Advertisement GIF
कल्पवृक्ष
असार २६ बिहीबार, ९:४९ पूर्वाह्न
गीत गाएर मध्यमस्तरको जीवन बाँच्न सकिन्छ : पदम राई, गायक

पूर्व क्षेत्र अर्थात अरुणपूर्वका नौं जिल्लादेखि पालिकासम्म हुने महोत्सव, मेला तथा सांस्कृतिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएका छन् पछिल्लो पुस्ताका गायक पदम राई ।

चार वर्षअघि उनले गाएको ‘यसो हेरें पूर्वतिर किन किन मनै लोभ्यायो’ बोलको गीतका कारण पनि हुनसक्छ, उनलाई पूर्वका दर्शक र श्रोतले औधी माया गर्दै आएका छन् । यो गीतको भिडियोमा नायक दयाहाङ राई र एलिसा राईले मोडलिङ गरेका छन् । पदमको यो गीत पूर्वका कार्यक्रमअरुका अन्य गायकले पनि गाउने गरेका छन् ।

पछिल्लो समय पदम राई युट्युब च्यानलमा आफ्ना गीत अपलोड गर्दै आएका उनी युट्युबबाट पनि नगद हात पार्ने कलाकारमा गनिन्छन् ।ं उनले गाएको एक गीत २ करोड ३० लाख, २ करोड २० लाखसम्म हेरिएका अर्थात भ्युज भएका छन् । ‘गायनबाट र युट्युबबाट आएको पैसाले मध्यमस्तरको जीवन बाँच्न समस्या छैन ।’ उनले भने । गीत भनेपछि हुरुक्कै हुने उनी गाउँमा रहँदा प्रदीपराज पाण्डे, राजेशपायल राईजस्ता चलेका गायकको गीतका एल्बम किन्न पैसा नभएर गाउँघरमा कृषि कामका लागि मेलापातमा जाने र दैनिक २५ रुपैयाँसम्म कमाएर क्यासेट किन्दै गीत सुनेको स्मरण गर्छन् ।

पूर्वको बिकट ताप्लेजुङ जिल्लाको नाङखोल्याङ हालको पाथिभरा गाउँपालिका– १ मा बुबा देउकुमार र आमा इन्द्रमायाका आठ सन्तानमध्ये पदम चौथो हुन् ।उनले गाउँमै प्राथमिक, सुनसरीको धरानबाट एसएलसी र प्लस टु उतीर्ण गरे । त्यसपछि गीत गाउन सिक्न र गाउन राजधानी पसेका उनी गायन सिक्दै २०७० मा यो जन्म एल्बम निकाले । यसमा पूर्वेली, लोक र आधुनिक ७ वटा गीत रहेका थिए । राम्रीमा राम्री तरुनी, लुकीलुकी हेर्छु तिमीलाई र यो जन्म त यस्तै भयो बोलका गति रहेका छन् । यी गीत पूर्वमा मन पराइएका हुन् ।

अर्काे वर्ष यो जन्म २ एल्बम निकाले । ६ वटा गीत रहेको यसमा फुल टिपें काँडा वनको, कहिले टिप्ने तिम्रो मनको र तिम्रो यादमा बित्छन् अचेलबोलका गीत समेटे । त्यसपछि एल्बमको जमाना नै सकियो । अनि उनी मोडिए युट्युब च्यानल र स्टेज कार्यक्रमहरुतर्फ ।

एल्बम निकालेको १० वर्षपछि ‘तिम्रो नजिक आएर भूल गरें कि ठीक गरें’ बोलको गीत गाए । यो गीत ट्रेण्डिङमा प¥यो । यो गीतलाई युट्युबमा २ करोड २७ लाखले हेरे । अनि गाएको ‘के गुलियो छ र सक्खर र चिनी’ बोलको गीतको २ करोड बढी भ्युज छ । कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । जागिर खान्छु सरकारी अड्डामा बोलको गीतमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको अभिनय रहेको छ । उनले युट्युबमा पोष्ट गरेका अन्य गीतहरु प्राय एक करोडको हाराहारीमा हेरिएका छन् ।

पदमले लोक, आधुनिक र चलचित्रका १ सय ५० बढी गीत गाइसकेका छन् । दैनिक १० घण्टासम्म गीत रेकडिङ, म्युजिक र गायनमै व्यस्त रहने उनी मध्यमस्तरका गायकले गुजाराका लागि अन्यत्र भौतारिनु नपर्ने बताउँछन् । ‘गीत गाएर नै करिव २ दशक गुजारा चलेको छ र चल्छ नै ।’ उनले भने ।

गीत गाउन कोरिया, हङकङ, सिंगापुर, दुवई, कुवेत, भारतका सिक्किम, दार्जिलिङ, असामसम्म पुगेका पदम आगामी साउनमा गीत गाउन कै लागि बेलायत जाने तयारीमा जुटेका छन् । तीन वटा म्युजिक भिडियोको तयारीमा ब्यस्त रहेको बताउने उनले सरकार र राज्यका तर्फबाट कलाकार अर्थात रंगकर्मीलाई सम्मान गर्दै गुजाराका लागि केही व्यवस्था गरेको खण्डमा उनीहरुको मनोबल बढ्ने र जिउने आधार पनि तय हुने धारणा सुनाउँछन् ।