Advertisement GIF
हतियार बोक्ने हातले साहित्य केलाउँदै सेनाका पूर्व उपरथी ‘आशबहादुर’

‘उहाँले रचना गरेका गीतमा हालका लोकप्रिय गायकहरु स्वरुपराज र रामकृष्ण ढकालले गाएका छन् । जसको म्युजिक भिडियो तामाङ स्वयंले निर्देशन गर्नु भएकोछ । उहाँ भन्नुहुन्छ, ‘कर्तव्य र सृजना कहिल्यै मर्दैन, मार्नु पनि हुँदैन, एउटा हातले बन्दुक र अर्को हातले कलम चलाउन पनि सकिन्छ ।’ तामाङले चौकी भन्सार, क्याम्प फायरलगायतका एल्वम सार्वजनिक गरिसक्नु भएकोछ । उहाँका सिर्जनमा बनेका गीतमा चार दर्जन बढी रेकर्ड भइसकेका छन् ।’

 

सुजन सुवेदी/काठमाडौं

लामो समय नेपाली सेनामा बिताउनु भएका आशवहादुर तामाङको अर्काे परिचय हो, सफल साहित्यकार । सेनाको उपरथी (दुई तारे) जर्नेलबाट अवकास पाइसक्नु भएका उहाँको दैनिकी साहित्य सिर्जनामै बित्ने गरेको छ ।

सेनाको कडा अनुशासनभित्र रहेर फुर्सदको समय साहित्य सिर्जनामा रमाउने उहाँले साथसाथै अध्ययनलाई पनि निरन्तरता दिनु भयो । जसकै कारण आशवहादुरले विद्यावारिधि (पिएचडी) पनि पूरा गरिसक्नु भएको छ । तामाङ कहिले गीतको एल्वम निकाल्नु हुन्छ भने त्यस्ता गीतको म्युजिक भिडियो पनि । लेख रचना, गीत, कविता रचना गर्ने अर्थात बहुमुखी प्रतीभाका धनी भन्दा फरक नपर्ने उहाँको अर्काे पहिचान भनेको चित्र कोर्ने अर्थात चित्रकार पनि हो ।

आफ्नो देशको लोक कला तथा संस्कृतिको बेजोड माया र त्यसको उन्नयनमा समर्पित आशवहादुर मौकामा नृत्य प्रस्तुतिमा पनि सहमागी भइहाल्नु हुन्छ । २०४१ सालमा प्रथम श्रेणीमो एसएलसी उतीर्ण हुनु भयो । पहिलो श्रेणीमा एसएलसी उतीर्ण गर्ने त्यो समयमा खोजीगर्दा पनि आक्कलझुक्कलमात्र पाइन्थ्यो ।

 

उहाँको मेधावी क्षमताकै कारण कक्षा ७ देखि एसएलसीसम्म कहिल्यै प्रथम छोडेर दोस्रो हुनु परेन । सधैंको अबल पढाइका कारण शुल्क पनि तिर्नु परेन । गरिव परिवारमा जन्मेर हुर्कनु भएका तामाङ आफू पढ्दै र सहपाठी साथीहरुलाई पनि पढाउन सक्ने हैसियत राख्नु हुन्थ्यो । तामाङका अनुसार त्यतिबेला ट्युसन, कोचिङ क्लास र गाइड पेपर भन्ने त प्राय कसैलाई थाहा नै थिएन । अर्थात ट्युसन, कोचिङ र गेसपेपर वा गाइडजस्ता अध्ययनमा सहजिकरण गर्ने विधिहरुको विकास भइसकेको थिएन ।

परिवारमा धेरै दिदीहरुको जन्मपछि उहाँको जन्म भएको हो । गरिव परिवारमा जन्मेका कारण पूख्र्याैली सम्पत्ति थिएन भन्दा पनि हुन्छ । उहाँका पिता चन्द्रबहादुर पनि गाउँका चलेका गायक हुनुहुन्थ्यो । जसबाटै उहाँमा कलापट्टि मोह बस्यो ।

तामाङले अध्ययनसँगै कविता, निवन्ध लेख्दै विद्यालयले आयोजना गर्ने अतिरिक्त कृयाकलापजस्तै भानु जयन्ती, लक्ष्मी जयन्तीहरुमा आफ्ना सिर्जना पाठ गर्न थाल्नु भयो । ‘स्कुल छँदा कविता, निबन्ध र चित्रकलामा फस्ट भएर धेरै पुरस्कार थापेको छु ।’– उहाँले भन्नु भयो ‘कक्षा ८ मा पढ्दा कोरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको चित्र अहिले पनि स्कुलमै टाँसेर राखिएको रहेछ र त्यसमा लेखिराखेको छ, मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।’

एसएलसीपछि उच्च शिक्षाको लागि २०४२ मा काठमाडौं आउनु भयो । पहिलो पटक उहाँका आँखाले मोटरबाटो र गाडीहरु देखेको थियो । विज्ञान विषय पढ्ने धोको रहँदारहँदै आर्थिक अभावका कारण कानुन विषय छानेर पढ्न थाल्नु भयो । ललितपुर कुपण्डोलमा कोठा खोजेर तीन जना मिल्दै मासिक ७५ रुपैयाँ तिरेर बस्न थाल्नु भयो ।

आर्थिकअभावसँगै जागिरको खोजीमा लाग्नु भयो । लोक सेवाको परीक्षा दिएर उतीर्ण पनि हुनुभयो । साथसाथै पढाइलाई पनि निरन्तरता दिनुभयो । प्रविणता तह पूरा गरेपछि नेपाली सेनामा जुनियर अधिकृत पदमा भर्ना हुनुभयो । त्यसपछि निरन्तर २७ वर्ष सेनामा बिताउनु भयो ।

डा आशवहादुरसँग आफैले कोरेका दर्जनौ चित्रका ठेली छन् । २०५५ मा सिद्धार्थ आर्ट ग्यालरीमा आर्ट प्रदर्शनी नै गर्नु भयो । तामाङ भन्नुहुन्छ, ‘अलि अलि वाटर, आयल कलर, चारकोल, पेन्सिल कलर सबै चलाउँछु ।’

 

तामाङले ५८ सालमा ‘धन’ एल्वम ल्याउनु भएको छ । त्यो पनि वृद्ध आमा धनमाया तामाङको स्वरको साथमा । ‘आमा मरेर गए पनि स्वर बाँचि रहोस्, ठाडो भाका, दाँइको गीत, भजन, तीज गीत, झ्याउरेसमेतका आठ गीतको संगालो हो, ‘धन’ । तामाङले नेपालमा नै पहिलो पटक ठाडो भाका, ढिलो भाका र दाँइको गीतलाई रेकर्ड गराउनु भयो । यी भाकाको म्युजिक भिडियो पनि निर्माण भइसकेको छ । यो एल्वमले ५१ हजार रुपैयाँ राशीको ‘मधुरिमा फुलकुमारी महतो’ पुरस्कारसमेत पाइसकेको छ । एसएलसी उतीर्ण गरेको समयमा बुबाको निधन र केहीअघि आमा पनि गुमाउनु परेपछि आमाको स्मरणमा आत्मकथा ‘धन’ पनि प्रकाशन गर्नु भएको छ ।

उहाँले रचना गरेका गीतमा हालका लोकप्रिय गायकहरु स्वरुपराज र रामकृष्ण ढकालले गाएका छन् । जसको म्युजिक भिडियो तामाङ स्वयंले निर्देशन गर्नु भएकोछ । उहाँ भन्नुहुन्छ, ‘कर्तव्य र सृजना कहिल्यै मर्दैन, मार्नु पनि हुँदैन, एउटा हातले बन्दुक र अर्को हातले कलम चलाउन पनि सकिन्छ ।’ तामाङले चौकी भन्सार, क्याम्प फायरलगायतका एल्वम सार्वजनिक गरिसक्नु भएकोछ । उहाँका सिर्जनमा बनेका गीतमा चार दर्जन बढी रेकर्ड भइसकेका छन् ।

नेपालका सबै जिल्ला पुगिसक्नु भएका उहाँ त्यता पुग्दा स्थानीय रहनसहनको अध्ययनदेखि भाकाहरु टिप्ने र तिनीहरुलाई सिर्जना दिएर संग्रहित गर्दैआउनु भएकोछ ।