देशको राजधानी काठमाडौंको पज्ञा प्रतिष्ठानको हलमा शनिबार (आज) साँझ ख्याति कमाएका करिव एक दर्जन चर्चित गायक–गायिकाले श्वर दिए । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) टेकवहादुर तामाङका रचनामा तयार भएका गीतहरुलाई एकै मञ्चमा राखेर प्रस्तुति दिइएको हो । पुराना र चर्चित गायक प्रदीपराज पाण्डेले अल्झिरह्यो याद बोलको गीत सुनाए । उनले गाएको यो गीत मधुकर लोहनीको संगीत र संगीत संयोजन मनोहर सुनाम रहेर यसअघि नै रेकर्डिङ भइसकेको छ ।
एआइजी तथा गीतकार तामाङका एक सयबढी गीत संग्रहित अर्थात रेकर्ड भइसकेका छन् । आमा बोलको गीत शिव परियार गाए । स्वरुपराज आचार्य, सत्यराज आचार्य, किशोर प्रधान, संगीता राना प्रधान, रेश्मा बमजन, डेभिड शंकर , अस्मिता अधिकारी र मेलिना राईसमेतले साँझमा प्रस्तुति दिए ।
गीतकार संघ, नेपालले आयोजना गरेको यो साँझको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँलाले गर्नु भएको थियो । बसन्त थापाको अध्यक्षताम भएको साँझमा गीतकार तथा साहित्यकार टेक तामाङको पारिवारिक बित्तचित्र पनि प्रस्तुत गरिएको थियो । स्वागत मन्तव्य राख्दै तामाङले प्रहरीमा रहेर काम गर्दा फुर्सदको समयमा आफ्ना मनका भावहरु गीतमार्फत राख्ने गरेको बताउनु भयो । इमेज तथा सगरमाथा अवार्डसमेतबाट सम्मानित हुनु भएका गीतकार तामाङ हाल राजधानी उपत्यका प्रहरी कार्यालयको प्रमुख रहनु भएको छ ।
देशका सुरक्षा निकाय, राजनीतिककर्मी, कर्मचारी, कलाकार, संगीतकारदेखि सर्वसाधारणसम्मको ठूलो भीड साँझमा जुटेको थियो । २०२७ साल असोज २९ गते भोजपुरको भोजपुुर नगरपालिका– २, हेलौछामा जन्मिनु भएका तामाङले एमविएसममको अध्ययन गर्नु भएको छ । २०५२ भदौंमा नेपाल प्रहरीको निरीक्षक पदमा भर्ना हुनु भएका तामाङ प्रहरीमा रहेर पनि निरन्तर लेखनमा व्यस्त रहिरहनु भएको छ ।
वरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले गीतकार तामाङको जीवनी प्रस्तुत गर्दै यस्ता स्रष्टाले नेपाली साहित्यको संरक्षण र सम्वद्र्धनमा ठूलो सहयोग पुग्ने बताउनु भयो । गीतकार तामाङले नयाँ अभ्यासको रुपमा महिलाले मात्र गीत गाएको ‘नाता’ एल्वम निकाली सक्नु भएको छ । उहाँले सिर्जना गरेका आधुनिक गीत ७ सयबढी छन् । राष्ट्रिय गीत १ सय ३२ वटाको संगालो नेपाल आमा र १ सय २३ वटा भजनको संगालो भक्ति सागर सार्वजनिक भइसकेका कृति हुन् ।
नेपाल सरकारको सुरक्षा निकायका विशिष्ट श्रेणीका कर्मचारीले रचना गरेका गीतको एकल साँझ भएकोले पनि प्रज्ञा भवनमा गीत र संगीत मन पराउने श्रोताको ठूलो भीड लागेको थियो ।