खेलप्रसाद बुडाक्षेत्री हाल नेकपा माओवादी केन्द्रको कन्द्रीय सदस्य र ताप्लेजुङ जिल्ला इन्चार्ज हुनुहुन्छ । गत संघीय संसदको निर्वाचनमा झिनो मतले पराजीत हुनु भएका उहाँ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका– ५ मा जन्मनु भएको हो । स्थानीय पेदाङको राष्ट्रिय निम्नमाध्यमिक विद्यालयबाट अध्ययन सुरु गर्नु भएका उहाँले धरानको हात्तिसार क्याम्पससम्म अध्ययन गर्नु भयो । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियुको जिल्ला सहसचिवहुँदै २०५५/०५६ मा माओवादी पार्टीसित जोडिनु भयो । माओवादीको इलाका, जिल्ला कमिटीमा रहँदै ताप्लेजुङको जनसरकार उपप्रमुख, जनमुक्ति सेनाको कम्पनी कमिसार, पार्टी सचिव भएर काम गरिसक्नु भएको छ । उहाँसित कल्पवृक्षका लागि नितेष सिंगक लिम्बूले गरेको कुराकानीको संपादित अंश ।
ताप्लेजुङ जिल्लामा रानजीतिक दलको संगाठानिक अवस्था कस्तो छ ?
ताप्लेजुङमा अहिले संगठनको हिसाबमा हेर्दा पहिलो पार्टी नेकपा एमाले, दोस्रोमा नेपाली काङ्ग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र हो । पछिल्लो समय माओवादी केन्द्रतर्फ राम्रो माहोल बन्दैछ । योक्रम निरन्तर बन्यो भने आगामी २०८४ को चुनावसम्ममा माओवादी केन्द्र पहिलो पार्टी बन्ने पक्का छ ।
पहिलो पार्टी बनाउन के के छन्, योजना ?
राजनीतिक एजेण्डा नै पहिलो कुरा हो । अहिले पार्टीले उठाउँदै आएको कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली प्रमुख मुद्धा हुन् । संघीयता, समावेशीताजस्ता माओवादीले उठाउँदै आएका मुद्धा जनतालाई बुझाउँदै जानुपर्छ र जान्छौ पनि । अहिले ताप्लेजुङका जनता हामीप्रति सकारात्मक बन्दै गएका छन् ।
संगठानात्मक अवधारणाअनुसार हाल प्रसस्तै रुपमा रहेका नेता तथा कार्यकर्तालाई एकतावद्ध गरेर लान सकिन्छ । पहिला निस्कृय रहेका कार्यकर्ता तथा नेताहरु सक्रिय बन्न थालिसकेका छन् ।
जिल्लामा २ पालिकामा अध्यक्ष, तीन पालिकामा उपाध्यक्ष र ११ वटा वडामा वडाअध्यक्ष माओवादी केन्द्रका कार्यकर्ता तथा नेताले जितेका छन् । यो पनि पार्टीको संगठन वृद्धि गर्ने आधार हुन्छ । हिजोका युवा कार्यकर्ताहरु अहिले परिपक्व बन्दै गएका छन् । उनीहरुले अब पार्टीलाई सोच विचार गरेर दीगो रुपमा सञ्चालन गर्नेछन् ।
देश संघीयतामा गएपछि ताप्लेजुङमा माओवादी केन्द्रकै अवधारणाअनुसार ९ पालिका बनेका हुन् । यो पनि जनताले बुझेका छन् । यी आधारले आगामी निर्वाचनसम्ममा माओवादी ठूलो पार्टी बन्छ नै ।
जिल्लाको विकास निर्माणमा कस्तो भूमिका छ पार्टीको ?
विकास र निर्माणको पक्ष हेर्दा अन्य दलको भन्दा माओवादी केन्द्रको पहल अधिक देखिन्छ । यो जिल्लाका जनताले राम्ररी बुझेका छन् । नयाँ योजना माओवादीले नै ल्याउँछ, भन्ने विश्वास जनतामा छ । अर्काे महत्वपूर्ण कुरा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु कुनै पनि आर्थिक विवादमा अझसम्म फसेका छैनन् । यो शुद्धताले पनि जनता हामीप्रति आकर्षित भइरहेका छन् ।
केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको काम गराई कस्तो देख्नु हुन्छ ?
यो सरकारको काम गराई पारदर्शी छैन । सरकार बनेदेखि नै अपारदर्शी कामहरु भइरहेका छन् । सरकारले भ्रष्टाचारी, अपराधीहरुलाई एक पक्षीय भएर ‘इगो’ साँध्ने काम गर्दैछ । समग्रमा नेपाली जनताप्रति सरकार उत्तरदायी देखिएन । सरकारका मन्त्री, राजनीतिक नियुक्ति पाएका व्यक्तिहरु भ्रष्टाचारी र विवादित बनिरहेका छन् । त्यसैले यो सरकारलाई भ्रष्ट र नालायक भन्न सकिन्छ ।
त्यो भए, यो सरकारको आयु लामो छैन त ?
सरकार टिक्ने ठाउँमा छैन । सरकार आफैँ ढल्दैन भन्दै प्रधानमन्त्री नै दैनिक भन्दै आउनु भएको छ । यसको अर्थ सरकारको आयु लामो छैन भन्ने नै हुन्छ । भौतिक रुपमा सरकार छ तर नैतिक रुपमा ढलिसकेको छ । जनताको नजरमा गिरिसकेको छ । त्यसैले नैतिक रुपमा सरकार छैन । र, सरकारप्रति जनताको कुनै आशा र भरोसा पनि छैन । यस्तो ठगी खाने सरकार देशमा आवश्यक पनि छैन ।