Advertisement GIF
कल्पवृक्ष
पुस ११ बिहीबार, ८:२५ अपराह्न
धर्म :  स्वभाव, स्वाभिमान, इतिहास र पहिचान

योजकस्तत्र दुर्लभः–
नेपालमा परापूर्व कालदेखि बनेका मठमन्दिरहरूको संख्यात्मक रूपले गणना गर्दा कतै कुनै कमी छैन । हाम्रा पूर्वजले बनाइदिएका पाटीपौवा, चैत्य, गुम्बा, विहार, गौशाला, आश्रम,अखाडा, गुरुकुल आदि प्रशस्त छन् । जुन हाम्रा स्वाभिमान हुन्, हाम्रा धरोहर हुन्, हाम्रा गौरव हुन्, हाम्रा पहिचान हुन् । कालान्तरमा पनि विभिन्न स्वामीज्यूहरू, गुरुजीहरू, योगीजन, भक्तजन लगायत दाताहरूको, सद्धर्मसमाजसेवीहरूको सकारात्मक प्रयासमा बनेका मठमन्दिर आदि पवित्र स्थल एवं तीर्थहरूको संख्या बढ्दै गएको छ । यसले नेपालको आन्तरिक पर्यटन र बाह्य पर्यटनमा पनि राम्रो गौरवको वृद्धि गरेको छ ।

अहिले स्थानीय सरकारको व्यवस्थापछि पनि यस्ता सकारात्मक, धार्मिक, सामाजिक एवं सांस्कृतिक प्रकारका प्रयासहरू गाउँगाउँमा पनि अति आशालाग्दो तरिकाले बढिरहेका छन् । तथापि एउटा ठूलो चिन्ता भने यथावत् नै छ । त्यो हो सबै धार्मिक स्थलहरू र मठमन्दिरहरूको बीचमा कुनै संयोजन छैन, परिचय छैन, प्रेम छैन, सुसम्बन्ध छैन । एक ठाउँमा समस्या पर्यो भने अर्को संस्था ले आएर होस्टेमा हँैसे गरिदिने व्यवस्था छैन । एउटा मन्दिरको मठको गुम्बाको जग्गा कतै कुनै स्वार्थी व्यक्तिलहरूले मास्न खोज्यो भने त्यसलाई रोक्ने कुनै संयन्त्र छैन ।

प्राकृतिक रुपले वा स्वाभाविकरुपले वा दैवी आशिर्वादले चलिरहेका छन् । तर त्यहाँ सुरक्षाको पूर्ण अभाव छ, सामाजिक सुरक्षाको अभाव छ, धार्मिक संगठनात्मक सुरक्षाको अभाव छ । हाम्रो बीचमा सद्भावना भए तापनि कुनै संयोजन भने छैन । “योजकस्तत्र दुर्लभः”भनेको जस्तै सबैको बीचमा संयोजन गरिदिने संयोजक संस्थाको अत्यन्तै डरलाग्दो खडेरी छ । के त्यो संयोजन गर्ने भूमिकामा तपाईं हामी अघि बढ्न सक्दैनौं?के तपाईंहामी आफ्नो संस्थाको मात्रै प्रचार गरेर बस्ने ? आफ्नो संस्था मात्रै ठुलो हो भनेर यसकै पर्खालको उचाई मात्रै थप्दै जाने ? सिंगो नेपालमा भएका धार्मिक स्थलहरूको रक्षाका लागि नेपाल भरि नै के कसरी सुरक्षाकवच बन्न सकिन्छ ? त्यसका लागि संयोजनको भूमिका बनाउन गम्भीर भएर तपाईं हामी कहिले लाग्ने ?

वयं राष्ट्रे जागृयामः–

हाम्रा शास्त्रहरूले “संगच्छध्वं संवदध्वं …..”भनेर संगठनको महिमाको बयान गरे । “सह नाववतु सह नौ भुनक्तु ..” जस्ता कालजयी मन्त्रहरू भनेर संघीय शक्तिको आह्वान गरे । यतिमात्र हैन, ‘भगवान् श्रीरामको विजयको मूल आधार सुग्रिव सेनाको संगठित संगठन हो । द्वापरयुगमा पाँच भाई पाण्डव विचको बलियो संगठन र एकअर्काप्रतिको विश्वास हो । द्वापरयुगमै भगवान् श्रीकृष्णले गोपगोपिनीहरूका बिचमा बाल्यकालमै गरेको संगठन कंसका लागि एक ठूलो चुनौती हो, कंसको पराजयको, वधको मूल आधार पनि हो ।’नेपालको एकीकरणको सन्दर्भमा पनि गुरु गोरखनाथको आशिर्वाद लिएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गरेको गोर्खाली वीरहरूको एकता विश्वको इतिहासका लागि एक अत्यन्तै अनौठो इतिहास हो । दैवीशक्ति, दैवी नेतृत्व र दैवी संगठनको यस्तो महान शक्ति नेपालमा प्रकट भयो कि अंग्रेजहरू समेत घुँडा टेक्न बाध्य भए ।

सकारात्मक भावेन, शुद्धविशुद्धभावेन गरिएको संगठनले कहिले रावणलाई, कहिले कंसलाई, कहिले अंग्रेजहरूलाई परास्त गरेकै हो र भोलि पनि गर्दै जानेछ । तथापि अहिले हामी आएर संगठनमा चुकिरहेका छौं । संगठन गर्ने विषयलाई लिएर हामी उपेक्षा गरिरहेकाछौं । हामी स्वामीहरू, गुरुहरू, योगीहरूधार्मिक, सामाजिक एवं राष्ट्रिय शक्तिका विषयहरूमा किन बेवास्ता गरिरहेका छौं ? हामीले पार्टीको जस्तो विरोध जुलुस गर्ने होइन । यो हाम्रो सनातन हिन्दु नीति पनि होइन । तर के हाम्रो गौशाला, गुरुकुल,हाम्रो धर्मग्रन्थ, हाम्रा गुरु, हाम्रो गुरुपरम्परा आदि बचाउनका लागि पनि हामीले संगठन नगर्ने ?
हामी धेरै छौं, धेरै नै धेरै छौं तथापि कमजोर छौं किनकि हाम्रो संगठन नै छैन । के सँधै यस्तै गुनासो मात्र गरिरहने हो ? धर्मनिरपेक्ष पार्टीलाई नै भोट हालेर आफैँलाई धोका दिएर गलत विचार र सोचको स्तुतिगान गरेर बाँचिरहने ? पाप के हो भन्ने ज्ञान जानेर पनि पापीहरूकै रमिता हेरिरहने ? कहिले बुझ्ने सनातन ऋषि सन्देशलाई
“वयं राष्ट्रे जागृयामः वयमोंकारमानिनः।
हिन्दवो हि वयं सर्वे धर्मरक्षणतत्पराः।। ”

आत्मनो हिताय राष्ट्रहिताय च :–
वैदिक युग, उपनिषद् युग एवं प्राग्वैदिक समयमा आत्महित, आत्मसाधना नै सायद मानव जीवनका प्रमुख विषय थिए, लक्ष्य थिए, जीवन सूत्र थिए । तर क्रमशः पुराणकालीन समय, रामायणकालीन समय, स्मृतिकालीन समय र महाभारतकालीन समयमा राष्ट्रहीत, राष्ट्र कल्याण र राष्ट्र रक्षाका कुराहरू पनि प्रवल हुँदै आए । कसरी गर्ने राष्ट्ररक्षा ? कसरी गर्ने गौरक्षा, धर्मरक्षा, यज्ञरक्षा आदि । त्यसमा अनेकौ प्रकारका नीतिनियम र चिन्तनहरू बन्दै गए । हुुन त वैदिकयुगमै पनि रक्षाको कुनै महत्व नभइदिएको भए वा सुरक्षा नीतिको कतै कुनै आवश्यकता नभएको भए धनुर्वेद जस्तो उपवेदको विकास पनि हुने थिएन । तर अहिले जे होस्,स्वधर्मको रक्षाको साथै कलीयुगमा व्यक्तिको रक्षा, परिवार रक्षा र राष्ट्ररक्षा एक प्रमुख विषय बनेको छ । नेपाल आफैँमा एक अद्भूत अवस्था, अवस्थिति र अवधारणामा बाँचेको देश भएकोले गर्दा यसको रक्षा झन् झन् रहस्यमय बनेकोछ । दुनियाँलाई हराउन सक्ने नेपाल आज आफँै भित्रभित्रै हार्ने अवस्थामा जाँदैछ । गोर्खालीपनमा विरता, सौर्यता, पराक्रम र पुरुषार्थ किन हराउँदै गएको छ?

वास्तवमा को हो त दोषी ? भनेर छिद्रान्वेषण र आरोप प्रत्यारोप मात्रै गर्नुभन्दा नेपाल आमालाई आफ्नै हृदयमा खोज्नुपरेकोछ । नेपाल केवल देश होइन, भूबनोट होइन, भूखण्ड होइन ;यो त हाम्रो आराध्य हो, अस्तित्व हो र आदर्श हो भनेर निशर्त समर्पित हूनुपरेकोछ । “ मेरा साना दुखले आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया” लाई मूल मन्त्र बनाउनु परेकोछ ।

नेपालजननीं वन्दे :–
नेपालको नाम कतै कसैले थोपरी दिएको नाम होइन । ने नामका ऋृषिबाट बनेको पवित्र नाम हो । “कलौ नेपालिका पुरी” भनी वेदमै पनि चर्चा गरिएको छ । यहाँको भूखण्ड पनि यता–उता तानेर जोडेर बनाएको होइन । ऋषीहरूका गुफाहरू, सिद्धबुद्धका साधनाकेन्द्रहरू हजारौं लाखौंको संख्यामा अद्यापि यहाँ पाइन्छन् । यहाँको सम्पूर्ण ऐतिहासिक संरचना पनि कतै कुनै विदेशीले आएर कोरिदिएको होइन । यहाँको इतिहास मात्र हाम्रा पूर्वज हुन्, ऋषि हुन् ; भविष्य पनि मात्र यिनै पूर्वजहरूले लेखिदिएका विषयवस्तु मात्र हुन् । त्यसैले त संसारमा कतै नभएको वैदिक झण्डा हामीसँग मात्रै छ । शनिबारको वैदिक विदा हामीसँग मात्रै छ । वैदिक पञ्चाङ्गको कालगणना हामीसँगमात्र छ । वैदिक चाडपर्व आदि हामीसँग मात्रै छन् ।वैदिक राज्य व्यवस्था पनि संसारमै हामीसँग मात्र थियो । त्यसैले त महर्षि महेश योगी पनि ५० वर्ष पहिले नेपाल आएको बेलामा भावविभोर भएका थिए, आश्चर्यचकित भएका थिएसंसारमा वैदिक राज्य व्यवस्था भएको एक मात्र देश रहेछ नेपाल भनेर । अचानक उनले आफ्नो उद्गार व्यक्त गरेका थिए,‘नेपाल नै विश्वगुरु हो । ल्भउब ितय भिबम तजभ धयचमि १११।’
यसले के सिद्ध गर्छ भने नेपालका सम्पूर्ण धार्मिक, सामाजिक, प्रशासनिक,जेजति संरचनाहरू पुर्खाहरूले बनाएका थिए ती सबै वैदिक चिन्तनमा मात्र आधारित थिए । नेपालको इतिहास युरोपको जस्तो हजार २ हजार वर्षको मात्र होइन । संसारको प्राचीनतम अखण्ड, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश भनेकै नेपाल मात्र हो । पूर्विय दर्शनमा आधारित जम्बूद्वीप, आर्यावर्त, भारतवर्ष, आदि सबै विषयको मूल केन्द्र पनि नेपाल नै हो, हाम्रो हिमाल नै हो, हाम्रो सगरमाथा नै हो ।
त्यसैले त संसारमा कतै नभएको शालग्रामस्वरुपिणी कालिगण्डकी माता निरन्तर प्रवाहित छिन् । रुद्राक्ष र तुलसी नेपाल कै हो।राष्ट्रदेव भगवान श्री पशुपतिनाथ अहिले पनि हामी सबैको रक्षा गर्दै यहाँ विराजमान हुनुहुन्छ । यस पवित्र भूमिमा गुरु गोरखनाथ कहिले लमजुङ, कैले मृगस्थली, कहिले गोर्खा र कहिले दाङ लगायत कैयौं ठाउँमा बारम्बार प्रकट भएका छन् । नेपालको प्रत्येक जिल्लामा सिद्धबाबा, सिद्ध गुठी, सिद्ध गुफा, सिद्ध शिखर जस्ता प्रमाणहरू अद्यापि हेर्न सुन्न पाइन्छन् । अन्तिम प्रमुख चार बुद्धहरू मध्येमा पनि कश्यप, क्रकुच्छन्द आदि नेपालमै प्रकट भएका हुन् । सारा ऋृषिहरूको साधनाको पवित्रभूमि नेपाल नै हो। विश्वामित्र लगायत पाणिनी, जनक जानकी याज्ञवल्क्य र वाल्मीकि आदि सबैको यही नै तपोभूमि हो, मूल साधनास्थली हो ।
नेपाल वेदभूमि, बुद्धभूमि, सिद्ध भूमि, आर्ष भूमि, तपोभूमि, पुण्यभूमि हो । हाम्रो धर्म नै राष्ट्र धर्म हो, हाम्रो सनातन हिन्दु धर्म हो । हाम्रो राष्ट्रियता ॐकार हो, समग्र सनातन जीवन दर्शन परम्परा हो । हाम्रो राष्ट्रियता, हाम्रो सनातन दर्शन, संस्कृति, भाषा, परम्परा, जीवनदर्शन आदि अन्योन्याश्रित छन् । त्यसैले नेपालको जुनसुकै कुनामा गए पनि नेपाली भाषा बोलिन्छ । नेपालदेखि बाहिर बसेका म्यान्मार, थाइल्याण्ड, भुटान, सिक्किम लगायत विश्वभरका नेपाली अद्यापि नेपाली भाषा बोल्छन्, बुझ्छन्, पढ्छन् र लेख्छन् । विश्वको जुनसुकै कुनामा गएका नेपालीले पनि अद्यापि भगवान् पशुपतिनाथको जयकार गरेकै छन्, भगवान् गौतम बुद्धको जयकार र गुरु गोरखनाथको जयकार गरेकै छन् । गोर्खाली वीरहरू अद्यापि गुरु गोरखनाथको आशीर्वाद सहित सारा दुनियाँ सामु छाति तानेर उभिएका छन् , सगौरव गान गरिरहेका छन्् :
“नेपालजननीं वन्दे हिन्दुराष्ट्रशिरोमणिम्।
सिद्धबुद्धऋषिभूमिं प्रणमामि पुनः पुनः।।”

महाजनो येन गतः स पन्था :–
धर्मको स्वरूप बुझ्न गारो छ। बहुआयामिक पुरातन संस्कृतिलाई सजिलैसँग परिभाषित गर्न त झनैगाह्रो छ । अनेक जाति, भाषा, समुदाय र सम्प्रदायमा कुनै विशाल वृक्ष झैं झ्यांगिएको नेपाली समाजलाई एउटै शब्द द्वारा व्याख्या गर्न त्यति सजिलो छैन।यसकारण सजिलो भनेको “महाजनो येन गतः स पन्था” नै हो । परापूर्वकालीन ऋषिहरूलाई प्रणाम गर्दै उहाँहरूले वेद उपनिषद्,रामायण,महाभारत कपिल दर्शन, अष्टावक्र गीता रामायण आदिका माध्यमबाट दिएका ज्ञानलाई बारबार स्मरण गर्दै अघि बढौं ।
यसरी अघि बढ्ने क्रममा कालान्तरमा देखिएका नेपालका तपस्वीहरू,उहाँका तपस्याका, आशीर्वादका र सन्देशका सूत्रहरूले आफ्नो व्यक्तिगत जीवन सूत्र र राष्ट्रिय जीवन सुत्रको निर्माण गरौँ । हामीसँग जे छ त्यसैमा गौरव गरौँ । हाम्रो जो हो हामीले त्यसैको जयजयकार गर्ने हो । हाम्रो जो जति छन् तिनलाई हामीले शिरमा सगौरव राख्ने हो । हामीले हाम्रा सिद्ध रत्ननाथ, गलेश्वर बाबा, बालागुरु षडानन्द, स्वर्गद्वारी महाप्रभु र महाप्रभु फाल्गुनन्दलाई किन नसम्झिने ? कालान्तरमा देखिएका खप्तड बाबा, शिवपुरी बाबा, राष्ट्रगुरु योगी नरहरिनाथ, कालेराई डा.स्वामी प्रपन्नाचार्य,स्वामी परमानन्द, स्वामी रामानन्द गिरी, स्वामी चन्द्रेशहरू प्रति किन गौरव नगर्ने ? के उहाँहरूको तपस्या हाम्रो जीवनलाई आलोकित पार्नका लागि पर्याप्त छैन र ? के उहाँहरूले दिएका जीवन सन्देशहरू कालातीत सन्देश होइनन् र? हाम्रो राष्ट्रका लागि मार्गदर्शक बन्न सक्दैनन् र ? के हामीलाई अहिले पनि सनातन इतर पक्षकै घोषणापत्र चाहिन्छन् र ? कोटेशन चाहिन्छन् र ? हाम्रै माटोमा जन्मिएका यी विचारकहरू, तपस्वीहरू, साधकहरू, सन्देश दाताहरू, दिव्य पुरुषहरू के हाम्रा राज्यका आराध्य होइनन् र ?
किन चाहिन्छ हामीलाई जहिले पनि सनातन धर्म विरोधीहरू? किन कुद्छौं सनातन इतर का पछि ? जो जो जहाँ छन् ती ठिक छन् । यसमा हाम्रो कतै कसैको बारेमा टिका–टिप्पणी छैन, विरोध गर्ने आशय पनि छैन तर के नेपालका लागि हाम्रा स्वामीहरू, विद्वानहरू, विचारकहरू पर्याप्त छैनन् र ? वास्तवमा भन्ने हो भने हाम्रो समस्या भनेको त हाम्रो थालीमा सुन छ, यतिमात्र होइन हाम्रो थालि नै सुनले बनेको छ, जुन ठाउँमा हामी बसेर मागिरहेका छौं त्यसको गर्भमा पनि मात्र सुनको अद्भूत भण्डार छ तर हामीलाई आफ्नोपनमा गर्व किन छैन ? त्यसैले आफ्नो स्वदेशी इतिहास र भूगोलको टोल टोलमा चर्चा गरौँ । आफ्नो मुटु र माटो लाई नै भुलेर कहिले सम्म आसा गर्ने त? हाम्रा लक्ष्मीप्रसाद, लेखनाथ पौडेल, भानुभक्त,भक्ति थापा र अमरसिंहहरूलाई भूलेर पनि के बाँच्नु ? छिमेकीले सहयोग गरेपनि घर चलाउनु आफ्नै जिम्मेवारी हो भन्ने कहिले बुझ्ने ?

 

धर्मसंस्थापनार्थाय संभवामः युगे युगे :–
अब के गर्ने त? कसरी अघि बढ्ने त? भन्ने बारेमा गंभीर चिन्तन गर्दै सहजभावेन, सद्भावेन सहकार्य गर्दै अघि बढौं । समग्र ॐकार परिवार वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन आदि सकल परिवार ॐकारभावेन ॐकारको रक्षामा जुटौं ।

विश्व ॐकार एकता महाभियानको प्रस्ताव
– कोही वंशको नाममा , कोही जातको नाममा कोही पन्थको नाममा संगठित बनेको हाम्रो समाजमा हामी धर्मको नाममा संगठित हुने संकल्प गरौँ ।

– आज नेपाली समाज राजनीतिक शक्तिकेन्द्रको आडमा संघ,महासंघ,संगठन, संस्था र समुह संचालित भएकोले हामी धर्म र शास्त्रको आधारमा संगठित बनौँ ।

– साधु सन्त धर्मको आधारस्तम्भ हुन सन्त समाजलाई आदर्श मानेर संगठित बनौँ ।

– विश्वका हिन्दु आफ्नै हुन तर नेपालको अलग पहिचानलाई सम्मान गरेर पन्थ र सम्प्रदाय मतभेद छोडेर सबै ॐकार परिवारका संघ संस्थाको साझा आस्थाको केन्द्र “विश्व सनातन हिन्दु महासभा” गठन गरौँ ।

– व्यक्ति भन्दा पनि शास्त्रीय मत अनुसारको त्याग, तपस्या र चरित्रवान विद्वानको सम्मान गर्दै संगठित बनौँ ।
– क्षमता अनुसार समय,सदस्य र सम्पत्तिको संयोजन गरौँ ।

– ॐकार एकता,समन्वय र संगठनलाई विश्व ॐकार एकता महाभियान मार्फत विश्वस्तरमै जोड दिउँ ।

– नेपालमाभएका मठमन्दिरहरूको साझा सनातन सम्पदा संरक्षण गर्ने गरी कार्ययोजना बनाउँ ।

– २०६२/२०६३ साल देखि हिन्दु राष्ट्रको लागि भएका योगदानहरूको सङ्कलन गरेर सबैको योगदानलाई खुलाउने पुस्तक प्रकाशित गरेर नयाँ पुस्तालाई हौसला प्रदान गरौं ।

– मठमन्दिर लगायतमा जाने रकमको पारदर्शीरुपमा सदुपयोग र संरक्षण गरौँ ।

– मठमन्दिर र आश्रम लगायतलाई समस्या पर्दा सहयोग गर्ने संरचना निर्माण गरौँ।

– ॐकार परिवारको साझा संस्कृतिलाई आत्मसाथ गर्ने शास्त्र सम्मत विधी विधान र आचारसंहिता निर्माण गरौँ ।

– विश्व स्तरमै ॐकार परिवार सँग कार्यगत सहकार्य गर्ने गरौँ ।

– मठ मन्दिर र गुठी लगायतका सम्पत्तिको खोजी गरेर संरक्षण गरौँ । अरुले कब्जा गरेको भए फिर्ता लिन पहल गरौँ ।

– धार्मिक क्षेत्रका व्यक्ति विरुद्ध हुने चलखेल र षड्यन्त्र विरुद्ध सचेत भएर सहयोग आदान प्रदान गरौँ ।

– कुनै पनि आफ्नो परम्परा अनुसार अनुष्ठान गर्दा साईत हेरेर शास्त्र अनुसार मात्र गरौँ । आफ्नो परम्पराको पालना गर्दा अरुको आस्थामाथी चोट पुग्ने कुनै पनि कार्य नगरौं नगराउँ ।

– सन्त समाज सहितको उपस्थितिमा सबै परम्पराका धर्माचार्य सहभागी भएको धर्मसभा गठन गरेर वर्ष भरीका धार्मिक विवादहरूको बारेमा धार्मिक निर्णय दिने गरौँ ।

– राजनीतिले धर्मको पालना नगरेको परिप्रेक्ष्यमा ॐकार परिवारको साझा पहिचान र जीवनशैलीको रक्षाको लागि धार्मिक शक्तिकेन्द्र निर्माण गरौँ ।

– गौ संरक्षण,धर्म परिवर्तन,धार्मिक यात्रा माथीका आक्रमण लगायत हरेक विषयमा साझा निर्णय गर्दै आवश्यक कदम सामुहिकरुपमा आन्दोलन चलाउने संस्कार सुरु गरौँ ।

– धार्मिक संघसंस्थाका सदस्यहरू, धर्माचार्यहरू, पण्डित, पूरोहित, ज्योतिष लगायत सबैले धार्मिक, परम्परागत एवं मर्यादित पोसाक अनिवार्य लगाउनु गरौँ ।

यो सम्मेलन गर्नुको उद्देश्य
विभिन्न चरणमा विभिन्न समुहबाट अद्यावधि गरिएका हिन्दू राष्ट्रका लागि चलाइएका अभियानलाई सम्मान गर्दै नेपालका राष्ट्रिय सन्त समाजका आदरणीय स्वामीज्युहरूको समुपस्थितिमा गरिएको संकल्प अनुसार राष्ट्रका सबै स्वदेशी आस्था, उपासना पद्धति, एवं स्थानीय संस्कृतिलाई सम्मान गर्दै समस्त ॐकार परिवार बीच एकता, समन्वय र सहकार्य गर्ने गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्व–संस्कृतिको रक्षाका लागि एकजुट हुने संकल्पका साथ यस क्षेत्रमा कार्यरत धार्मिक गुठी,संस्था,संघ, महासंघ एवं धार्मिक मठमन्दिर, सबै धार्मिक पन्थ,सम्प्रदाय,लामा,भिक्षु,रिम्पोच्छे, धामी,झाँक्री भन्ते,ज्योतिष,पण्डित,पुरोहित,आचार्य,योगी,सन्त, महन्त, स्वामी, गुरुजन र अभियन्ताहरू एकजुट भई कार्य गर्ने अवधारणा यस प्रकार प्रस्तुत गरेका छौं ।

क) वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन,नाथ,शैव,वैष्णव लगायत सनातन ॐकार परिवारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा धर्म सापेक्ष सनातन हिन्दू राष्ट्रको पहिचान स्थापित गर्ने ।
ख) हरेक जाति, वर्ग समुदाय र संप्रदायलाई समेट्दै स्थानीय मौलिक संस्कृति, प्रकृतिपूजा र कुलपरम्परा सँगैआ–आफ्ना राष्ट्रिय आस्था र स्वाभिमानको संरक्षण एवं संवर्धन गर्नेगराउने ।
ग) धर्मपरिवर्तन (मतान्तरण) जस्ता कुचक्रहरूलाई रोक्दै समुदायलाई स्वधर्म परिपालनमा अभिप्रेरित गर्दै राष्ट्रिय आस्था र अस्मितामा आँच आउन नदिने ।
घ) ॐकारमूलक उपासक पन्थ,सम्प्रदाय,संघ संस्था र व्यक्तिहरू सँग विश्वस्तरमै सत्य,प्रेम, शान्ति,सेवा अहिंसा आदी मानवीय मूल्य सहित सहकार्य गर्ने ।
ङ) भ्रष्टाचार मुक्त स्वस्थ, समृद्ध, स्वाभिमानयुक्त एवं सबै खाले विसंगति,लैङ्गिक एवं जातीय छुवाछुत र विभेदरहित अखण्ड दिव्य राष्ट्र निर्माण गर्ने ।
च) सम्पूर्ण सनातनी आस्थाका केन्द्रहरू प्रति आस्थाशील हुँदै राजर्षि जनकको आदर्श, गुरु गोरखनाथकोआशीर्वाद र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा गरिएको नेपालको एकीकरणलाई सम्मान गर्दै राष्ट्रिय सनातनी धर्ममूलक शक्तिहरूसँग सहकार्य गर्ने ।
छ) हाम्रो मान्यता र आदर्शमा रहेका धार्मिक, सामाजिक संघ संस्थाहरूले अभियानको उद्धेश्य अनुकूल कार्य गर्दा समर्थन गर्ने, यथाशक्ति सहयोग लिने दिने र आफ्नो देशमा धर्मशास्त्र अनुसार परिचालन हुने धार्मिक शक्तिकेन्द्र स्थापित गर्ने ।
ज) नेपाल सन्त समाजको संरक्षणमा (राष्ट्रिय सन्तसभा)सम्पूर्ण विशिष्ट धार्मिक संघसंस्था र अभियन्ताहरू संगठित गर्ने र “विश्व सनातन हिन्दु महासभा” गठन गर्ने ।
झ) यस अभियानको मूल मान्यतालाई स्वीकार गर्ने धर्मसापेक्ष पक्षधर शक्तिहरू सँग मर्यादापूर्ण सहकार्य गर्ने ।
ञ) धार्मिक क्षेत्रका हरेक समस्याहरू वर्षको एक पटक धर्म सभा गरेर समाधान दिन र धार्मिक क्षेत्रमा अभिभावकिय भूमिका निर्माण गर्ने ।

सरकार सँग धार्मिक क्षेत्रका मागहरू यस प्रकार रहने छन :–

१. मठ मन्दिरमा गैरधार्मिक नियुक्ति बन्द गर्दै नेपालमा भएका मठ– मन्दिर, गुठि ,गुम्बा लगायतका धार्मिक धरोहरहरू सम्बन्धित धार्मिक समुदायको व्यवस्थापन र नेतृत्वमा संचालन गर्नु पर्ने माग गर्दछौँ ।
२. नागरिकको लागि दिइने सेवामुलक शिक्षा,स्वास्थ्य र सुरक्षाको क्षेत्र गैरनाफामूलक क्षेत्र बनाउन माग गर्दछौँ । ॐकार परिवारको धार्मिक आस्थाको केन्द्रहरू आश्रम,मठ–मन्दीर लगायत सबै क्षेत्रमा सबै किसिमका करमुक्त क्षेत्र घोषणा गर्न माग गर्दछौँ ।
३. ॐकार परिवारका धार्मिक मठ,मन्दिर,आश्रम र गुठीहरू सरकारी निकायमा दर्ता गर्दा विदेशी लनय,ष्लनय र नाफा मुलक कम्पनि संघ संस्था दर्ता गर्ने स्थान मै भएकोले यो नीति परिवर्तन गरेर अलग अलग दर्ता गर्ने व्यवस्था गर्न माग गर्दछौँ ।
४. देश विदेश बाट संचालित नानापन्थका प्रतिनिधिले रैथाने स्थानिय संस्कार,संस्कृति र सनातन परम्पराहरूको संगठित विरोध गर्दै संस्कार,संस्कृति र परम्परा परिवर्तन गराउने र सामाजिक सद्भाव भड्काउने कार्य निरन्तर गरिरहेका र उक्त कार्य दण्डित गर्न योग्य भएकोले कडा कानुनी समाधान सहितको कारवाही लागु गर्न सचेत गराउँदछौँ ।
५. देशको कानुनमा नै गौमाताको रक्षा गर्ने र गौ हत्या गर्ने गराउने उपर कडा भन्दा कडा कारवाही गर्ने व्यवस्था भए पनि विभिन्न मतावलम्बीहरू निरन्तर रुपमा हिन्दुहरूलाई भड्काउने गलत मनसाय राखेर देशै भरी गौहत्या गर्ने र अराजनीतिक शक्तिको संरक्षणमा कानुनी कारवाहीबाट बच्ने भएकोले पुरै घटना छानविन गरेर कारबाही गरिनु पर्ने माग गर्दछौँ । साथै स्थानिय कृषी प्रणाली र गौवंश संरक्षणको लागि सामुदायिक बनमा गौचरण क्षेत्र अनिवार्य छुट्याउनु पर्ने व्यवस्था गर्नु पर्ने छ ।
६. वैदिक सनातन धर्म, सबैथरी स्वदेशी संस्कृति,संस्कार,कला, भाषा र भेषभूषाको संरक्षण गर्ने गरि समुदायको अवस्था अनुसार पाठ्यक्रम बनाएर शैक्षिक क्षेत्रमा अनिवार्य लागु गर्नेगरी विद्यालयहरूमा संस्कृत, नैतिक, भूगोल र इतिहास एवं सबै नेपालीको स्वदेशी धार्मिक सांस्कृतिक महŒव बुझाउने शिक्षा अनिवार्यरुपमा पठन पाठन गराउनुपर्ने माग गर्दछौँ ।
७. सरकारी कागजपत्र बनाउँदा स्वदेशी परम्परा र भेषभूषाको प्रयोग गर्ने । पासपोर्ट बनाउदा टिका र टोपी लगाउन नदिने र राष्ट्रिय परिचय पत्रमा टिका पुछ्न लगाउने कार्य बन्द गर्ने । नागरिकतामै अन्य आवश्यक राष्ट्रिय सुविधा प्रदान गर्ने । नागरिकतामा सबै थरी नेपालीको वंश पहिचानको परिचय खुल्ने हाडनाता खुलाउने गोत्र लेख्ने सुविधा दिने ।
८. सरकारी कामकाजको भाषमा स्वदेशी भाषा प्रयोग गर्ने । अङ्ग्रेजी मात्र राखेकोमा तत्तकाल सच्याउने जस्तो सवारी साधन अनुमति पत्र, बैंकले दिने पैसा राखेको अभिलेख सबै विदेशी भाषामा कार्य गर्ने गरेकोले राष्ट्रबैंक बाटै सुधार गर्ने गराउने लगायत अन्य कार्यमा पनि ध्यान दिने ।
९. नेपाललाई साँस्कृतिक, धार्मिक र प्राकृतिक एवं आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न माग गर्दै मन्दिरको वरिपरी १ किलोमिटरसम्म मांस, मदिरा एवं लागुपदार्थ जन्य वस्तु बिक्रीवितरण गर्ने कार्य प्रतिबन्ध गर्न गराउन माग गर्दछौँ । एकादशी र औँशी जस्ता मुख्य तिथिपर्वमा देश भित्र सबै किसिमका हिंसा बन्द गर्ने र मास–मदिरा पसल बन्द हुनु पर्ने माग गर्दछौँ ।
१०. नेपाल सरकारले तलब खाने कर्मचारी र सरकारी संरक्षणमा संचालित मठ–मन्दिरमा कार्यरत कर्मचारी वा धार्मिक गुठी प्रतिनीधिको सम्बन्धित परम्परा अनुसारको स्वदेशी भेषभूषा हुनुपर्ने माग गर्दछौँ ।
११. सम्बन्धित समुदायले सन्चालन गरेको मठमन्दिरको,आश्रम,गुठी र गुम्बाको आम्दानी विद्यालय,गौशालय,यज्ञालय,औषधालय,भोजनालय,पुस्तकालय जस्ता सनातन मुल्यमान्यता राख्ने विषयमा मात्र खर्च गर्ने ।
१२. मठ मन्दिरलाई व्यापारिक केन्द्र बनाउन जबरजस्ति परम्परा विपरित तिर्थ स्थलका नदी प्रवाह बदल्ने,बिजुली निकाल्न तिर्थ स्थल डुबानमा पार्ने, सडक बनाउने नाममा बाटोमा परेका मन्दिर भत्काउने, स्थानियवासीको कुरा नसुन्ने धार्मिक क्षेत्र सँग समन्वय नगरी राज्यले एकतर्फि निर्णय गर्ने गराउने कार्य बन्द गर्न माग गर्दछौँ ।
विशेष प्रस्ताब
१३. सनातन हिन्दु धर्म कुनै एउटा देवता, ग्रन्थ र गुरुमा मात्र सिमित नरहेको र समग्र ॐकार परिवार (पञ्चायन पुजक, शैव, शाक्त, वैष्णव, नाथ, सिख, जैन, किराँत, बौद्ध, वोन) लगायत सबैको प्रतिनिधित्व गर्ने भएकोले नेपाललाई सर्व स्वधर्म समभाव सहितको धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र कायम गर्न जोडदार माग गर्दछौँ ।

नोट : धार्मिक क्षेत्र संग सहकार्य गर्ने हो भने नेपालमा संचालित दलहरूले हाम्रो मागहरू अनिवार्य रुपमा आफ्नो घोषणा पत्रमा राख्नु पर्ने छ । आफ्नो नेतृत्व भएको समयमा हाम्रो मागहरू अनिवार्य लागु गर्नु पर्ने छ ।

(ॐविश्व कार एकता महाअभियानमा प्रस्तुत कार्ययोजना)