सुदूरपूर्व पाँचथर सदरमुकाम फिदिम– ४, जोरसालमा दशकौंदेखि लाग्दै आएको औशी र पूर्णिमा हाट– बजार लाग्न छोडेपछि यहाँको व्यापारिक माहोल नै परिवर्तन भयो । तेह्रथुमको आठराई क्षेत्र (तत्कालीन १२ गाउँ पञ्चायत) देखि, यासोक, रानीगाउँ, नवमीडाँडा, लुम्फाबुङ, लालिखर्क, नाङ्गिनदेखि फिदिमका सबै वडाका बासिन्दा किनबेच गर्न हाटमा भेला हुन्थे । आफ्ना कृषि उपजदेखि चौपायासम्म किनबेच गर्न त्यहीँबाट सबैतिर सूचना फैलिने गरेको थियो ।
मुख्यत : उपभोग्य सामान, किराना, कस्मेटिक, लत्ता कपडाका पसल हाटमा फिँजाएर साना व्यापारी र किसानहरु बस्ने गर्दथे । जहाँ आफूले बिक्री गरेको सामानबाट आएको पैसाले नून, तेल र मरमसला, साबुन, कपडाहरु खरिद गरेर किसानहरु घर फर्कँन्थे ।
तर, अहिले त्यस्तोअवस्था छैन । झण्डैं ३५ वर्षअघि बन्द भएको यहाँको पाक्षिक हाटलाई ब्युताउन स्थानीय युवा जुर्मुराए पनि । हाट लगाउन २ वर्षअघि सुरु पनि गरियो । फिदिम नगरपालिका वडा ४ को सहयोगमा रमझमका साथ हाट सुरु गर्न कार्यक्रम नै गरियो । स्थानीय देउराली युवा समूहको अगुवाईमा हाट लगाउन थालियो । तर, त्यो ३ महिना पनि चल्न सकेन । कारण थियो, २ किलोमिटरमाथि सदरमुकाम फिदिम बजार र त्यहाँ साप्ताहिक रुपमा शनिबार हाट लाग्छ । सदरमुकाम जानै पर्ने र घर आउँदा आवश्यक सामान त्यहीँबाट खरिद गर्दै लिएर आउने संस्कार बसिसकेकोले जोरसाल बजारमा सामान किनबेच गर्न जानेको संख्या कम भयो । र, स्थानीयको चाहनाविपरीत हाट लाग्न नै छोड्यो ।
विगतमा स्थानीयहरुको बेमेलकै कारण पाक्षिक हाट बन्द भएको जोरसालका अग्रजहरुको भनाइ छ । ‘व्यापारमा नेवार समुदायको बाहुल्य थियो । अन्तिममा यही समुदायबीच मनमुटाव भयो र हाट बन्द भयो ।’ जोरसालकै एक नेवार समुदायका अग्रजले भने । सदरमुकाम फिदिम बजारबाट २ किलोमिटरमात्र पश्चिममा रहेको जोरसाल बजार ऐतिहासिक हो । यो तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङको सबै क्षेत्र र पाँचथरको दक्षिण पश्चिम क्षेत्रको मुख्य व्यापारिक केन्द्र थियो । सडक सञ्जालले २०३८ ताका पाँचथरलाइ जोडेपछि बिस्तारै जोरसालको चाममा ह्रास हुँदै आयो ।
जोरसालमा अहिले सशस्त्र प्रहरीको एक गुल्म छ । त्यो गुल्मबाहेक अरु कुनै कार्यालय नहुनु र व्यपारिक नाका भएर पनि सडक सञ्जालले सबै गाउँ जोडेपछि गाडीमा यात्रा गर्नेहरु जोरसालमा बस्न पाउन्नन् । फिदिमबाट घर फर्कनेहरु टेम्पो, बस, ट्याक्सी चढेपछि सोझै घर पुग्छन् । जसकै कारण जोरसाल अहिले सुनसान छ । आसपासका बासिन्दाले आवश्यक सामान खरिद गर्नेभन्दा अरु व्यापारिक कारोबार प्राय : ठप्प छ ।
यसैले भन्न सकिन्छ, जोरसाल ‘जोरसाल’ रहेन ।