न
‘मानव अधिकार संरक्षणमा नेपाल प्रहरी’ अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आइतबार (आज) सम्पन्न भएको छ ।

उक्त अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षा अमनचयन कायम गर्ने तथा अपराध अनुसन्धान गर्ने पहिलो निकायको रूपमा रहेको चर्चा गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धन गरी प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी सेवा समयसापेक्ष र पीडितमैत्री हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष हरिदत्त जोशी, मधेशी आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्यप्रसाद शर्मा ढुंगेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, मुस्लिम आयोगका सदस्य महोम्मद समशुल हक, आदिवासी जनजाती आयोगका सदस्य रीना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेलले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून र दस्ताबेजको पूर्ण पालना गर्दै शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न पहिलो पंक्तिमा रहेर अहोरात्र खटिँदै आइरहेको बताउनुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सम्मान सहित अगाडि बढ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्दै कार्यक्रमबाट प्राप्त सुझावलाई पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले आधारभूत तालिम र विभिन्न अनुशिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो । साथै भिड व्यवस्थापनमा नेपाल सरकारसँग समन्वय गरेर आधुनिक उपकरण तथा सामग्रीहरूको प्रयोग गर्नुका साथै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो ।

आयोगका सहसचिव सम्झना शर्माले कार्यक्रमको उदेश्यमाथि चर्चा गर्नुभयो । र्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित र संवेदनशीलवर्ग, समुदायको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरीले गरेका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रभावकारी समन्वय र सहकार्य, लैंगिकरघरेलु हिंसा र दाइजो प्रथा, छउपडी प्रथा, बाल विवाह, छुवाछुत अन्त्यका लागि सामूहिक पहल, अनुसन्धानका विषयमा पीडित, शंकित वा समुदाय लक्षित व्यक्तिगत सूचनाहरू सम्प्रेषित हुने गरेका, हिरासत कक्ष भित्रको आत्महत्या, जाहरी दर्खास्त दर्ता, अधिकारकर्मी र मिडियाकर्मी माथि आक्रमणलगायतका विषयहरूमा छलफल भयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।