असार १५ आइतबार, १०:४५ अपराह्न

जीविकोपार्जनको लागि अथवा आफैले उपयोग गर्ने गरी पालन गरिएको कुखुरा पालन व्यवसाय अब व्यवसायीकरण हुँदै अहिले पूर्ण प्रतिस्पर्धाको अवस्थामा प्रवेश भइरहेको अवस्था छ। हाल नेपालमा प्रतिदिन ३ हजार मेट्रिक टन कुखुराको दाना तथा प्रति हप्ता ३० लाख ब्रोइलर कुखुराको चल्ला उत्पादन हुने गरेको छ । त्यस्तै, यस क्षेत्रमा वित्तीय संस्थाबाट करीब १ खर्ब ५० अर्ब रुपैयाँको ऋण तथा त्यतिकै संख्यामा स्व–पूँजी लगानी भएको अवस्था छ।

-सुरेन्द्र सुवेदी

नेपालमा घरायसी कुखुरा पालन सदियौंदेखि चल्दै आएकोमा व्यवसायिक कुखुरा पालनको सुरुवात २०४० को दशकबाट सुरु भएको पाइन्छ।
हाल नेपालमा विभिन्न प्रकारका कुखुरा पालन गरिन्छ। मासुको लागि ब्रोइलर कुखुरा, अण्डाको लागि लेयर्स कुखुरा, चल्लाको लागि ब्रिडर्स कुखुरा र साथै स्थानीय स्तरमा लोकल कुखुराहरु, गिरिराज, कोइलरसमेत पालन गर्ने गरिएको छ।

जीविकोपार्जनको लागि अथवा आफैले उपयोग गर्ने गरी पालन गरिएको कुखुरा पालन व्यवसाय अब व्यवसायीकरण हुँदै अहिले पूर्ण प्रतिस्पर्धाको अवस्थामा प्रवेश भइरहेको अवस्था छ। हाल नेपालमा प्रतिदिन ३ हजार मेट्रिक टन कुखुराको दाना तथा प्रति हप्ता ३० लाख ब्रोइलर कुखुराको चल्ला उत्पादन हुने गरेको छ । त्यस्तै, यस क्षेत्रमा वित्तीय संस्थाबाट करीब १ खर्ब ५० अर्ब रुपैयाँको ऋण तथा त्यतिकै संख्यामा स्व–पूँजी लगानी भएको अवस्था छ।

हाल नेपालमा प्रति व्यक्ति मासुको खपत वार्षिक ७ केजी छ भने अण्डाको खपत करिब ६५ वटा रहेको छ । नेपालमा अण्डाको खपत भारतको भन्दा आधा छ भने मासुको खपत दुई गुणा बढी छ । एसिया महादेशको औसत खपतबराबर नेपालको खपतलाई पुर्याउने हो भने मासु र अण्डाको उत्पादन दुई गुणा गर्नुपर्ने अवस्था रहेको छ । नेपालमा हाल करीब २ हजार जना लेयर्स कुखुरा पालक किसान रहेका छन् भने करीब २५ हजारको हाराहारीमा ब्रोइलर कुखुरा पाल्ने किसानहरु रहेका छन् ।

कुखुरा पालन व्यवसायबाट करीब १ लाख जतिले प्रत्यक्ष रुपमा रोजगारी पाएको र करिब ३ लाखले अप्रत्यक्ष रुपमा रोजगारी पाएको अवस्था छ। पोल्ट्री व्यवसायले नेपालको कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत हिस्सा ओगटेको छ भने कृषि उत्पादनको करिब १२ प्रतिशत हिस्सा ओगटेको छ । यो व्यवसाय खास गरेर ग्रामीण तथा अर्बान क्षेत्रका नागरिकहरुको लागि स्वरोजगारको राम्रो स्रोत बन्न सक्छ।

कुखुराको मासुको मूल्य हेर्ने हो भने विगत एक दशकदेखि खासै वृद्धि भएको देखिदैन। यद्यपि, सम्पूर्ण जसो वस्तुको मूल्य वृद्धि हुने गरेको छ । राष्ट्रको विकासको लागि स्वस्थ नागरिकको आवश्यकता पर्छ। स्वस्थ नागरिकको लागि उचित खानाको आवश्यकता हुन्छ, जसको लागि चाहिने आवश्यक प्रोटिन कुखुराको मासु तथा अण्डाबाट प्राप्त हुने हुँदा केही वर्षयता हेर्ने हो भने नेपालीहरुको औसत हाइट बढेको छ र आयु पनि लम्बेको छ । स्वस्थ नागरिकले मात्र देशको विकास सम्भव भएको हुँदा अण्डा र मासुको खपतबाट स्वस्थ नागरिकको उत्पादनमा सहयोग हुनाले यसले देशको विकासमा पनि टेवा पुर्याउने गरेको छ।

नेपालमा उत्पादन हुने कुखुरा तथा अण्डाको उत्पादनमा प्रयोग हुने प्रविधि, स्रोत साधन आदि विश्वमा विकसित देशले प्रयोग गर्ने प्रविधिको हाराहारीमा छ। त्यसैगरी नेपालमा उत्पादन हुने मासु तथा अण्डाको गुणस्तर अमेरिका, युरोपलगायतका विकसित देशमा उत्पादन हुने मासु तथा अण्डाको गुणस्तरको बराबर छ ।

कहिलेकाहीं अज्ञानतावश राष्ट्रिय तथा स्थानीय स्तरका सञ्चार माध्यमहरुबाट प्रकाशित हुने कुखुरासम्बन्धी गलत जानकारीका कारण आम उपभोक्तामा नकारात्मक असर पर्ने गरेको र सोको कारण कुखुरा उत्पादक व्यवसायीहरु मारमा परिरहेको अवस्था पनि देखिन्छ । यसैगरी खुला सीमानाको कारण भारतबाट चोरी निकासी भएर आउने कुखुरा, चल्ला तथा अण्डाको कारणले पनि यहाँका किसानहरु मारमा परेका छन् । हाल नेपाल कुखुराको दाना, चल्ला, अण्डा आदिको उत्पादनमा राष्ट्रिय रुपमा आत्मनिर्भर रहेको छ ।

विगत वर्षहरुमा दाना उत्पादन गर्ने कच्चा पदार्थ सम्पूर्ण जसो विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा हाल केही वर्षयता मुख्य कच्चा पदार्थको रुपमा रहेको मकै नेपालको उत्पादनले करिब ८० प्रतिशत पूरा गर्ने अवस्थामा पुगेको छ । व्यवसायिक कुखुरा पालन उच्च नस्लका कुखुराहरुबाट अण्डा तथा मासुको उत्पादन गरिने हुँदा सोको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ।

दक्ष जनशक्तिले मात्र राम्रो हेरचाह तथा उचित स्याहार तथा सम्भारबाट गुणस्तरीय उत्पादन गरी उचित प्रतिफल प्राप्त गर्न सक्ने सकिन्छ । यस्तो बहुउपयोगी कुखुराको मासु तथा अण्डाको खपत बढाउनको लागि विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गर्ने र तत्सम्बन्धी सम्बन्धित निकायमा जानकारी गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सके हाल खपत भइरहेको अण्डा तथा मासुको खपत दुई गुणा वृद्धि गर्न सक्ने अवस्था देखिन्छ ।

कुखुरा पालन व्यवसायको लागि मुख्य चुनौती भनेको विदेशबाट चोरी पैठारी गरी आउने पोल्ट्रीजन्य वस्तुहरु हुन् । जसको कारण यहाँका किसानले आफ्नो उत्पादनको उचित मूल्य लिन सकिरहेका छैनन् । विदेशबाट आयात भएका अस्वस्थ चल्ला, कुखुरा,मासु आदिबाट यहाँका कुखुरामा रोग सर्ने भएकोले व्यवसायीले नोक्सानी बेहोर्नु परिरहेको अवस्था छ । चोरी पैठारीलाई नियन्त्रण गर्न सकिएन भने नेपालको कुखुरा पालन व्यवसाय अत्यन्त धरापमा पर्ने अवस्था देखिन्छ । तसर्थ राष्ट्रिय रुपमा आत्मनिर्भर रहेको यो कुखुरापालन व्यवसायलाई संरक्षण, संवद्र्धन र विकास गर्नु सबैको कर्तव्य हुन आउँछ ।