संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका युद्धरत देशमा शन्ति स्थापनार्थ खटिने सेनामा नेपाल पहिलो नम्बरमा आएको छ । नेपालपछि बंगलादेश र भारत धेरै सैनिक शान्ति सेनामा पठाउने देशमा पर्छन् । नेपालबाट हाल ५ हजार ९ सय १ जना नेपाली सैनिक शान्ति स्थापनार्थ खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । जसमा महिलाको संख्या करिव १० प्रतिशत अर्थात ५ सय ७१ जना रहेको छ ।
शान्ति सेनामा बंगलादेश, भारत, रुवाण्डा, पाकिस्तान, इजिप्ट, इन्डोनेसिया, चीन, घाना र इथोपियासमेतका देशका सेना सहभागी भइरहेका छन् । तीमध्ये बंगलादेशबाट ५ हजार ४ सय ८२ र भारतबाट ५ हजार २ सय २१ जना सहमागी छन् । नेपालपछि बंगलादेश र भारत अधिक सेना शान्तिसेनामा पठाउने देशमा पर्छन् । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाली सेनाले सन् १९५८ मा लेबनानमा ५ जना सेना पर्यवेक्षकको रुपमा पठाएर शान्ति सेनामा नेपाली सेनालाई पठाउन सुरु गरेको विगत छ । १९७४ मा पुुरानो गोरख गणबाट पहिलो पटक शान्ति स्थापनार्थ सेना खटिएका थिए ।
हालसम्म ४४ वटा मिसनमा नेपाली सेना सहमागी भइसकेको छ । र, अहिले ११ वटा देशमा नेपाली सेना शान्तिका लागि खटिएको प्रवक्ता सहायक रथी बस्नेतले जानकारी दिनु भयो । करिव ६७ वर्षको यो इतिहासमा नेपाली सेना १ लाख ५९ हजार ४ सय ३२ जना शान्ति सेनामा खटिसकेका छन् । जसमा ९ दशमलव ९५ प्रतिशत अर्थात ३ हजार ४ सय ७ जना महिला सैनिक खटिए । शान्ति सेनामा खटिएकै समयमा ७३ जनाको निधन भयो भने ६९ जना घाइते भएका थिए ।
‘विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाली सेनाको भूमिका’ विषयमा विद्यावारिधि गर्नु भएका पूर्व उपरथी डा आशवहादुर तामाङका अनुसार विश्वासनीय, व्यवसायिक र भरपर्दाे फौजको रुपमा नेपाली सेना रहेकोले संयुक्त राष्ट्रसंघको रोजाइमा नेपाली सेना पहिलो नम्बरमा आउने गरेको छ, जसकै कारण शान्ति स्थापनार्थ नेपाली सेना अन्य देशका सेनाभन्दा अधिक संख्यामा सहभागी भएका हुन् ।
पछिल्लो समय नेपाली सेना सैनिक कूटनीतिमा पनि सचेत रहँदै आएको पाइन्छ । सैनिक कूटनीति भन्नाले कुनै देशले आफ्ना सुरक्षा र परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न सेनाका माध्यमबाट अन्य मुलुकसँग गर्ने कूटनीतिक सम्बन्धलाई बुझिन्छ । यो कूटनीतिक अभ्यास परम्परागत कूटनीतिमा आधारित भए पनि यसको मुख्य स्रोत सेना वा रक्षासँग हुन्छ। विश्वका अन्य देशसित सैन्य सहकार्य र तालिम आदानप्रदान, सुरक्षा सम्बन्ध सुदृढ बनाउने, आन्तरिक सुरक्षा सुदृढीकरण, अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर स्वदेशको सुरक्षा बललाई सक्षम बनाउनेजस्ता काममा सेनाले पछिल्लो समय विशेष ध्यान दिएको पाइन्छ ।