कृषि क्षेत्र जिल्लामा राम्रो छ । यसलाई थप सवल बनाउन कृषिलाई पर्यटनसित जोडेर साथसाथ लान सक्नु पर्छ । त्यसका लागि कृषि उत्पादनलाई थप व्यवसायिक बनाउन सम्भाव्यता अध्ययन गर्दै क्षेत्रहरु निर्धारण गरेर निर्वाहमुखी हैन, वैज्ञानिक र व्यवसायिक कृषि उत्पादन हाम्रो चाहना हो । यसका लागि पार्टी र हामी नेता तथा कार्यकर्ता दीगो योजनाका साथ अघिबढ्न सकृयाताका साथ लागिपरिरहेका छौं ।

सन्तोष सुब्बा नेपाली काङ्ग्रेसमा तेह्रथुम जिल्लाबाट महासमिति सदस्य हुनुहुन्छ । म्याङलुङ–१०, क्याम्पस लाइनमा बुबा सुरेशकुमार र आमा शिवमायाका जेठो सन्तान भएर जन्मनु भएका उहाँले २०५१ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिक जीवन सुरु गर्नु भएको हो । जिल्लाकै म्याङलुङ प्राथमिक विद्यालयबाट अध्ययन सुरु गर्नु भएका सन्तोषले विराटनगरको महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा लिनु भयो । तेह्रथुम तरुण दलको अध्यक्ष,  जिल्ला पार्टीको निर्वाचित कोषाध्यक्ष, निर्वाचित सचिवहुँदै राजनीतिमा सक्रिय रहुन भएका उहाँ २०७९ को निर्वाचनमा तेह्रथुम (क) बाट आन्तरिक विवादका कारण थोरै मतले पराजीत बन्नु भयो । सुब्बासित कल्पवृक्षका लागि रेञ्जी शेर्पाले गरेको कुराकानीको संपादित अंश ।

तेह्रथुममा नेपाली काङ्ग्रेसको सांगठानिक अवस्था कस्तो छ ?
जिल्लामा काङ्ग्रेसको सांगठानिक अवस्था सुसुप्त छ । तर, पनि जनमतमा भने काङ्ग्रेस नै अग्रणी स्थानमा रहेको छ ।

तेह्रथुममा अहिलेका ठूला पार्टीमध्ये कुन पार्टी अगाडि रहेको छ ?
२०६४ को संविधानसभा निर्वाचनमा पार्टी नेता तुलशी सुब्बा निर्वाचित हुुनुभएको थियो । ०७९ को संघीय संसदमा पार्टी नेतृ सिता गुरुङ निर्वाचित हुनुभएको छ । यसले काङ्ग्रेस नै जनमतका हिसावमा अगाडि रहेको पुष्टि हुन्छ । र पनि संगठन भने सुसुप्त नै रहेको छ ।

पार्टी संगठनलाई सक्रिय बनाउन के के छन् योजना ?
पहिलो, मूल कुरा जिल्लाका ४३ वटै वडासम्म कार्यकर्ता र सुभेच्छुकलाई प्रशिक्षण दिने । दोस्रो, पार्टीमा योगदान दिने नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउने । तेस्रो, पार्टीले जिल्लामा राख्नु पर्ने दृष्टिकोण २०४६ देखि हालसम्म जनमतअनुसार काङ्ग्रेस दोस्रो स्थानमा रहेको छ । तर, थोरै समय काङ्ग्रेसले नेतृत्व गर्न पाउँदा पनि पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले विकास र निर्माणका काम अत्याधिकरुपमा गरेको छ । यी विषयको जानकारी जनतासम्म लगेर सांगठानिक रुपमा पार्टीलाई अघि बढाउनु पर्छ । यो अभियानकै रुपमा लानु पर्छ । जसका लागि हामी तयारीअवस्थामा रहेका छौं ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भूमिका कस्तो छ ?
हाम्रो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुमा १ नगरपालिका र २ पालिकामा प्रमुख, ३ पालिकामा उपप्रमुख र २० वटा वडामा वडाअध्यक्ष रहनु भएको छ । उहाँहरुको काम विकास र निर्माणमा सन्तोषजनक नै रहेको छ । नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले हालसम्म भ्रष्टाचार र अनियमितता गरेका छैनन् ।

जिल्लाको समग्र विकासमा के के छन् योजना ?
हाम्रो जिल्ला सांस्कृतिक विविधता भएको पूर्वी नेपालको ऐतिहासिक भूगोल हो । यसलाई पर्यटनको खोज, अन्वेशण गर्ने आधारभूमी बनाउन सकिन्छ । जस्तै ‘१७ थुम’ को केन्द्रविन्दु तेह्रथुमको म्याङ्लुङ हो । यसको उचित प्रचारप्रसार गरेर संस्कृति संरक्षणदेखि पर्यटकीय स्थल बनाउने योजनामा हामी लागेका छौं ।
देशमा पाइने ३२ प्रजातिका गुराँशमध्ये तीनजुरे–मिल्के–जलजले क्षेत्रमा २८ प्रजाति पाइन्छन् । यो क्षेत्रको समग्र विकास गर्न सकिन्छ । एसियाकै दास्रो ह्यातलुङ झर्नाको संरक्षण र पर्यटक आगमन केन्द्र बनाउन सकिन्छ । अर्काे पर्यटन मार्ग (ट्रेकिङ रुट) आठराईदेखि फेदाप पालिकाको ह्यातलुङ झर्नासम्म, मेन्छ्यायाम डाँडादेखि सिमिनाक्षी मन्दिर म्याङलुङसम्म, रकगार्डेनदेखि चोत्लुङपार्कहुँदै छथरसम्म रुट बनाउने योजना सुरु भइसकेको छ । यी रुट सञ्चालनपछि ‘होमस्टे’, साना व्यवसायदेखि आन्तरिक पर्यटनको समग्र विकास हुने नै छ ।

जिल्लाको विकासका लागि अन्य विकल्प के के छन् ?
कृषि क्षेत्र जिल्लामा राम्रो छ । यसलाई थप सवल बनाउन कृषिलाई पर्यटनसित जोडेर साथसाथ लान सक्नु पर्छ । त्यसका लागि कृषि उत्पादनलाई थप व्यवसायिक बनाउन सम्भाव्यता अध्ययन गर्दै क्षेत्रहरु निर्धारण गरेर निर्वाहमुखी हैन, वैज्ञानिक र व्यवसायिक कृषि उत्पादन हाम्रो चाहना हो । यसका लागि पार्टी र हामी नेता तथा कार्यकर्ता दीगो योजनाका साथ अघिबढ्न सकृयाताका साथ लागिपरिरहेका छौं ।

अरु योजना ?
भविष्यमा इतिहासका विद्यार्थी र शोधार्थीहरुलाई हाम्रोजस्तो विविधतायुक्त समाजलाई सांस्कृतिक अध्ययन गर्न सक्ने स्थलको रुपमा विकास गर्ने हाम्रो योजना रहेको छ । र, यो योजना हामी पूरा गरेरै छोड्छौं ।