भोजपुरको रामप्रसादराई गाँउपालिकामा चार जनाको बीभत्स हत्या भएको छ । पालिकाको वडा २, धोद्लेखानीमा शनिबार राति एकै परिवारका चार जनाको हत्या भएको हो ।
जिल्लाको भोजपुर नगरपालिका–२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेका हुन् । राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना राति सवा १ बजेतिर भएको हो । हत्या गर्ने भनिएका राजेन्द्र गम्भीर घाइते छन् । उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ ।
श्रीमति मनिषालाई लिन भनेर राजेन्द्र ससुराल गएका र उनीहरुबीच विवाद भएको थियो । राजेन्द्र पनि गम्भीर घाइते भएकोले घटनाको विषयमा धेरै कुरा खुल्न बाँकी देखिन्छ ।