चीनको स्वायत्त क्षेत्र तिब्बतको सिचाङमा गत मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको शक्तिशाली भूकम्प प्रभावितहरुलाई चीनमा रहेका नेपाली समुदायले आर्थिक सहयोग गरेका छन् ।
सिचाङको ल्हासामा रहेको नेपाली समुदायबाट संकलित ३७ लाख १७ हजार ५३० रुपैयाँ ल्हासा रेडक्रसलाई हस्तान्तरण गरिएको तिब्बतमा रहनु भएका नेपाली महावाण्ज्यि दूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनु भयो । ल्हासामा रहेका नेपालीहरुको संस्था ‘नेपाली दुःख निवारण कल्याण्कोष’ ले तिब्बतमा रहेको नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा उक्त रकम संकल गर्दै वितरण गरेको महावाण्ज्यिदूत निरौलाको भनाइ छ ।
संकलित रकम ल्हासास्थित रेडक्रस कार्यालयमा कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले रेडक्रसका प्रमुख लियो यिदोङलाई हस्तान्तरण गरेका हुन् । डिंग्री गाउँमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको नेपालमा भने ५ दशमलव ३ रेक्टर स्केल मापन गरिएको थियो । भूकम्पमा परेर कम्तीमा १ सय २६ जनाको मृत्यु भएको र २ सय बढी घाइते भएका थिए ।