Advertisement GIF
सुरेन्द्र सुवेदी / काठमाडौं
पुस २० शनिबार, ११:२२ अपराह्न
चर्चित गायक पाण्डे पुनःगायनमै सक्रिय

‘म तिम्रो सहर छोडी टाढाटाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।’ यो बोलको सदाबहार गीतका गायक पुनः गायनमै सक्रिय भएका छन् । लामो समय रेडियो नेपालको कर्मचारीका रुपमा कार्यरत रहँदा गायनलाई पर्याप्त समय दिन नसकेको बताउने सदाबहार गायक प्रदिपराज पाण्डे रेडियोको जागिर छोडेपछि फुर्सदिला बनेका छन् र नियमित गीत गाइरहेका छन् ।

बीबी थापाको शब्द र नातिकाजीको संगीतमा २०४८ मा पाण्डेले गाएको ‘म तिम्रो सहर…..’ गीत अहिले पनि त्यत्तिकै रुचाइन्छ । नेपालमात्र नभएर बिदेशमा पनि चर्चित बनेको यो गीत गाएपछि बिदेशमा कार्यक्रम गर्न धेरै निम्ता आएको पाण्डे सम्झन्छन् ।

२०३९ सालमा रेडियो नेपालबाट श्वर परीक्षा उतीर्ण गरेपछि पाण्डेको गायन यात्रा सुरु भएको हो । उनका बुबा स्वर्गीय बाशुदेव शास्त्रीय गीत गाउँथे । आमा मन पाण्डे पनि गीतगाउने । घरमा बुबा र आमा नै गीत गाउने भएपछि प्रदिप पनि अनायासै गायक बनेको स्मरण सुनाउँछन् ।

नेपाली भजन, राष्ट्रिय र आधुनिक गीत करिव ३ दर्जन गाइसकेका उनका दर्जनबढी गीत सधैं चर्चित नै छन् । सीके रसाइलीको संगीतमा गीतकार उर्वशीको ‘हाम्रो बोलचाल छैन, के भनेर बोल्ने’ बोलको गीतबाट गायन यात्रा सुरु गरेका उनले ‘तमासा भएँछु मायाको बजारमा, प्रिय संझी अंगालेथे कसैलाई हजारौंमा’ दोश्रो गीतगाए ।

२०२५ सालमा राजधानीको मैतीदेवीमा जन्मिएका प्रदिपराजले स्थानीय विजय मेमोरियल स्कुलबाट एसएलसी र सरस्वति क्याम्पस, लैनचौरबाट आइकम र बिकम उतीर्ण गरे । २०४७ मा रेडियो नेपालमा जागिरेको रुपमा प्रवेश गरेका उनले त्यहाँ समाचार वाचकदेखि कार्यक्रम सञ्चालक र उद्घोषणको जिम्मेवारी पूरा गरे । फुर्सदको समयमा छानिएका केही सीमित गीत गाउने उनले बीबी थापाको शब्द र नातिकाजीको संगीतमा ‘थाहै थिएन दिन आगो विना नै जल्दो रहेछ, थाहै थिएन मायाले पनि पोल्दो रहेछ’ जस्ता मर्मस्पर्सी गीत गाइरहे ।

पत्रकार देवप्रकाश त्रिपाठीले रचना गरेको ‘आजपनि तिम्रै नाममा आधी चल्यो, टाँसिएथ्यौं मुटुभित्र झिक्न खोज्दा मुटु चुड्यो’ बोलको गीतदेखि हालका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले रचना गरेको ‘अल्झिरह्यो याद बल्झिरह्यो घाउ, जलिरह्यो यो मन निभाउन म कहाँजाऊँ’ गीत उनले गाइसकेका छन् ।

अहिले सातामा एक गीत रेकर्ड गरिरहेका पाण्डे अब भने नियमित संगीत र गायनमै रहने बताउँछन् ।