Advertisement GIF
इरानमाथि अमेरिकी आक्रमणको बिरोधमा नेपालका ११ कम्युनिष्ट घटक

इरानमाथि अमेरिकाले गरेको क्षेप्यास्त्र आक्रमणको नेपालका ११ वटक कम्युनिष्ट पार्टीले बिरोध गरेका छन् । संघीय संसदमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित ११ वटा वामपन्थी समूहले इरानमाथि इजरायली र अमेरिकी हमलाको विरोध गर्दै संयुक्त वक्तव्य निकालेका छन् ।

इजरायलले प्यालेस्टाइनमा गरेको सैनिक कारवाहीको सडकमै उत्रिएर सख्त विरोध गरेका वामपन्थी दलहरुले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चासो जनाउँदै वक्तव्य जारी गरेका हुन् । उनीहरुले यसलाई अमेरिकी साम्राज्यवादको उक्साहटमा इरानको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेपका रुपमा घटनालाई लिएका छन् ।

अमेरिकाले विश्वयुद्ध निम्त्याउन खोजेको वाम दलको ठहर छ । यसले विश्वव्यापी युद्ध आतंकको स्थिति पैदा भएको जनाउँदै वक्तव्यमा अविलम्व युद्ध विराम गरी विश्व शान्ति कायम गर्न माग गरिएको छ ।इरान इजरायल युद्धमा हालसम्म ठूलो क्षति भइसकेको छ ।

अमेरिका इरानमा ४५ वर्ष लामो इस्लामिक शासन परिवर्तन गर्न लागिरहेको छ । सन् १९७९ मा राजतन्त्र विरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो । राजाको शासन ढलेपछि पेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए । सन् १९८९ मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनेका हुन् । अमेरिका खामेनीको नेतृत्वको सरकार ढाल्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।