Advertisement GIF
कल्पवृक्ष
पुस १३ शनिबार, ९:०७ पूर्वाह्न
प्रदेश सदस्य काङ्ग्रेस नेतृ यमुनाको उद्यम प्रेम

कल्पवृक्ष/काठमाडौं
यमुनादेवि श्रेष्ठ हाल प्रदेश संसद रहनु भएको छ । बागमति प्रदेशमा नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक संसद रहनु भएकी उहाँको राजनीतिसितै अर्काे फरक पहिचान छ, त्यो हो उहाँको उद्यमप्रतिको लगाव ।

उहाँले २०५६ मा ओम फुड प्रोडक्ट नामबाट राजधानीकै सतुङ्गल, चन्द्रागिरीमा उद्यम स्थापना गर्नु भयो । १५ जनालाई रोजगारी दिनु भएकी यमुनाले जाम, मुस्ताङ र मनाङको स्याउबाट स्टेबेरी, आरु, आरुबखडा, आल्चाजस्ता ८ वटा फलबाट जाम र केण्डी बनाउँदै आउनु भएको छ । ५ सय ग्राम तौलका जाम १ सय ८० देखि २ सय ८० रुपैयाँमा प्रतिप्याक बिक्री गर्दै आएको उहाँले कल्पवृक्षलाई बताउनु भयो ।

लप्सी, अमला, कागती, आँपका क्याण्डी २ सयदेखि २ सय ६० रुपैयाँमा बिक्री हुने गरेका छन् । वर्षमा ६० देखि ७० लाख रुपैयाँसम्म उहाँको उद्योगले आर्थिक कारोबार गर्दै आएको छ । ‘खर्च कटाएर वर्षमा १३ लाख रुपैयाँसम्म आमदानी हुने गरेको छ ।’ यमुनाले भन्नु भयो ।

उहाँको उद्योगले उत्पादन गरेका जाम र क्याण्डी होटल सोल्टी, भाटभटेनी सुपर मार्केट, सेल्सबेरीसम्मलाई बिक्री गर्दै आउनु भएको छ । उहाँ सामानको अर्डर आएपछि त्यही मात्रामा बनाउने गरेको बताउनु हुन्छ ।

पोखरामा जन्म र बागलुङमा विवाह गर्नु भएकी यमुनाका १ छोरा र १ छोरी छन् । ‘बुबा र काङ्ग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला साथी हुनुहुन्थ्यो, त्यहीँबाट काङ्ग्रेसको राजनीतिमा परिवारआवद्ध भएपछि उहाँपनि काङ्ग्रेस बन्नु भयो । गत स्थानीय निर्वाचनमा चन्द्रागिरीको मेयरमा आकाङ्क्षा राख्नु भएकी उहाँले टिकट पाउनु भएन । त्यसपछि भने उहाँलाई पार्टीले प्रदेश संसदमा पठाएको हो ।

राजनीति र सामाजिक काममा व्यस्त रहने उहाँ आफ्नो उद्योगमार्फत स्थानीयलाई रोजगार दिँदै आफ्नो लागि घर खर्च चलाउने चाँजोमाजो मिलेपछि खुलेर जनताका काम गर्न समस्या नभएको बताउनु हुन्छ ।