चिया सधैं हरियो भइरहने बनस्पतिहरूको श्रेणीमा पर्ने बिरुवा हो। यो पाँचसय वर्ष जीवित रहने वनस्पतिमा गनिन्छ। यो लेखमा चियाको उत्पत्ति र नेपालमा यसको विकासक्रमका विषयमा चर्चा गर्न खोजेको छु।
ईसा पूर्व २७४० मा चीनमा चिया पत्ता लागे पनि ईपू २७४७ मा मात्र प्रचारप्रसारमा आएको र क्रमशः लोकप्रिय हुँदै गएको पाइन्छ। छैंटौं शताब्दीतिर चीनबाट जापानमा एकजना बैद्ध भिक्षुले प्रचार गरेका थिए, भन्ने विश्वास गरिन्छ। त्यसपछि जापानमा पनि लोकप्रियता बढ्दै गएको देखिन्छ।
१७ औं शताब्दीतिर सोभियत रुसतिर चियाखेतीको सुरुआत भएको हो। १७ औं शताब्दीको उत्तरार्धमा (सन् १७९३) भारतमा परीक्षणको रूपमा चियाखेतीको सुरुआत भएको पाइन्छ भने व्यवसायिक रूप भने १८ औं शताब्दिमा लिएको अनुमान गरिन्छ। सन् १८६२ देखि भारतका समथर भूभागमा चियाखेतीको थालनी भएको पाइन्छ। दक्षिण एसियाली देश श्रीलंकामा सन् १८६२ देखिनै चियाखेती गरिएको भेटिन्छ। अफ्रिकी मुलुक केन्या, तान्जिनिया, रुवान्डा, बुरुण्डी, युगान्डा, कंगो, क्यानडा र जिम्बाबे जस्ता देशमा सन् १९०३ देखि चियाखेतीले बिस्तारित रूप लिएको पाइन्छ।
नेपालको सन्दर्भमा चियाखेतीको सुरुआत सन् १८६३ अर्थात विक्रमसम्वत १९२० देखि भएको हो। नेपालको इलाम जिल्लामा सर्वप्रथम सुरुआत गरेको देखिन्छ। त्यसताका इलाम जिल्लाका बडाहाकिम स्वर्गीय गजराजसिंह थापा दार्जिलिङ भ्रमणमा जाँदा त्यहाँको अति मनमोहक र हरियाली दृश्यबाट प्रभावित भई आफ्नो काम सकेपछि फर्कँदा चियाका केही बिरुवा र प्राविधिक पनि लिएर आएपछि आफ्नो बिर्तामा चियाका बिरुवाहरू रोप्न लगाउँदै क्रमशः त्यसको क्षेत्र बिस्तार गरी हालको इलाम चिया कमानको नामले प्रख्यात छ।
त्यसरी नै विसं १९२२ सालमा सोक्तिम चिया कमानको स्थापना भयो। त्यसताका जहानियाँ राणा शासन भएका कारण यसले थप बिस्तार हुन पाएन। पछि विसं २०१६ सालमा झापाका केही भूमिपतिले आफ्नो बगैँचामा चियाखेती सुरु गरी हालको बुधकरण टी स्टेटको स्थापना भएको हो। अहिले नेपालमा एक सयभन्दा बढी टी स्टेटहरू स्थापना भई उत्पादन पनि लिन थालिएको छ। यसरी नै सरकारी तवरबाट चियाखेतीमा साना किसानलाई हौसला प्रदान गर्न विसं २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना भएको छ। र, निगमले इलाम जिल्लाका विभिन्न स्थानमा चिया कमानहरू स्थापना गरेर (इलाम चिया कमान, सोक्तिम चिया कमान, बर्ने चिया कमान, चिलिक्कोट चिया कमान, बारदशी चिया कमान, कन्याम चिया कमान र टोकला चिया कमान) चियाखेतीलाई व्यवसायीकरण गर्ने प्रयत्न गरेको छ। यसका साथै चियाबाट बढी मुनाफा पाउने उद्देश्यले चिया विस्तार योजनाको अवधारणा तयार गरी विसं २०३५ सालदेखि इलामका फिक्कल, जसवीरे, मंगलबारेमा, पाँचथरको लालिखर्क, तेह्रथुमको सोल्मा र धनकुटाको हिलेमा चिया विस्तार योजनाका कार्यालयहरू स्थापना भएका छन्।
विसं २०३९ मा तत्कालीन राजा वीरेन्द्रले पूर्वाञ्चलका ५ जिल्ला झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटालाई चिया क्षेत्र घोषणा गरी विस्तार योजना र साना कृषकलाई हौसला प्राप्त गर्दा यसको द्रुततर गतिमा विस्तार हुँदै गएको पाइन्छ। यसैक्रममा चियाका साना किसान संघ र संघ, संस्थाहरू स्थापना हुँदै आएका छन्। सरकारले विसं २०४९ मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गर्यो। यसले चियाको लागि नीति निर्माण गरी कृषक तहसम्म पुर्याउने काम गरिरहेको छ। यसै समयपछि देशका ६ वटा चिया विस्तार योजना राष्ट्रिय चिया तथा कफी विकास बोर्डको मातहतमा सञ्चालित छन्। यो बोर्डले २०५६ मा अन्तर्राष्ट्रिय चिया सम्मेलन गरी विश्व बजारमा प्रवेश गर्ने बाटो खुला गरेको थियो। २०५७ मा राष्ट्रिय चिया नीति पारित भयो। ०५८ मा यो नीतिको कार्यान्वयन निर्देशिका स्वीकृत भई कार्यान्वयनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको दायित्व भित्र ल्याएको छ।