पृथ्वीमान पालुङवा नेपाली काङ्ग्रेस ताप्लेजुङ जिल्लाको तरुण दलको कार्यवहाक सभापति हुनुहुन्छ । काङ्ग्रेसको भातृ संगठन तरुण दलमा रहेर राजनीति र सामाजिक काम गर्दै आउनु भएका उहाँलाई नेपाल सरकारले पाथिभरा क्षेत्र विकास समितिको सदस्यमा नियुक्ति ग¥यो । उहाँ फुङलिङ नगरपालिका वडा ७, दोखुमा अम्बरबहादुर र लक्ष्मीमायाका चार सन्तानमध्ये तेस्रो सन्तान भएर जन्मनु भयो । राजधानीकै विजय मेमोरियल स्कुलमा अध्ययन गर्नु भएका उहाँ तरुण दल ताप्लेजुङको उपाध्यक्ष, दलकै महाधिवेशन प्रतिनिधि, पार्टी वडाको सभापति, प्रदेश प्रतिनिधिहुँदै अहिले तरुण दलको जिल्ला नेतृत्वमा रहनु भएको छ । उहाँसित कल्पवृक्षका लागि पूर्वको प्रशिद्ध मन्दिर पाथिभरा र राजनीतिमा केन्द्रीत रहेर गरिएको कुराकानीको संपादित अंश ।
तपाईँ पाथिभरा मन्दिर विकास समितिमा रहनु भएको छ, यो मन्दिरको समग्र विकासमा के के गर्दै हुनुहुन्छ ?
पाथिभरा क्षेत्रको समग्र विकासमा मलाई नेपाल सरकारबाट मन्दिर व्यवस्थापन समितिमा नियुक्ति गरेपछि मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई वर्षाको समयमा पानी, असिना, तुषारो, हिउँबाट सुरक्षित गर्दैछौं । हिउँ र पानीबाट जोगिन फाइबर ट्रष्टको व्यवस्था गरिएको छ । र, यस्तो काम निरन्तर भइरहेको छ । मन्दिर जाँदा उकालो बाटो हिड्न असहज हुनाले असहज महसुस गर्नेहरुका लागि भरियाको व्यवस्था गरेका छौं । करिव ८० लाख ४० हजार रुपैयाँमा शौचालय निर्माण भइरहेको छ । शौचालय, सडक, बाटाहरु निरन्तर बनिरहेका छन् । स्वास्थ्य चौकीको पनि व्यवस्था भइसकेको छ ।
अब अरु योजना के के छन् ?
हामीले गत मंसिरको अन्तिम साता पाथिभरा क्षेत्र विकास समितिका पदाधिकारीहरु, प्रतिनिधि सभा सदस्य लिलादेवि बोखिम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, नगरप्रमु्ख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय प्रमुखसमेतको वैठक बसेर पाथिभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्नका लागि माग गरेका छौं । र, पुरातात्विक विभागबाट योजना आएर काम भइरहेको छ । र, थप कामहरु पनि हुँदैजाने छन् ।
पाथिभरामा धार्मिक पर्यटक बढाउन अरु के के योजना छन् ?
हालको तथ्याङ्कअनुसार वर्षमा करिव ८ लाख धार्मिक पर्यटक पाथिभरा आउने गरेका छन् । र, अझै धेरै मन्दिर दशनार्थी ल्याउने हाम्रो योजना छ । सञ्चारमाध्यममा प्रचार प्रसार गर्न केही बजेटको व्यवस्था गरेका छौं । भारतको बिहार, सिक्किम, दार्जिलिङ, मुम्बई र देशकै केही धार्मिक र पर्यटकीय जिल्लाहरुका सञ्चारकर्मीहरुलाई बोलाएर पाथिभरा क्षेत्रको थप प्रचार तथा प्रसार गर्न आग्रह पनि गरिरहेका छौं ।
मन्दिरमा चढाएको भेटी रकम कुन कुन शीर्षकमा खर्च भइरहेको छ ?
भेटीको रकम अहिलेसम्म पाथिभरा क्षेत्रमै खर्च भइरहेको छ । जस्तै, बसपार्कको गाडीपार्कमा बनाउन, सोलिङ बाटो, पुरानो बाटो मर्मत र कर्मचारीहरुलाई तलव खुवाउने काम गरिएको छ ।
पछिल्लो समय मन्दिरमा चढाएका घण्टी बिक्रीको विवाद के हो ?
यो विवाद भनेको मन्दिरमा चढाएका टुटेफुटेका, खिया लागेका र काम नलाग्ने घण्टीलाई मापदण्ड पु¥याएर बिक्री गर्ने निर्णय भएको हो । र, पछि हामी ब्याक पनि भयौं । किनकि विभिन्न सरोकारवाला वुद्धिजिवीहरुले घण्टी बिक्री गर्नु राम्रो नहुने सुझाव दिएपछि यो विषयलाई त्यत्तिकै छोडेका छौं ।
अब यसको समाधान के त ?
पाथीभरा जाने बाटोमा घण्टी गेट बनाउने निर्णय गरेका छौं र अब प्रवेशद्वारमा घण्टी गेट बन्छ ।
पाथीभरामा केबुलकार निर्माणको विवाद के हो ?
यो विवाद म नियुक्ति भएर आउनुभन्दा अघिनै पुष्प बडुवाल मन्दिर क्षेत्र विकास समिति अध्यक्ष भएर आएपछि त्यो समितिले केबुलकार बनाउने निर्णय गरिसकेको थियो । म समितिमा आउँ निक्कै विवाद र आन्दोलन भइरहेको अवस्था थियो । कुरा के हो भने, केबलकारको जग्गा खरिद गर्दा केही रकम घोटला भएको भन्ने कुरा आएको छ । केबुलकार व्यक्तिलाई बनाउन दिनु हुन्न, सरकार र स्थानीयको लगानीमा बन्नु पर्छ भन्ने संघर्ष समितिको माग छ । स्टेसनको डिपिआर तयार गर्दा मन्दिरको गेटसँगै गरिएको रहेछ । त्यहाँ स्टेसन निर्माण गर्नु हुन्न, जसले फोहोरमैला गर्छ, भन्ने संघर्ष समितिको कुरा आएको छ ।
यसको समाधान कसरी गर्दै हुनुहुन्छ ?
आन्दोलनकारी र पहिचानवादीहरुलाई वार्ता तथा छलफल गरेर उहाँहरुले उठाएका माग के के हुन् ? ती विषयमा छलफल गर्दै अगाडि बढ्न् समिति तयार रहेको छ । र, यो विषय छिट्टै समाधान हुन्छ ।
केबुलकार आवश्यक हो कि होइन ?
यसको विषयमा आवश्यक हो कि होइन भन्ने विषय गम्भीर नै हो । ताप्लेजुङको पाथीभरा मन्दिर भनेको देशकै शक्तिपिठमध्ये एक हो । यहाँ सच्चा आत्माले मागेको कुरा पुग्छ र पुगिरहेको पनि छ । यस्ता शक्तिपिठमा पूजा गर्न जाँदा सकभर दुः ख गरेर हिड्दै जानु पर्छ भन्ने पनि छ । जस्तै भारतका चर्चित मन्दिरहरुमा कतै पनि केबुलकार पु¥याइएको छैन । धार्मिक आस्था राख्नेहरु पैदल यात्राबाटै मन्दिर पुगिरहेका छन् । भारतले चाहेको खण्डमा केबुलकार बनाउन नसक्ने कुरा नै आउन्न । र पनि अझै केबुलकार बनाइएको छैन । तसर्थ, पाथीभराको विषयमा सकेसम्म पैदल हिँडेर नै मन्दिर पुग्नु उचित हुन्छजस्तो लाग्छ ।
वृद्ध, अशक्त, रोगी, बालबालिकाहरुका लागि केबुलकार बन्नु राम्रो हो । तर, विवादरहीत बनाउन सक्दा राम्रो हो । नेपाल सरकारले केबुलकार बनाउनु पर्छ भनेर निर्णय गरिसकेको छ ।
पाथीभरा क्षेत्रमा खानेपानीको अवस्था कस्तो छ ?
संघीय सरकारले ५ करोड र पाथीभरा क्षेत्र विकास समितिको ३ करोडसमेत ८ करोड रुपैयाँ लागतमा लिफ्टििङ खानेपानी योजना निर्माण भएको छ । तर, चट्याङका कारण सफल हुन सकेको छैन । समितिले लिफ्टिङ खानेपानी छिटो नै प्रयोगमा ल्याउने प्रयासमा रहेका छौं । जाडोको समयमा फलामको पाइपमा हिउँ जमेर पानी नै धाराबाट नआउने समस्या भइरहेको छ । समस्या समाधान गर्न समितिले नजिक रहेका पानी मुहानबाट मोटारको सहयोगले पानी तान्दै तीर्थयात्रीलाई पिउने पानीको व्यवस्था भने गरेका छौं । तत्कालका लागि आकाशबाट परेको पानी फाइबर ट्रष्टबाट मगराहुँदै ट्याङ्कीमा जम्मा गरेर पानीको जोहो गरेका छौं । यही पानी तीर्थयात्रीहरुले प्रयोग गर्दै आउनु भएको छ ।