Advertisement GIF
मनसुनको अवस्था अध्यावधिक : सरदरभन्दा ६५ प्रतिशत बढी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले असार १७ देखि असोज १४ सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू– भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ । विभागले कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

गत जेठ १८ देखि असोज १४ सम्मको ४ महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने आकलन सार्वजनिक भएको थियो । अहिले मनसुनको हावापानीको अवस्था अद्यावधिक गर्दै विभागले नयाँ आकलन सार्वजनिक गरेको हो । जसअनुसार कर्णाली प्रदेशको पूर्वी भू– भाग, लुम्बिनीको उत्तरी भू– भाग र गण्डकीको अधिकांश भू– भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना विगतको आकलन झैँ ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भू– भाग, लुम्बिनीको पश्चिमी भू– भाग, गण्डकीको उत्तरपूर्वी भू– भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू– भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । सुदूरपश्चिमको उत्तरी भू– भाग, लुम्बिनीको दक्षिणपूर्वी भू– भाग, बागमतीको दक्षिणी भू– भाग र कोशी प्रदेशको मध्य भू– भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

कोशी प्रदेशका दक्षिणी भू– भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छभने मधेस प्रदेशका मध्य तथा पूर्वी भू– भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखिदेखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । उक्त अद्यावधिक आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना तथा उत्पादन गर्ने केन्द्रको हावापानीको प्रारुपहरूको आकलन र साउथ एसियन सेसन क्याइमेट आउटलुक फोरकको आकलनका आधारमा गरिएको हो ।

नेपालको मनसुन ऋतुको जलवायु प्रभाव पार्ने पूर्वी प्रशान्त महाशाखामा विकसित हुने एल्निनो र साउदर्न ओसिलिएसन तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिपोलको हालको अवस्था तथा जलवायु प्रारुपको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुन ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनका कारकहरूका आधारमा आकलन गर्ने गरिएको छ ।