समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ६१ हजार ९४ सहकारीका बचतकर्ताले ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार बचत हिनामिनाको उजुरी दिएका छन्। तर समितिले हालसम्म जम्मा तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार रुपैंया मात्र फिर्ता तथा हिसाब मिलान गरेको छ।
सहकारीको सिद्धान्त, मर्म र उद्देश्य विपरीत बचतकर्ताको बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिले लिँदै आएको छ। समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको भन्दै समितिमा परेको उजुरीमध्ये अझैँ ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार फिर्ता गर्न बाँकी छ।
समितिले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि तीन वटा सहकारीको मात्र रकम फिर्ता र हिसाब राफसाफ गरिरहेको छ। समितिका अनुसार गत कात्तिकदेखि असार १५ सम्म सङ्कलित २९ करोड ८२ लाख आठ हजार १२८ सहकारीका ५६ हजार १०६ जना बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरेको छ। सङ्कलित रकम बचतकर्ताको बचतको तुलनामा ४१ देखि ५७ प्रतिशत मात्रै भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
समितिको हालसम्मको अध्ययनबाट बचतकर्ताको अपचलन भएको शतप्रतिशत रकम फिर्ता दिन सक्ने सम्भावना न्यून भएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताए। समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताका अधिकतम बचत फिर्ता गर्न हर सम्भव प्रयत्न भइरहेको उनको दाबी छ।
समितिसँग रकम अपचलन गर्ने सहकारीको स्वामित्व आफूले लिई सञ्चालकको सम्पत्ति र कारोबार रोक्का गर्ने अधिकार छ। समितिले सहकारीको ऋण असुली, सम्पत्ति बेचबिखन र सङ्कलित रकम फिर्ता गर्ने कार्यलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको सदस्य काशीचन्द्र बरालले बताए।
कुन-कुन सहकारी समस्याग्रस्त
ओरेन्टल कोअपरेटिभ ली, स्ट्यान्डर्स सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ली, प्रभु बचत तथा ऋण सहकारी संस्था ली, सोसाइटल बचत तथा ऋण सहकारी संस्था ली, लुःनिभा बहूद्देश्यीय सहकारी संस्था ली, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ली, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था ली र तुलसी बहुमी सहकारी लिमिटेड समस्याग्रस्त सहकारीको सूचीमा सूचीकृत छन्।
हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहूद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका समेत गरी ५६ हजार १ सय ६ जनाको बचत रकम फिर्ता गर्न बाँकी छ।