छवि सम्बाहाम्फे कानुन व्यवसायी, पहिचानवादी मुद्धादेखि पछिल्लो समय देश कृषिमा आत्मनिर्भर बन्नुपर्छ भन्ने ध्येयका साथ गाउँ फर्किएर कृषि कर्ममा तल्लिन हुनुहुन्छ । २०१९ कात्तिक ४ गते पाँचथरको तत्कालीन रानीगाउँ गाउँ पञ्चायतको वडा १ मा बुबा मानबहादुर र आमा धमावतीका छ सन्तानमध्ये जेठो छोरा भएर जन्मनु भएका उहाँ केही समय पर्यटन प्रवद्र्धनको क्षेत्रमा, गैरसरकारी संघ संस्थामा र लिम्बूवानको पहिचानवादी आन्दोलनमा १२ वर्षसम्म सक्रिय रहनु भयो । उहाँसित लिम्बूवानको पहिचानवादी आन्दोलन र कृषि क्षेत्रमा थाल्नु भएको आत्मनिर्भर कृयाकलापका विषयमा kalpabriksha.com का लागि रेञ्जी शेर्पाले गरेको कुराकानीको संपादित अंश ।
लिम्बूवान आन्दोलनको नेता हुनुहुन्थ्यो, किन अहिले छोड्नु भयो ?
म २०६४ देखि ०७७ सालसम्म लिम्बूवानको अभियानमा जुटे । म केन्द्रीय सदस्यदेखि उपाध्यक्षसम्म रहेर काम गरें । मैले अहिले पनि लिम्बूवानको मुद्धा छोडेको छैन । आन्तरिक समस्याले र मुद्धाको उचित दिशावोध हुन नसक्दा काम गर्न रुची भएन र अहिले सक्रियता छोडेको छु ।
पछिल्लो समय लिम्बूवान आन्दोलनको के छ अवस्था ?
लिम्बूवान आन्दोलनको अवस्थामा मुद्धा पहिचान हुन सकेको छैन र त्यसमा संलग्न व्यक्तिहरुको मुद्धामा आवश्यक चरित्र निर्माण पनि भएन । यो आन्दोलन सिथिल छ । नयाँ ‘घुम्तीमोड’ हरु फेरि पनि निर्माण हुन्छ ।
लिम्बूवानसमेतका आन्दोलनमा पश्चिमा देशको लगानी छ भनिन्छ नि ?
लिम्बूवान र यस्तै आन्दोलनमा विदेशी राष्ट्रको लगानी त भएन । तर, स्वतन्त्र रुपमा घुसपैठ भयो । हाल त्यस्तो अवस्था छैन । सुरुमा विदेशी शक्तिले विवाद चर्काएर सत्तालाई कमजोर बनाउँदै आफ्नो चाहना पूरा गर्दै आएका थिए । तर, अहिले त्यस्तो अवस्था छैन ।
कानुन व्यवसायी, गैरसरकारी संघ संस्थाको अभियन्ताहुँदै लिम्बूवान आन्दोलनमा पनि सक्रिय रहनु भयो, अबको योजना के छ ?
अब म देशमा कृषि क्रान्ति गरिनु पर्छ र आत्मनिर्भर बन्नु पर्छ भन्ने उदेश्यमा छु । देशलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गरिनुपर्छ । विद्यालयका प्रथमिक तहदेखि निम्नमाद्यमिक तहसम्म उतीर्ण हुने विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउनु पर्छ । छिमेकी देश चीनमा कक्षा ५ उतीर्ण गर्ने विद्याथीहरुलाई अभिभावकहरुले निजी जीवनका कुनै पनि काममा सहयोग गर्नु पर्दैन । किनकि, उनीहरु खाना पकाउने, कपडा लगाउने, सरसफाइ गर्नेदेखि आवश्यक सबै काम गर्न सक्ने भइसकेका हुन्छन् । यस्तो आत्मनिर्भर शिक्षा हामीले पनि दिन सक्नु पर्छ ।
अनि कृषिमा के गर्दै हुनुहुन्छ त ?
म मेरो जन्मथलो गाउँमै कृषिमा आधुनिकिकरण गर्ने अभियानमा छु । कृषि र काष्ठकलामा केही योगदान दिने उदेश्य छ । धान, मकै, कोदो, दालको आधुनिक प्रविधिबाट उत्पादन वृद्धि गर्ने, अदुवा, बेसार, लसुन, गोलभेडा, खोर्सानीको उत्पादनलाई सदुपयोग गर्दै आधुनिकिकरण गर्दै अघिबढाउने उदेश्य छ । र, यस्ता कामलाई विभिन्न शिक्षण संस्थाहरुमा अभिमुखिकरण गर्दै जाने योजना बनाएको छु ।
यसका लागि पूर्वाधारहरु केके छन् त ?
मैले मान– धमावती कृषि प्रतिष्ठान दर्ता गरेको छु । मेरो आफ्नो १ सय रोपनी जमिन छ । परिवारको र २०३२ को नापीमा उल्लोख भएको ७ नम्बर फारमअनुसार २ सय रोपनी जमिन छ । यसमा खेती गर्ने हो । नपुग भएमा दाजुभाइहरुको जग्गा भाडामा लिएर पनि गर्न सकिन्छ । म गाउँमै केही गर्नु पर्छ भनेर गाउँ पसेको हुँ । राजधानी काठमाडौं र गाउँमा आवश्यकताअनुसार रहेर कृषि क्षेत्रका लागि केही योगदान दिन प्रतिवद्ध छु ।