डाक्टर आशबहादुर तामाङ नेपाली सेनामा करिव ४ दशक सेवा गरेर हालै निवृत्त हुनु भएको छ । विश्वका १५ बढी देश पुगेर नेपाली सेना र विश्व शान्ति स्थापनार्थ खटिएर लामो अनुभव बटुल्नु भएका उहाँ कूटनीतिमा दख्खल राख्ने सेनाका पूर्व उच्च अधिकृत अर्थात उपरथीका रुपमा चिनिनु हुन्छ। उहाँले ‘संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको भूमिका’ विषयमा विद्यावारिधी गर्नु भएको हो । पछिल्लो समय देशमा सैनिक कुटनीतिको चर्चा हुन थालेको छ । देशको कूटनीति र सेनिक कुटनीतिका विषयमा केन्द्रीत रहेर कल्पवृक्षका लागि सुरेन्द्र सुवेदीले नेपाली सेनाका उपरथी (अवकास प्राप्त) डाक्टर आशबहादुर तामाङसित गरेको कुराकानीको संपादित अंश ।
कूटनीति भन्नाले के बुझिन्छ ?
सामान्य बोलिचालीको भाषामा भन्ने हो भने कुटनीति भन्नाले कुनै कार्य या वार्ता सम्पादन गर्दा ठाडो र खरो भाषाको प्रयोग नगरी नरम र मिजासिलो भएर गर्ने कला हो । दुई पक्षीय या बहुपक्षीय हितका लागि आपसी समधुर सम्बन्ध स्थापना गर्न, विस्तार गर्न तथा समस्याको शान्तिपूर्ण समाधान गर्न प्रभावकारी संवाद गरिन्छ । अन्तराष्ट्रिय सम्वन्ध राख्न, प्रवद्र्धन गर्न कुनै पनि देशले राष्ट्र हितका लागि कूटनीतिको प्रयोग गर्दछ ।
त्यसो भए सैनिक कूटनीति भनेको के हो ?
सैनिक कूटनीति देशको कूटनीतिको महत्वपूर्ण हिस्सा हो । अन्तराष्ट्रिय सम्वन्धमा सैनिक कूटनीतिलाई रक्षा कूटनीतिको मुख्य हिस्सा मान्न सकिन्छ । उपलब्ध सैनिक स्रोत साधन, रणनीति एवं दक्ष्य सैनिक कूटनीतिज्ञहरुको प्रयोग गरी राष्ट्रको हितमा कूटनीतिक उदेश्य हासिल गर्न शान्तिपूर्ण तवरले दुई पक्षीय या बहुपक्षीय अन्तराष्ट्रिय सम्वन्धलाई स्थापना गर्न, विस्तार गर्न र थप प्रभावकारी बनाउन सैनिक कूटनीतिको प्रयोग भएको पाइन्छ । देशले आफ्नो सुरक्षा र परराष्ट्र नीतिका लक्ष्यहरु हासिल गर्न आफ्नो सुरक्षा फौज अर्थात सेनामार्फत अन्य देशको सेनासित कूटनीतिक गतिविधि सञ्चालन गर्दछ । शक्तिशाली राष्ट्र जस्तै अमेरिका,बेलायत, चीन, भारतसमेतका देशहरुले रक्षा कूटनीतिसमेतको प्रयोग शीतयुद्धकालदेखि नै गर्दै आएको पाइन्छ ।
नेपाली सेनामा उपरथी दर्जा पदमा पुगेर अवकास हुनु भएको तपाईँको कूटनीति एवं सैनिक कूटनीतिको अनुभव के छ ?
मैले राजनीति शास्त्रको अन्तराष्ट्रिय सम्वन्धसँग सम्वन्धित विषय संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना गर्ने कार्यमा नेपाली सेनाको भूमिका (सन् १९५८ देखि २००९) विषयमा सन् २०११ मा विद्यावारिधी गरेको छु । साथै तीन वटा युएन मिसन र अमेरिकाको ट्वीन टावरमा आतंककारी हमलापछि सन् २००१ मा अमेरिकाको फ्लोरिडाको आतंकवादविरुद्ध लड्न सेन्टर कमाण्डमा अप्रेसन इनड्युङि फ्रिडमका लागि स्थापित कोलिसन भिलेजमा सन् २०१२ देखि २ वर्षबढी नेपालका तर्फबाट सिनियर नेशनल रिप्रिजेन्टेटिभ (एसएनआर) र युएन सेन्ट कममा जे ५ अन्तर्गत कम्बाइण्ड प्लानिङ ग्रुपमा स्टाटेजिक अफिसरको रुपमा काम गरेको थिएँ ।
त्यसैगरी अमेरिका, बेलायत, चीन, भारतजस्ता १५ भन्दा बढी देशमा विभिन्न तालिम, सेमिनार, विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यमा खटिएको थिएँ । नेपाली सेनामा करिव ३७ वर्षको कार्यकालमा कमाण्ड, प्रशिक्षक, स्टाफ तथा सुरक्षा जिम्मेवारीमा खटिँदा सैनिक सहचारीजस्तो प्रत्यक्ष सैनिक कूटनीति युनिफिलको चिफ जेनायन (सिमिक) एवम् नेपालको तर्फबाट खटिएका ८७० जना फौजको सिनियर नेशनल अफिसरको कार्य तथा जिम्मेवारी सैनिक कूटनीतिज्ञसरहकै रुपमा कार्य सम्पादन गरेको थिएँ ।
सैनिक कूटनीतिमा नेपाली सेनाको भूमिका कस्तो छ ?
नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारीका साथै युएनमार्फत विश्व शान्ति स्थापना गर्ने, विकास निर्माण गर्ने, आन्तरिक शान्ति सुरक्षा कायम गर्ने, प्रकृति संरक्षणजस्ता महत्वपूर्ण कार्य सम्पादन गर्दै आएको छ । नेपाली सेनाले द्वितीय विश्वयुद्धमा खटिएका नेपाली फौजको आवश्यक समन्वय गर्न सन् १९४५ ताका सैनिक सहचारीको रुपमा नयाँदिल्लीमा सैनिक अधिकृत खटाउन सुरु गरेकोमा हाल ५ वटा मित्रराष्ट्रमा सैनिक सहचारी खटिएका छन् ।
नेपाली सेनाले सफल कूटनीति सञ्चालन गरी निम्न कार्य सम्पादन गर्दै आएको छ ।
क, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागिता (हाल नम्बर १ )
ख, सैनिक सहचारी
ग, संयुक्त सैनिक अभ्यास (जस्तै सूर्यकिरण शान्ति प्रयास)
घ, सैनिक तालिम तथा सेमिनारमा सहभागिता आदानप्रदान, विपद् व्यवस्थापन र मानवीय सहयोग
ङ, चिफ कन्केभ तथा कमाण्डर्स कन्फ्रेन्स
च, रक्षा तथा सैनिक उच्चस्तरीय भ्रमण
छ, रक्षा प्रविधि सहकार्य र दुई पक्षीय तथा बहुपक्षीय छलफल
ज, संयुक्त राष्ट्रसंघको स्थायी आयोग न्युयोर्कमा सैनिक सल्लाहकार
झ, एनसिसी राष्ट्रिय सेवा दलको युथ एक्सचेन्ज प्रोग्राम
२०७२ को भूकम्पबाट पीडितअवस्थामा मित्रराष्ट्र भारतले लगाएको अघोषित नाकाबन्दी खोल्न नेपाली सेनाको सैनिक कूटनीतिले महत्वपूर्ण भूमिका खेलेको बारे भनिरहन नपर्ला । त्यसैगरी नेपालका सरकार प्रमुखको भ्रमण नभइरहेको हालको अवस्थामा समेत नेपाली सेनाका प्रधानसेनापतिको भारत भ्रमणले नेपाली सेनाको सैनिक कूटनीतिको औचित्य र प्रभावकारीता पुष्टि गरेको देखिन्छ ।
शैनिक कुटनीतिमा सरकारको दायित्व के हुन्छ ?
मैले माथि उल्लेख गरिसकेको छु । देशको कुटनितीकै महत्वपुर्ण कुराका हिस्साको रुपमा शैनिक कुटनिती हुने भएकाले रक्ष तथा सुरक्षा फौजलाई अझ सक्षम र प्रभावकारी तथा समयसापेक्ष आधुनिकरण गर्न साथै शैनिक कुटनितीको रुपमा नेपाली सेनाले गर्दै आएको कार्यलाई प्रभावकारी बनाउन अत्यावश्यक सम्पुर्ण सहयोग तथा समन्वय नेपाल सरकारले गर्नुपर्दछ । उदाहरणको रुपमा नेपालको परराष्ट्र नितीलाई कार्यान्वयनमा ल्याउन साथै नेपाललाई संसारमा शान्ति शैनिक खटाउने देश भनेर चिनाउने नेपाली सेनाको सहभागीता प्रभावकारी रुपमा वढाउन श्रोत साधन सम्पन्न गराई नेपाली सेनाले मात्रै होइन नेपाल सरकारले त्यसको जिम्मेवारी लिनुपर्दछ ।
त्यसैगरी नेपाली सेनाको फौज सहभागीताको तुलनामा युएनमा उच्च तहको जिम्मेवारी दिलाउन थप राजनीतिक लविङ गर्नुपर्दछ । रसिया, फ्रान्स सरोकार रहेका देशमा श्रोत साधन सम्पन्न गराई शैनिक सहचारी विस्तार गर्न उपयुक्त देखिन्छ । यसका साथै रक्षसंग सम्बन्धित विषयमा अत्यावश्यक प्रभावकारीता वढाउन थिंक ट्यांकको व्यवस्था गर्ने ।
सेना, सरकारबाहेक कुटनितिक क्षेत्रमा अरु पक्षको के कस्तो भुमिका रहन्छ ?
परराष्ट्र मन्त्रालयबाट खटाइने अन्य कुटनितीज्ञहरु अझ दक्ष र विज्ञ घटाउनुको साथै अन्य सरकारी तथा गैरसरकारी संस्थाले समेत देशको कुटनितीमा प्रत्यक्ष परोक्ष प्रभाव पार्दछन् । विदेशमा रहने नेपाली डाएस्पोरा लगायत अवकाश प्राप्त नेपाली सेनाका र अन्य सुरक्षा निकाय र निजामती तहका कर्मचारी साथै अन्य सुरक्षाविदहरुले थिंक ट्यांकहरुको रुपमा आवश्यक छलफल गरि यथोचित राय शुझाव पेश गर्न र राष्ट्रहितलाई प्रवर्दन गर्न सक्दछन् । त्यसैले यस प्रकारका विज्ञहरुलाई नेपाली सेनाले समेत सदुपयोग गर्न सक्दछ ।
विश्वका अन्य देशको सैनिक कूटनीतिको बारेमा केही बताइदिनुहुन्छ कि ?
विश्वमा अरू देशमाथि विभिन्न प्रभाव पार्न सक्ने शक्ति राष्ट्रहरूले रक्षा कूटनीतिका साथै सैनिक कूटनीतिको प्रयोग विभिन्न लडाइँ द्वन्द्व तथा असहज अवस्थामा प्रयोग गर्दै आएको पाइन्छ। जुन धेरै हदसम्म प्रभावकारी भएको देखिन्छ। उदाहरणका रूपमा अमेरिकी– चिनियाँ सैनिक र भारतीय९चिनियाँ सैनिकबीच समयसमयमा हुने वार्ता, सम्बन्ध र क्रियाकलापले पुष्टि गरेको छ। द्वन्द्व हुन नदिन, रोक्न तथा समाधान गर्न सैनिक कूटनीति आगामी दिनमा पनि प्रयोग हुने नै छ। शक्तिराष्ट्रहरूले सैनिक९सैनिकबीच मात्र नभई रक्षा कूटनीतिअन्तर्गत रक्षामन्त्रीरसचिवस्तरीय विभिन्न भ्रमण र गतिविधिहरूसमेत सञ्चालन गरेको पाइन्छ।
नेपालमा सैनिक कूटनीतिका चुनौतीहरू केके देख्नुहुन्छ ?
दक्षिण एसियामा नै सबैभन्दा पुरानो अनुशासित संस्थाको रूपमा रहेको गौरवमय परम्परा बोकेको नेपाली सेना विगतका विभिन्न सैनिक कूटनीतिक अभ्यास केलाउँदा निम्नलिखित चुनौतीहरू देख्दछु।
क, सैनिक कूटनीति एवम् नेपाली सेनाको भूमिकाबारे राजनीतिक तहमा ज्ञान वा चाखको कमी
ख, दक्ष सैनिक कूटनीतिक प्रशिक्षकसहित उत्पादन तथा पर्याप्त स्रोतसाधनको कमी
ग, सैनिक कूटनीति विस्तार गर्न थप राष्ट्रमा सैनिक सहचारी आवश्यक।
घ, सैनिक कूटनीतिका विभिन्न गतिविधि जस्तै तालिम, सेमिनार, संयुक्त राष्ट्रसंघीय शान्तिसेनामा सहभागिता, विदेशमा नेपाली सैनिक दिवस मनाउन र विभिन्न सामाजिक सांस्कृतिक गतिविधि बढाउन पर्याप्त बजेट स्रोत साधनको अभाव।
सैनिक कूटनीति प्रभावकारी बनाउन यहाँको सुझाव के छ ?
माथि उल्लेखित बुँदाहरूमा उल्लेख गरेझैँ मेरा सुझाव यसप्रकार छन्।
क, नेपाली सेनाको भूमिका साथै सैनिक कूटनीतिबारे रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयलगायत राजननीतिक नेतृत्वमा आवश्यक जानकारी एवम् प्रशिक्षणाका साथै मित्रराष्ट्रहरूका सेनाबीच अझ सन्तुलित व्यवहार
ख, संयुक्त राष्ट्रसंघमा शान्तिसेनाके सहाभगिताका लागि थप स्रोतसाधन सम्पन्न बनाइ उच्च ओहदा प्राप्त गर्न आवश्यक राजनीतिक पहल
ग, रक्षा कूटनीति एवम् सैनिक कूटनीति विस्तरको रणनीति एवम् योजना तयार गरी आवश्यक बजेट तथा स्रोत साधन व्यवस्था गर्ने।
घ, सैनिक कूटनीतिमा प्रत्यक्ष या परोक्ष सहभागी हुने अधिकृतहरूलाई आवश्यक ग्रुम अप, सहयोग एवम् समन्वय थप विस्तार गर्ने।
ङ, अवकाशप्राप्त दक्ष सैनिक कूटनीतिज्ञ, सुरक्षाविद्हरूलाई थिंकट्यांक र सहल्लाहकारका रूपमा समुचित प्रयोग गर्ने।
सैनिक कूटनीतिमा सफल बन्न अब के गरिनुपर्छ ?
प्रत्येक नेपाली सैनिक नेपाली नागरिक भएकाले नेपालको राष्ट्रहित सुरक्षा नीति एवम् परराष्ट्रनीतिलाई सर्वोपरी राखी कार्य सम्पादन गर्दै आएकोमा संकटको घडीमा नेपाली सेनाबाट भएको सैनिक कूटनीतिले नेपालको भूराजनीतिक अवस्था क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति र सैनिक चुनौतीलाई समेत ध्यान दिई दक्ष सैनिक कूटनीतिज्ञबाट सैनिक कूटनीतिको सञ्चालन गरी कूटनीतिलाई प्रभावकारी सफ्ट पावरका रूपमा प्रयोग गर्नु अत्यावश्यक छ।
यसैगरी संयुक्त राष्ट्रसंघीय शान्तिसेना खटाउने राष्ट्रका रूपमा नेपाल पहिलो नम्बरमा रहेको परिप्रेक्ष्यमा प्रत्येक शान्तिसैनिक बुद्धका शान्तिदूत हुन्। र उनीहरूलाई नेपालको सैनिक राजदूतका रूपमा लिन सकिन्छ। जसको कारण आज नेपाल सगरमाथा बोकेको र बुद्धको देशका रूपमा मात्र नभई विश्वभर शान्ति सैनिकको देशका रूपमा परिचित हुन पाएको छ। यो हामी सबै सुरक्षाकर्मी र नेपालीको गर्वको विषय हो।