Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ८:५३ अपराह्न
दुई सय विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

पाकिस्तानले नेपालका १ सय २ विद्यालयका १ सय ९५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिभाशाली एकजना जेहेन्दार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराइएको छ । काठमाडौंमा आयोजित पाकिस्तानको १३ औं राजदूत वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा राजदूतावासले नेपाली विद्यार्थीहरूलाई “एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति’ वितरण गरेको हो । मुलुकभरबाट छानिएका योग्य र प्रतिभाशाली नेपाली विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।

नेपाल परिवार दलका अध्यक्ष तथा एमाले सांसद एकनाथ ढकाल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै राजदूत अबरार एच हाश्मीले पाकिस्तानले छात्रवृत्तिलाई निरन्तरता दिएको उल्लेख गरे । नेपालका उच्च माध्यमिक विद्यार्थीलगायत शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने जनाउँदै समारोहलाई विद्यार्थीको सफलताको उत्सव र साझा जिम्मेवारीको प्रतिबिम्ब भएको संज्ञा दिए ।

राजदूत हाश्मिहले भने, ‘नेपालीलाई अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिका क्षेत्रमा प्रोत्साहन गर्नु हाम्रो द्विपक्षीय सहयोगको अत्यावश्यक अंग हो ।’ पाकिस्तानले सन् २०१३ देखि पाकिस्तानको राजदूत छात्रवृत्ति कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

(जनआस्थाबाट)