Advertisement GIF
कल्पवृक्ष / काठमाडौं
पुस २० शनिबार, ११:२८ अपराह्न
मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन

राजधानीको नयाँबानेश्वर थापागाउँस्थित मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । बिहीबारबाट सुरु भएको नाटक यही पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक छ दिन मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ सवा ५ बजे दुईवटा शो हुनेछन् । यो नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुन लागेको हो । उनी करिब १० वर्षपछि नाटकमा फर्किएका हुन् ।

द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ । अभिनेता बराल नाटक ‘मितज्यू’ पछि मञ्चमा देखिन लागेका हुन् ।

चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत छ । नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ ।

नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमले जनाएको छ । यो नाटकको निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् ।