म आगामी अर्थात १२ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुँ । म दुई दशकसम्म नेविसंघमा सक्रिय भएर लागिरहेको छु । मेरो विवेक र वृद्धिले भ्याएसम्म संघको उन्नयनमा समय खर्च गरेको छु । अहिले नेविसंघमा रहने उमेरको सीमा ३२ वर्ष तोकिएको छ । अब हुने महाधिवेशनपछि हाम्रो पुस्ता नेविसंघमा रहन सक्दैन, उमेरका कारण । मसहित हाम्रो पुस्ता प्राकृतिक रुपमा आगामी महाधिवेशनमा नेतृत्व लिन अघि बढ्छ नै । लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण म अध्यक्ष बन्नेछु । र, सबै साथीहरुलाई साथमा लिएर सफल नेतृत्व प्रदान गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।

भूपेन्द्र सिंं थेबे अहिले नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य हुनुहुन्छ । सुदूर पूर्वको ताप्लेजुङमा जन्मिएर झापाको वुद्धशान्ति– ४ मा हुर्कनु भएका उहाँ २०६६ सालदेखि निरन्तर नेविसंघको राजनीतिमा संलग्न रहँदै आउनु भएको छ । झापाको बर्ने माद्यमिक विद्यालयबाट एसएलसी, बिर्तामोडको गोमेन्द्र उच्च माविबाट प्लस टु र मेची क्याम्पसबाट स्नातक उतीर्ण गर्नु भएका उहाँ हाल स्नाकोत्तर अध्ययनरत रहनु भएको छ । नेविसंघमा गोमेन्द्र उच्च माविको इकाई सभापति, झापाको जिल्ला सदस्य दुई पटक, जिल्ला सहसचिव, उपाध्यक्षहुँदै अहिले केन्द्रीय सदस्य रहनु भएको छ । उहाँसित कल्पवृक्षका लागि सूचना र प्रविधि सम्पादक सुजन सुवेदीले गरेको कुराकानीको संपादित अंश ।

तपाईँ कसरी नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भयो ?
क्याम्पस पढ्दा पाठ्यक्रमबाहिरका पुस्तकहरु पनि पढ्ने अवसर पाएँ । मलाई राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यता मन प¥यो । यस्तो मान्यता नेपाली काङ्ग्रेसले लिएको हुँदा म नेपाली काङ्ग्रेसलाई मन पराउन थालें । र, काङ्ग्रेसको विद्यार्थी संंगठन नेविसंघमा आवद्ध हुन पुगें ।

नेविसंघमा कुनकुन समितिमा रहेर काम गर्नु भयो ?
म २०६६ मा नेविसंघमा आवद्ध भएपछि म पढ्ने गोमेन्द्र उच्च मावि, बिर्तामोडको इकाई सभापति बने । त्यसपछि नेविसंघको झापा जिल्ला समिति सदस्य दुई पटक भएँ । अनि, जिल्ला समितिको सहसचिव, उपाध्यक्ष बनेर काम गरें । त्यसपछि केन्द्रीय कार्यसमितिमा पुगें ।

संघको केन्द्रीय सदस्य हुनुहुन्छ, अबका योजना के छन् ?
२०६२÷०६३ को आन्दोलनले राज संस्था हटाएर गणतन्त्र ल्याएपछि विद्यार्थी आन्दोलनको एक चरण पूरा भयो । अब, विद्यार्थी आन्दोलन भनेको आधुनिक शिक्षासँग जोडेर अघि बढ्नु पर्छ । देशबाट हजारौंको संख्यामा युवायुवति उच्च शिक्षा लिन बिदेश गइरहेका छन् । जसले देशमा दक्ष्य जनशक्ति कम हुँदै गएको छ ।
हाम्रो शैक्षिक स्थिति परिवर्तन नभएको कारण दक्ष्य जनशक्ति उत्पादन हुन पाइरहेको छैन । तसर्थ विद्यार्थी संगठनहरुले अध्ययन तथा अनुसन्धान गरेर विदेश अध्ययन गर्न नजाने वातावरण बनाउनु पर्छ । विदेशिने विद्यार्थीको चाहनानुसार देशमै रहने वातावरण बनाउनु पर्छ । आधुनिक शिक्षा पद्धतिसित जोडिँदै अघि बढ्न सक्नु पर्छ । नेविसंघले दक्ष्य जनशक्ति उत्पादन गर्न सरकारलाई दवाव पनि दिनुपर्छ र त्यो दिन्छ पनि । शैक्षिक सुधारका काममा नेविसंघ लागिरहन्छ । म यी र यस्ता कामका लागि मेरो वुद्धि र विवेक खर्च गर्दै अघि बढ्छु ।

नेविसंघको संगठन विस्तारका लागि के गर्नु भयो ?
म नेविसंघको संगठन विस्तार भनौं वा जिल्लातहमा नेविसंघको अवस्था कस्तो छ, त्यसको अध्ययन गर्न देशका ६५ जिल्ला पुगिसकेको छु । समग्रमा देशभर नेविसंघको सांगठानिक अवस्था राम्रो छ ।

१२ औं महाधिवेशन किन ढिला भएको हो ?
यसमा विविध कारण छन् । २०७५ पछि महाधिवेशन हुन सकेको छैन । तदर्थ समितिबाट काम भइरहेका छन् । नेविसंघको विधान तयार छ तर नेपाली काङ्ग्रेस अर्थात माउ पार्टीबाट त्यो पारीत भइसकेको छैन । महाधिवेशन जतिसक्दो छिटो गर्नुपर्छ । अब नयाँ मिति तय गरेर महाधिवेशन नगरेको खण्डमा तदर्थ समिति नै भङ्ग हुने अवस्था आउन सक्छ । यसमा पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय उचित समयमा लिन्छ भन्ने लाग्छ ।

आगामी महाधिवेशनमा कुन पदमा उमेद्वारी दिँदै हुनुहुन्छ ?
म आगामी अर्थात १२ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुँ । म दुई दशकसम्म नेविसंघमा सक्रिय भएर लागिरहेको छु । मेरो विवेक र वृद्धिले भ्याएसम्म संघको उन्नयनमा समय खर्च गरेको छु । अहिले नेविसंघमा रहने उमेरको सीमा ३२ वर्ष तोकिएको छ । अब हुने महाधिवेशनपछि हाम्रो पुस्ता नेविसंघमा रहन सक्दैन, उमेरका कारण । मसहित हाम्रो पुस्ता प्राकृतिक रुपमा आगामी महाधिवेशनमा नेतृत्व लिन अघि बढ्छ नै । लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण म अध्यक्ष बन्नेछु । र, सबै साथीहरुलाई साथमा लिएर सफल नेतृत्व प्रदान गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।