Advertisement GIF
कल्पवृक्ष
पुस १२ शुक्रबार, ९:१५ पूर्वाह्न
उच्च पहाडमा टिम्मुर खेति : प्रतिकिलो १ हजार रुपैयाँ

सुजन सुवेदी/पाँचथर

पाँचथर जिल्लाको फिदिम–३ का धनबहादुर गुरुङले गत वर्षको सिजनमा सिलटिम्मुर बिक्री गरेर करिव ४० हजार रुपैयाँ आय गरे । उनले व्यवसायिक रुपमा टिम्मुर रोप्दै आएका छन् भने आफ्नो जग्गामा रैथाने रुपमा उम्रिएको सिलटिम्मुरले उनलाई वर्षेनी नगद हात परिरहेको छ ।

धनबहादुर जस्तै स्थानीय गंगाबहादुर राई र गंगादेवि राईले ३५ किलो उत्पादन गरे । सिता मुखियाले १० किलो फलाइन् । यसमा उनीहरुको ठूलो मिहेनत छैन । आफ्नो जग्गामा रैथाने रुपमा उम्रने र फल्ने गरेको यो टिम्मुर पाँचथरको उच्च पहाडी क्षेत्रका बासिन्दाको नगद आर्जनको राम्रो माध्यम बनेको सिलौटी साना किसान कृषि सहकारी संस्था फिदिम– ३ का प्रवन्धक महेन्द्र लुइटेलले बताए । उनका अनुसार फिदिम– ३, ८, १३, १४ वडाका सुम्निमा, सिलौटी, साधुटार, तमाखे, फेजुङसमेतका गाउँमा व्यवसायिक रुपमा टिम्मुर उत्पादन भइहरेको छ ।

यो सहकारीले पाँचथरमा मात्र करिव ४ सय किलो टिम्मुर संकलन गरेको छ । संकलन र बजारिकरण गर्दै आएको सहकारीले ५ प्रतिशत रकम लिएर टिम्मुर बिक्रीमा सहयोग गरिरहेको सहकारीका अध्यक्ष गंगाबहादुर राईले बताए । टिम्मुर खरिद गर्न काठमाडौंदेखि व्यापारी आउने गरेका छन् । यहाँ प्रतिकिलो १ हजार रुपैयाँमा खरिद गरेर लाने ब्यापारीहरुले काठमाडौं पु¥याएपछि प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री गर्छन् ।

सिलटिम्मुर उच्च क्षेत्रमा उत्पादन हुन्छ भने तल्लो क्षेत्रमा बोकेटिम्मुर उत्पादन गरिन्छ । टिम्मुरबाट राम्रो आय हुने भएपछि तल्लो क्षेत्रका किसान पनि बोकेटिम्मुर रोप्न थालेका छन् ।
जिल्ला वन कार्यालयका अनुसार वन कार्यालयले उत्पादन गरेको बोके टिम्मुर फिदिम नगरपालिकाको तल्लो क्षेत्रका किसानले लगेर रोपिरहेका छन् । करिव ५ हजार बोकेटिम्मुरका बिरुवा वन कार्यालयको नर्शरीबाट वितरण गरिसकेको छ । बोकेटिम्मुर भने यही किलोको २ हजारदेखि ३ हजार रुपैयाँमा बिक्री हुन्छ ।