Advertisement GIF
कल्पवृक्ष
पुस २० शनिबार, १०:१४ अपराह्न
म तिम्रो सहर छोडी गीतको प्रत्युत्तर आउँदै

‘म तिम्रो शहर छोडी टाढा‘ टाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु‘’ यो चर्चित गीतको प्रत्युत्तर गीत पनि आउने भएको छ ।

‘म तिम्रो सहर आएको छु फर्केर फेरि आज
भेटेर जाने मन छ भेटौ न भरे साँझ’

यी लाइनबाट सुरु हुने प्रत्युत्तर गीतको हाल रेकर्ड भइसकेको छ ।

हेर तिम्रो बाटो रात भरी म पर्खने छु
झुल्किँदो सूर्यसँगै भोलि म फर्किने छु ।

अत्यन्त लोकप्रिय एवम् सदाबहार गीतका गायक प्रदीपराज पाण्डे पुनः गायनमै सक्रिय भएपछि उनले प्रत्युत्तर गीत पनि गाएका हुन् । विष्णुदेवको रचना मधुकर लोहनीको संगीतमा पाण्डेले यो गीत गाएका हुन् ।

भुल्या छैन मैले अझै पुराना ती रातहरु
तिमीसँग पनि होलान् तीतामीठा यादहरु ।

लामो समय रेडियो नेपालको कर्मचारीका रूपमा रहँदा गायनलाई पर्याप्त समय दिन नसकेको बताउने सदाबहार गायक पाण्डे रेडियोको जागिर छोडेपछि फुर्सदिला बनेका छन् र, नियमित गीत गायनमा अभ्यस्त हुन थालेका छन् ।

बीबी थापाको शब्द र नातिकाजीको संगीतमा २०४८ सालमा पाण्डेले गाएको ‘म तिम्रो शहर‘’ गीत अहिले पनि त्यत्तिकै रुचाइन्छ । नेपालमात्र नभएर विदेशसम्म पनि चर्चित बनेको यो गीत गाएपछि विदेशमा कार्यक्रम गर्न धेरै निम्तो आएको पाण्डे सम्झन्छन् ।

यो गीतको प्रत्युत्तर चाहियो भन्दै स्रोताले पटकपटक कुरा राखेपछि उनले पुनः यो गीतको उत्तरमा प्रत्युत्तर गाएको बताए ।

मिलनको एउटा मौका देउन प्रिय आज
भेटेर जाने मन छ भेटौं न भरे साँझ ।

त्यो जमाना नै अर्काे थियो चिठीमा कुरा गथ्र्याै
मैले अझै राखेको छु हृदयमा तिम्रा तस्वीरहरु
तिमीसँग पनि होलान् प्रेमका सारा नजीरहरु ।

तिम्रो सहर नटेक्ने कसम तोडेर आएँ आज
भेटेरै जाने मन छ, भेटौं न भरे साँझ ।

२०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि पाण्डेको गायन यात्रा सुरु भएको थियो । उनका बुबा स्वर्गीय वासुदेव शास्त्रीय गीत गाउँथे । आमा मन पाण्डे पनि गीत गाउने । घरमा बुबा र आमा नै गीत गाउने भएपछि प्रदीप पनि अनायासै गायक बनेको आफ्नो अनुभूति सुनाउँछन् ।

नेपाली भजन, राष्ट्रिय र आधुनिक गीत गरेर करिव तीन दर्जन गीत गाइसकेका उनका दर्जनबढी गीत सदाबहार चर्चित नै छन् । गीतकार उर्वशीको रचना र सीके रसाइलीको संगीतमा ‘हाम्रो बोलचाल छैन, के भनेर बोल्ने‘’ बोलको गीतबाट गायनयात्रा सुरु गरेका उनले ‘तमासा भएछु मायाको बजारमा, प्रिय सम्झी अँगालेथे कसैलाई हजारौँमा’ दोश्रो गीत गाएका थिए, जो अहिले पनि सङ्गीतप्रेमीका माझ उत्तिकै रुचि र चर्चाको गीत बनेर रहेको छ ।

पत्रकार देवप्रकाश त्रिपाठीले रचना गरेको ‘आज पनि तिम्रै नाममा आँधी चल्यो, टाँसिएथ्यौ मुटुभित्र झिक्न खोज्दा मुटु चुँड्यो’ बोलको गीतदेखि हालका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले रचना गरेको ‘अल्झिरह्यो याद बल्झिरह्यो घाउ, जलिरह्यो यो मन निभाउन म कहाँ जाऊँ’ गीत पनि उनले गाएको सुन्दर गीतको कोटीमा पर्दछ ।