Advertisement GIF
कल्पवृक्ष
असार १७ मंगलबार, ८:५७ अपराह्न
राजधानीमा ‘सुरेन्द्र दाइ’ को नमूना कौशी खेती

देशको राजधानी काठमाडौंको बिशालनगरमा रहेको एक घर भूईँतलादेखि तीनतलामाथि छतसम्म तरकारी, जडिबुटीदेखि फलफूलका बोट र बिरुवाले ढकमक्क ढाकेको छ । झण्डै एक दशकदेखि यो घरबाहिरको भाग खालि देखिन्न । सबै ठाउँमा कुनै न कुनै बिरुवा गमलामा रोपिएकै छन् । र, यसबाट एक परिवारले तरकारी सम्भवत : किनेर खानु परेको छैन ।

यो हो, पाँचथरको च्याङथापूका स्थायी बासिन्दा सुरेन्द्रप्रसाद तिम्सिनाको मिहेनतको उपलब्धी । यहाँ साग, काउली, बन्दा, करेला, मेवा, अम्बक, अकबरे खोर्सानी, फर्सीदेखि दारिम, अनार, अंगुर, एभोकार्डाे, ड्रागन फ्रुट, आँप, स्टाबेरीमात्र होइन बिदेशबाट ल्याइएका महंगा जडिबुटी पनि रोपिएका छन् ।

‘मैले गनेको त छैन, एक सय प्रकारभन्दा धेरै जातका तरकारी, फलफूल, जडिबुटी संकलन गर्दै रोपेको छु, र सिजन नभएको समयबाहेक तरकारी किनेर खानु परेको छैन ।’– सुरेन्द्रले भन्नु भयो । उहाँले बर्णशंकर जातका काँक्रोदेखि हिउँदको समयमा आलुसमेत फलाएर खाँदै आउनु भएको छ ।

सुरेन्द्र दाइको दैनिकी बिहान उठेदेखि यिनै बिरुवाको हेरचाहमा बित्ने गरेको छ । गोडमेल, सिचाईँ, रोपणमा फुर्सदको समय सदुपयोग भइरहेको उहाँको भनाइ छ । अहिले परिवारमा चार जनामात्र हुनुहुन्छ । यो कौशी खेतीले परिवारलाई प्राय तरकारी किन्नु नपरेको उहाँकी श्रीमति कल्पनाले बताउनु भयो ।

‘पाहुनाहरु आएको समयबाहेक तरकारी किन्न बाहिर जानु नपरेको उहाँ बताउनु हुन्छ । उहाँहरुको कौशीमा अहिले पनि गोलभेंडा (टमाटर) लटरम्म पाकेको देखिन्छ । टिप्दा बिग्रने डरले बोटमै २÷४ दिन रहन्छ भनेर नटिपेको उहाँहरु बताउनु हुन्छ । यसको अर्थ प्रयोग गरेर पनि पर्याप्त तकारी कौशीमा रहेको बुझ्न सकिन्छ ।

सुरेन्द्र दाइले बर्मा, भारत, चीन, बेलायत, जापानसमेतका देशका रैथाने र विकसित गरिएका फलफूल, जडिबुटीदेखि तरकारीसम्म संकलन गर्नु भएको हो । केहीअघि क्यान्सरजस्तो घातक रोगबाट पीडित बन्नु भएका उहाँलाई भेट्न आउने शुभचिन्तकहरुलाई ईच्छाएको अवस्थामा गमलामा रोप्न बिरुवा पनि दिनु हुन्छ ।

ड्रागन फ्रुट सेतै फुलेको छ । यो करिव २० हजार रुपैयाँको फल्ने सुरेन्द्र दाइले विश्वास लिनु भएको सुनाउनु भयो । कहिलेकाहिँ बाँदर आएर दुः ख दिन्छ, हैन भने कौशी खेतीमा त्यस्तो कुनै समस्या नभएको उहाँहरुको भनाइ छ ।

सुरेन्द्र दाइको अर्काे पहिचान भनेको नेपाली काङ्ग्रेसका पूराना नेता हुनुहुन्छ । सामाजिक क्षेत्रमा सक्रिय उहाँ काङ्ग्रेसको जिल्ला तहका सबै समितिमा रहेर महासमिति सदस्य र नेपाल सांस्कृति कलाकर्मी संघको केन्द्रीय महासचिव पनि भइसक्नु भएको छ ।