प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार अब नेपालबाट चीनमा राँगा–भैँसीको मासु निर्यात गर्न सम्झौता भएको छ । चीन र नेपालबीच चीनको सांघाई जियान फुड प्रालि र नेपालको हिमालयन फुड इन्टरनेसनलबीच नेपालबाट राँगा–भैँसीको मासु निर्यात गर्ने सम्झौता भएको हो ।
चिनियाँ कम्पनी जियानले नेपाली कम्पनी हिमालयन फुडमार्फत नेपालमा राँगा–भैँसीपालन, मासु प्रशोधन र निर्यातका लागि आवश्यक खर्च गर्नेछ भने व्यावसायिक भैँसीपालन, नश्ल सुधार, अन्तर्राष्ट्रियस्तरको बधशाला निर्माण, मासु प्रशोधन हुने उद्योग स्थापनालगायतमा लगानी पनि उसकै जिम्मामा गरिने छ । जियान मासु प्रशोधन तथा बिक्री गर्न ६ हजारबढी स्टोर रहेका छन् ।
प्रधानमन्त्री ओलीको हालै भएको चीन भ्रमणमा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्नेसम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको थियो । यो नेपाल चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोसेढुंगाका रूपमा रहेको मानिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालको प्रशोधित भैँसीको मासुको उत्पादन चीनलाई निर्यात गर्ने परयोजनाका लागि रणनीति सहयोगको ‘गेम चेजिङ’ हस्ताक्षरण भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यस आयोजनाले नेपालमा एक खर्ब रुपैयाँभन्दा बढी लगानीको भैँसीपालन उद्योग खुल्ने र हजारौँ ग्रामीण परिवारलाई लाभान्ति हुने उनले उल्लेख गरेका छन् ।