Advertisement GIF
कल्पवृक्ष
पुस १३ शनिबार, ८:४१ पूर्वाह्न
जडिबुटी अभियन्ता ‘दाह्री बा’

मेदनी खनाल/पाँचथर
पाँचथर जिल्लाको फिदिम– ३ का गंगा राई (६७) पछिल्लो समय जडिबुटीमा जीवन खोज्न थालेका छन् । फिदिम बजारदेखि १५ किलोमिटिर दक्षिणपूर्व सुम्निमा क्षेत्रलाई उनले जडिबुटीको ‘हब’ क्षेत्र बनाउने रुपमा बिकास गर्न थालेका छन् ।

चार वर्षदेखि सिलटिमुर, चिराइतो, पाखनबेत, बुढोऔषधि, चिम्फिङ, सतुवा, पाँचऔले, खानाक्पा र भूतकेशजस्ता जडिबुटीको व्यवसायिक खेतीतर्फ उनी र उनको समाजलाई आकर्षित गर्दैआएका छन् । पछिल्लो समय सिलटिमुर र चिराइतो उनको गाउँमै प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुन थालेको छ । गाउँलेहरु जडिबुटीमा पैसा आउने देखेपछि अन्य वालीको बिकल्पमा जडिबुटीको खेति खोज्न थालेका छन् ।

नेपाल प्रहरीमा जागिर खान २०३३ मा प्रवेश गरेका उनी जागिरकै क्रममा राजधानीमा ३ दशक बिताए । चार वर्षअघि गाउा फर्केर सिलौटी साना किसान कृषि सहकारी स्थापना गर्दै उनी कृषि र त्यसमा पनि जडिबुटीतर्फ मोडिएका हुन् ।

आफ्नो जग्गा सहकारीलाई निःशुल्क दिएर भवन निर्माणमा जुटेका उनी त्यो सहकारीको अध्यक्ष पनि हुन् । व्यवसायिक खेतीका लागि १० वटा टनेलमा तरकारीदेखि जडिबुटी खेती पनि गर्दै आएका राई ७ वटा गाई पालेर दैनिक ४० लिटरसम्म दूध बिक्री गर्दैछन् ।

दिन उज्यालोमा रुपान्तरण भएपछि उनको दैनिकी निरन्तर कृषिमै सक्रिय हुन्छ । उठेपछि गाई, बाख्राको हेरचाह अनि तरकारी र जडिबुटीको गोडमेलमै दिन बित्ने गरेको उनले सगर्व सुनाए । गाउँमा उनलाई ‘दाह्री बा’ भनेर सम्बोधन गर्छन् । उनी गाउँलेलाई मिहेनत गरेसम्म कुनै चिजको अभाव नहुने भन्दै सक्रिय रहेर कृषि कर्ममा लाग्न प्रेरणा दिइरहने सहकारीका प्रवन्धक महेन्द्र लुइटेलको भनाइ छ ।

प्रवन्धक लुइटेलका अनुसार राईको हिम्मतका कारण सहकारीमा १ करोड १० लाख रुपैयाँ बचत र ऋण लगानी भएको छ । स्थानीयहरु नियमित बचत गर्ने र आवश्यक पर्दा सस्तो दरमा ऋण लिएर गर्जो टार्ने गरेको राईले बताए । उनले भने, ‘हामी अब जडिबुटीमा केन्द्रीत भएर जीवनस्तर उकास्ने र सहजरुपमा व्यवहार सञ्चालन गर्न लागिपरेका छौं ।’